बडादशैँ शक्ति आराधनाको महापर्व !

बद्रीप्रसाद दाहाल
Read Time = 17 mins

‘बडादशैँ‘ सम्पूर्ण देवीभक्तहरूको (महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा देवीको) उपासनाको पावन महापर्व हो । शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नवदुर्गाको आराधनाबाट जगदम्बिका शक्तिरूपा विजया भगवती माताको प्रादुर्भाव हुन्छ । अनि तामसी भावका राक्षसी शक्ति जसले सबै लोकमा अराजकता, अशान्ति, अव्यवस्था, हिंसाहत्या र अन्याय र अधर्म बढाएर सात्विक भावनामाथि धावा बोल्दछन् । तिनै आसुरी भौतिकवादी शक्तिलाई दैवीशक्तिले परास्त गरी सम्पूर्ण लोकमा सुशासन, शान्ति, सुव्यवस्था, न्याय, धर्म तथा सत्यको स्थापना गर्न महाशक्तिस्वरूपा देवीको पदार्पण हुन्छ । वेदव्यासजस्ता महामनीषिले भगवतीलाई स्तवन गर्दै उनमा अन्तर्निहित शक्तिको वर्णन कति मधुर र गहन शब्दमा गरेका छन् ः
जय भगवति देवि नमो वरदे, जय पापविनाशिनि बहुफलदे ।
जय शुम्भनिशुम्भकपालधरे, प्रणमामि तु देवि नरार्ति हरे ।।
जय चन्द्रदिवाकरनेत्रधरे, जय पावक भूषितवक्त्रवरे ।
जय भैरवदेहनिलीनपरे, जय अन्धकदैत्यविशोषकरे ।।
अर्थात्—(हे वरदायिनी देवि ! भगवती ! तपाईंको जय होस् । पापहरूलाई विनष्ट गर्ने जसले शुम्भनिशुम्भका मुण्डको धारणा गर्नुभयो मान्छे, देवता र सबैका पीडा हटाउन महासंग्राममा अद्भूत शौर्यता प्रदर्शन गर्नुभो त्यस्ती महामाताको जय होस् । सूर्यचन्द्रमारूपी नेत्र धारण गर्नुभएकी, आगोसमान देदीप्यमान मुखले शोभित भएकी भैरवशरीरमा लीन हुने र अन्धकासुरजस्ता राक्षसहरूको शोषण गर्न सामथ्र्यवान् हजुरको जय जय होस् ।) हुन पनि हो जसले महिषासुरजस्तो क्रोधको पर्वतलाई मर्दन गरिन्, जो त्रिदेवबाट वन्दित बन्न पुगिन् त्यस्ती शक्तिरूपा देवीमा वन्दना छ ।

भनाइ पनि छ : ऐश्वर्य वचनः शश्च, क्तिः पराक्रमेव च । तत्स्वरूपा तयोर्दात्री सा शििक्तः परिकीर्तिताः ।। मतलव ‘श’ भनेको ऐश्वर्य हो भने ‘क्तिः’ ले पराक्रमको बोध गराउँछ । यी दुई (ऐश्वर्य र पराक्रम) सबल बल नै शक्ति हो । त्यसै भएर जगदम्बा भगवतीलाई तलको श्लोकले कति मीठोसित अथ्र्याएको छ :
ज्ञानः समृद्धिः सम्पत्तिर्यशश्चैव बलं भगः।
तेन शक्तिर्भगवती भगरूपा च ता सदा ।।
आश्विनशुक्ल प्रतिपदादेखि सुरु भई कोजाग्रत पूर्णिमासम्म मनाइने नेपालीहरूको मात्र नभएर सम्पूर्ण हिन्दु, बौद्ध र अन्य सम्प्रदायको प्रमुख राष्ट्रिय चाड नै हो ‘बडादशैँ’ । वास्तवमा यो पर्व मानव जगत्लाई तमोगुण र रजोगुणबाट विरत बनाएर सत्व गुणमा उन्नयन गराउने महापर्व हो । शरद्को कमनीय कान्ति जब धराधाममा हराभरा हुँदै आइपुग्छ तब त बडादशैँ र तिहारजस्ता महापर्वहरू नयाँ उल्लास, उमंग, परोपकार, हार्दिकता, जोस र जाँगर बोकेर नेपाली घरआगन रंगीविरंगी फूलमा झुल्दै शारदीय मांगलिक सुगन्धको माहोल छर्न थाल्छन् । त्यसैले त कविवर पण्डितराज सोमनाथ सिग्देलले आफ्नो आदर्श राघवमा शरद्को वर्णन यसरी गरेका छन् :
‘शरद ऋतु जब आयो वृष्टिले छुट्टी पायो । गगन झलमलायो मेघमाला बिलायो ।। रविकिरण बढायो पद्ममा श्री चढायो ।
कविशिरोमणिले पनि शक्तिकी बिम्ब शरद्लाई सम्बोधन गर्दै बोले : ‘शरद् मालिकिनीजस्ती गर्न लागिन् ढलीमली’ ।। यही सुकुमार र सुन्दर भावनाका पद्यावलीले शारदीय प्रकृतिको महिमा स्पष्ट हुन्छ । जसलाई जगदम्बिका भगवतीले नै कृपा प्रदान गर्नुभएको हो ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई कोजाग्रत पूर्णिमासम्म मनाइने नेपालीहरूको मात्र नभएर सम्पूर्ण हिन्दू, बौद्ध र अन्य सम्प्रदायको प्रमुख राष्ट्रिय चाड नै हो ‘बडादशैँ’ । वास्तवमा यो पर्व मानव जगत्लाई तमोगुण र रजोगुणबाट विरत बनाएर सत्व गुणमा उन्नयन गराउने महापर्व हो ।

