गठबन्धनको चुनावी दौडाहा

हिमालय टाइम्स
Read Time = 7 mins

चुनाव दिनप्रतिदिन नजिकिँदै छ । यसको दिनगन्ति धेरै पहिलेदेखि नै भएको हो । अब त निर्वाच आउन एक महिनाभन्दा कम समयमात्र बाँकी छ । अबको २८ दिनमा नेपालमा वर्तमान संविधान लागू भएपछिको दोस्रो आमनिर्वाचन सम्पन्न हुनेछ । यस निर्वाचनलाई फरक दृष्टिकोणबाट हेरिएको छ । गत २०७४ सालको आमनिर्वाचनमा वामगठबन्धन भएको थियो र बाँकी नेपाली कांग्रेसलगायतका केही साना दलहरू प्रतिरक्षात्मक अवस्थामा निर्वाचनमा भाग लिन बाध्य भएका थिए । परिणाम त्यस्तै आएको थियो । शक्तिशाली वाम पार्टीहरू एक भएकाले पहिलो पार्टी भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आएको थियो भने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी पार्टी बनेको थियो । यो अपेक्षित परिणाम नै थियो ।

अहिले भने अवस्था फरक छ । सिद्धान्त, विचार र आस्था फरक-फरक भएर पनि केही पार्टीहरूको चुनावी गठबन्धन भएको छ । हुन त यो गठबन्धन चुनावीमात्र होइन चुनावभन्दा पहिलेदेखि नै गठबन्धन भएर यी पार्टीहरूले सरकार बनाएका थिए । यी पार्टीहरूबीच अत्यन्त मन मिलेका कारण यो निर्वाचनकेन्द्रित गठबन्धन भएको भने होइन । यो सबैको बाध्यता हो जस्तो देखिएको छ । नेपाली कांग्रेसले एक्लै निर्वाचनमा जाने कार्यक्रम बनाएको खण्डमा अरू वाम पार्टीहरूको एमालेसँग गठबन्धन हुने खतरा हुन्थ्यो जसको परिणाम २०७४ सालको निर्वाचनकै जस्तो आउने सम्भावना थियो ।

माओवादी केन्द्र र समाजवादी पनि एमालेबाट विभाजित भएर आएका कारण त्यहाँ जाँदा पनि उच्च सम्मान र धेरै सिट नपाइने भएकाले नेपाली कांग्रेससँगै तामेल गरी निर्वाचनमा जानु उचित हुने निष्कर्षका पुगेका थिए । यसरी सत्तारूढ पार्टीहरूको निर्वाचन केन्द्रित गठबन्धन भएको भए तापनि जनतालाई यो मन परिरहेको छैन । हिजो एकबाट अर्को पार्टीलाई आघात पुग्ने र माओवादी सशस्त्र विद्रोहका बेला सबैभन्दा बढी नेपाली कांग्रेस पार्टीकै नेता कार्यकर्ता उनीहरूबाट मारिएकाले अहिले गरिएको गठबन्धनबाट कांग्रेसकै कार्यकर्ता र मतदाताहरू सबैभन्दा बढी रुष्ट भएका छन् । आफ्नै दाजुभाइ र बाबुआमाको हत्यामा संलग्नहरूलाई मत दिनुपर्ने परिस्थिति खडा भएकाले बरू मत दिनै नजाने मनस्थितिमा धेरै मतदाता रहेको पाइएको छ ।

यस अवस्थामा यो गठबन्धनको पुष्टि गर्न पार्टीहरूलाई हम्मेहम्मे परिरहेको छ । हिजो फरक-फरक भएर नारा, जुलुस, ¥याली र चुनावी अभियानमा हिँडेकाहरू आज सँगसँगै मतदातासामु जाँदा एक प्रकारको अनौठो, असहज अवस्था मतदाताले महसुस गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका उम्मेदवार सँगैसँगै घरदैलो कार्यक्रममा हिँडिरहेका छन् । यीमध्ये कुनै एक पार्टीको नेताले सभापतित्व गर्ने, अर्को पार्टीकोले स्वागत भाषण गर्ने र अर्को पार्टीकोले धन्यवाद ज्ञापन गर्ने गरेको सानातिन सभासमारोह भइरहेका छन् । ठूला खालका ¥याली जुलुस, आमसभा गर्न निर्वाचन आयोगले तोकेको समय आइसकेको छैन । त्यसबेला यस्ता अनौठा लाग्ने समारोह होलान्, हामीले ती पनि देख्ने नै छौँ ।

सत्ता गठबन्धनको देश दौडाहा सुरु भइसकेको छ । गठबन्धन उत्पादक होला वा प्रत्युत्पादक होला त्यो अहिलै भन्न सकिने विषय होइन, यसका लागि परिणाम पर्खिनै पर्छ । माथि भनिएका जस्ता केही असजिला पक्षका कारण गठबन्धनको औचित्य पुष्टि गर्न नेतृत्वलाई सकस भइरहेको छ । दौडाहामा गाउँगाउँ पुगेका नेतृत्व तहका नेताहरूका बेलगाम बोलीबाट तिनीहरू नै अप्ठ्यारामा परिरहेका छन् । निर्वाचन आयोगको स्पष्टीकरणलाई समेत बेवास्ता गरेर निर्वाचन आभियानमै तल्लीन भएका छन् तर त्यस्ता अभिव्यक्तिमा लगाम लगाउनु औचित्यपूर्ण ठहरिन आउँछ । सबै पार्टीका शीर्ष नेताहरू जोडतोडका साथ गठबन्धनको औचित्य पुष्टि गर्न लागिरहनु भएको छ, तर सानासाना चिया गफहरूमा समेत मत दिन नजाने भन्नेहरूको उपस्थिति देख्न सकिन्छ ।

‘नो भोट’ को व्यवस्था हाम्रो संविधानले गरेको छैन । यदि संविधानले यस्तो व्यवस्था गरेको थियो भने यसपटकको निर्वाचनमा ‘नो भोट’ को संख्या धेरै हुने थियो भन्ने कुरामा सन्देह छैन । नेतृत्वमा रहेको पाँचजना नेताहरूलाई निर्वाचित नगर्ने भन्ने अभियानमा पनि केही मानिस लागेका छन् तर यो सम्भावना कमै छ । आपूm जसरी भए पनि निर्वाचित भएर भोलि पनि शीर्षस्थानमा पुग्ने उहाँहरूको सोच रहेकै देखिएको छ । त्यसकै लागि यो गठबन्धन भएको हो तर यसले सकारात्मक परिणाम ल्याएर भोलि राष्ट्रलाई सही बाटोमा हिँडाउन भने सक्नैपर्छ नत्र नेपाली जनताको लोकतान्त्रिक अभिलाषा बीचबाटोमै अल्मलिन पुग्छ । यसतर्फ भने सबैले हेक्का राख्नैपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?