शरद्कालीन समय मूलतः सनातनीहरूको शक्तिआराधना गर्ने पुण्य याम हो । हुनत हामी सनातनीहरू प्रत्येक दिन पाञ्चायनको पूजा गरेरमात्र खान्छौँ । जसमा गणेश, शिव, सूर्य, विष्णु र शक्तिकी प्रतीक अर्थात् महाकाली, महालक्ष्मी र महासरस्वतीकी साझा व्यक्तित्व देवीको पनि अर्चना एवं वन्दना गरिन्छ । यसबाट यो कुरा पत्ता लाग्छ कि हामी जीवनमा पाँच किसिमका बाटोबाट जिन्दगीको यात्रा सुरु गर्छौं । ती पाँचवाटा वा पाँचवादमा गणेशको निर्विघ्नवाद, विष्णुको लालनपालनवाद, शिवको कल्याणवाद, सूर्यको तेज वा ऊर्जावाद र देवीको शक्तिवाद । सम्भवतः हामी पञ्चमहाभूतधारीहरूको चोलाको उपकार यहीमाथि उल्लेख गरिएका पाँच पन्थले गर्ने निश्चित छ । त्यसमा पनि ममतामयी भवानी जगदम्वाको असीम शक्ति प्रधान रहेकैले हामी नतमस्तक भएर यसरी प्रार्थना गर्दछन् :
‘देव्या यया ततमिदं जगदात्मशक्त्या ।
निश्शेष देवगणशक्ति समूहमूत्र्या ।।
तामम्विकामखिल देवमहर्षि पूज्याम् ।
भक्त्या नता स्म विदधातु शुभानि सा नः ।।’
अर्थात्–सम्पूर्ण देवताहरूको शक्तिको समुदाय नै जसको स्वरूप छ, अनि जुन देवीले आफ्नो शक्तिबाट जगत्लाई व्याप्त गरेर राखेकी छिन्, त्यस्ती समस्त देवता र महर्षिद्वारा पूजनीया जगदम्वालाई म भक्तिपूर्वक नमस्कार गर्दछु । जसले हामी सबैको कल्याण गर्दछिन् । यसरी भवानी माताको स्तवन आद्य गुरु शंकराचार्यले कति मीठो भक्तिरसमा आलङ्कारिकता प्रदान गर्दै महाशक्तिको चमत्कारलाई उजिल्याइदिनु भएको छ ।
न तातो न माता न बन्धुर्न दाता ।
न पुत्रो न पुत्री न भृत्यो न भर्ता ।
न जाया न विद्या न वृत्तिमैमैव ।
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानी ।।
अर्थात् ः हे भवानी, दुर्गे ! बाआमा, दाजुभाइ, बन्धुबान्धव, दाता, पुत्रपुत्री, नोकरचाकर, पतिपत्नी, विद्या र वृत्ति यिनीहरूमा कुनै पनि मेरो होइन केवल हजुर नै मेरो गति हो । यसरी देवीभक्तहरू सर्वश्व नै सम्झेर उनैको चरण कमलमा लम्पसार पर्दछन् । शक्तिको उपासना गर्ने पद्धति प्राचीन समयदेखि नै चल्दैआएको छ तर ती शक्तिका उपासकहरूले आ–आफ्ना भावनाअनुसार वैद्धिक, तान्त्रिक र मिश्रित विधिद्वारा पूजा अर्चना अगाडि बढाउँदै आएका छन् । उपासना क्रममा वलिकोे विधान गरिएको छ । आफू जेजस्तो आहार गर्छौं त्यहीअनुरूपको वलि दिने चलन छ ।

बलि भनेको त्याग हो । कामक्रोध आदि विकारहरूको बिम्ब बनाएर बोका, राँगा, हाँस, कुखुरा, परेवा र अण्डासमेत वलि दिइन्छ भने कैयौँ सात्विक गुणकाले नरिवल, कुभिण्डो घिरौँला, केरा, स्याउ आदि फलपूmल वलिदान गर्दछन् भवानी माताका लागि । मध्ययुगीन समयमा त नरवलीसमेत दिएर शक्तिउपासनालाई भयकारी मार्ग बनाउने चेष्टा भयो भन्ने पढ्न पाइन्छ अझै त्यसको बाछिटा कतैकतै देखिन्छ आज पनि ।

मानव मन मस्तिष्कमा विद्यमान् शुम्भ, निशुम्भ, रक्तवीज, महिषासुर र हिंसाका तुच्छ प्रतिबिम्बको संहार वा वलि दिनु पर्ने षड्शत्रुहरूको (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) विनाशलाई हामीले गलत अर्थ लगाएर अनाथ पशुपक्षीको बध गरिरहेका त छैनौँ भन्ने तर्कहरू पनि सघन रूपमै उठिरहेका छन् पशुअधिकारकर्मी ‘सुरमसनिदेखि भुसुनासम्म, प्रभु नै सबका घटमा टम्म’ भन्ने आसय मूर्त बनाउन लागि पनि परिरहेका छन् ।

बुद्धको अवतरणभन्दा अगाडि शक्तिउपासनाको नाममा बढेको क्रूर हिंसाले पूजाप्रथा नै रोक्नुपर्ने स्थिति सिर्जना भएको कुरा विभिन्न अभिलेखहरूले दिएका छन् । आजकल पनि मोदकप्रिय अर्थात् लड्डू प्यारो मान्ने गणेशको थानमा समेत भाले काटेर मासुभक्तहरूले शक्तिउपासनालाई खिल्ली उडाइरहेका छन् भन्ने प्रतिक्रिया बाक्लो ध्वनिमा गुञ्जयमान छ । जगदम्बा देवीको बहाना बनाएर आफ्नो जिब्राको स्वाद फेर्न विभिन्न अबोध पशुपक्षीसंहार गरी प्राकृतिक न्यायमा चुनौती थपिरहेको त छैन भन्ने यक्ष प्रश्नले हरेक बुझकीको विवेक चिमोटिरहेको हुनुपर्छ ।

पूजा अर्चना सात्विकविधिले गर्नुपर्छ भन्ने कुरा लिदानको गूढ आसय हो । ‘वलिप्रधाने पूजायां’ भन्नुको अर्थ मानसिक दूरावेगहरूकै संहार हो । संसारको सर्बपूज्य ग्रन्थ महाभारतले ‘अजको बली’ भनेको अन्नबाली भनेर व्याख्या गरेको छ । यसरी सात्विकी पूजाबाट नै शक्तिको पूजा हुन सक्छ । ‘श’ भनेको ऐश्वर्य हो र ‘,क्ति’ भनेको पराक्रम । अर्थात् ऐश्वर्य र पराक्रम नै शक्ति हो भन्ने आसय बोकेको छ ‘शक्ति’ शब्दले । चोखा र सफा पहिरन पहिरिई सात्विक भोजनमा रमाएर उपवास गर्नु नै ‘देव्यार्चना’ वा देवीभक्ति भन्न सकिन्छ । जुन कर्मले हरेक मानवलाई पण्डित वा बुद्धिमान् बनाउँछ । वास्तवमा बुद्धिजीवी भनेको त्यस्तो व्यक्ति हो :
‘जो फुल्दैन प्रशंसामा, निन्दामा पिर लिन्न जो ।
ग्ंगाको दह झैँ गैरो, जो छ त्यै बुद्धिजीवी हो ।।’
हामी कतिपय बुद्धिजीवीको उपाधि पाएकाहरू पनि बलिदानलाई केवल भकुर्ने र हसुर्ने भौतिक आनन्दतिरै लागेर सभ्यतामाथि हमला बोलिरहेका छौँ । सुरथ राजा र वणिक् वैश्यको कथालाई पढेर नवदुर्गाहरूको अवतारका अर्थलाई बुझौँ ! यसैबाट हाम्रो कल्याण हुनसक्छ । अन्यथा आद्य शंकराचार्यले भने झैँ :
‘पुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम् ।
इह संसारे खलु दुस्तारे कृपया पारे पाहि मुरारे ।।’
बालस्तावत् क्रीडाशक्तः, तरूणस्तावत् रूणीरक्तः ।
वृद्धस्तावत् चिन्तामग्नः, पारे ब्रहृमणि कोऽपि नलग्नः ।।
अर्थात् जन्म र मृत्युको भयकारी गोलचक्करमा घुमिरहनुपर्छ । बालक होउन्जेल खेलतमासामा रमाउने, तन्नेरी हुन्जेल तरुनीभक्त बन्ने र बुढो भएपछि लौ मरिने भयो बाब्बा ! भन्दै पितर्किने हामी परब्रहृम परमात्मा थाहै नभई आँखा चिम्लिने दुर्नियति व्यहोरेकैले विभिन्न प्राणी बनेर जन्मजन्मान्तर आइरहनुपर्छ । त्यसैले भवानीको भक्तिअर्चना गरेर मानव हुनुको जीवनबोध गरौँ वास्तवमा चण्डीमा बताएअनुसार शुम्भ, निशुम्भ, महिषासुर, रक्तवीजप्रवृत्ति दैत्यवृत्ति हाम्रा मानसिक दुरावेगहरूकै उपज हुन् ।

शक्तिको उपासना गर्ने पद्धति प्राचीन समयदेखि नै चल्दै आएको छ तर ती शक्तिका उपासकहरूले आआफ्ना भावना अनुसार वैद्धिक, तान्त्रिक र मिश्रित विधिद्वारा पूजा अर्चना अगाडि बढाउँदै आएका छन् । उपासना क्रममा बलिकोे विधान गरिएको छ ।

यही आसुरीपनमा विजय प्राप्त गर्नु नै दशैँको सार्थकता हो । एकपल्ट प्रसिद्ध लेखक जर्ज बर्नाडशालाई उनका मित्रले सोधेका थिए, ‘होइन तपाईंले मासु किन नखानु भएको ?’ उनले तुरुन्त उत्तर दिए ‘यसको मतलब तपाईं मलाई मांसाहारी बनाउन चाहनु हुन्छ ? हत्या गरिएका जनावरहरू थुपार्ने चिहान हो र मेरो पेट ?’ वैज्ञानिक दृष्टिकोणबाट पनि मांसाहार भयकारी रोगहरू रहने घर हुने देखिएकाले अब पशुपक्षीको वलिप्रथालाई क्रमिक तरिकाले न्यूनीकरण गर्दै सत्वगुण अर्थात् मानव धर्मप्रति सचेत बनौँ बडादशैँलाई अझ भव्य, सभ्य, हव्यकव्य बनाऔँ । तडकभडक, ढाचा, ढर्रा, खर्चिलो बनाएर महापर्वहरूलाई गर्वको चुचुरोबाट दोभानतिर नझारौँ, ‘संस्कृति’-विकृति, बेथिति र विसंगतिमा उल्था नहोस् । यसैबाट सबैको कल्याण हुन्छ । अन्त्यमा यो काव्य लहर पढेर बोलौँ :
‘दशैँ दशा नहोस् हाम्रो, ढाचा ढर्रा र स्वाँङमा ।
दशैँ शरद कान्ति हो, श्रद्धा होस् शक्ति देविमा ।। समाप्तम्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?