दलहरू फेरि असम्भव सपना बाँड्दै

हिमालय टाइम्स
Read Time = 9 mins

अब त निर्वाचनको चटारोले छोपिसकेको छ । निर्वाचन गराउने र निर्वाचनमा भाग लिने पक्षलाई यसको तयारीका लागि भ्याई नभ्याई भएको छ । अबको १८ दिनमा नेपालमा नयाँ संविधान लागू भएपछिको दोस्रो निर्वाचन हुँदैछ । यसका लागि एकातिर निर्वाचन आयोग पनि आफ्नो तयारीमा लागिरहेकै छ तर आफ्ना निर्णयका कारण बेलाबेलामा विवादमा पनि तानिने गरेको छ । अर्कातिर आयोगभन्दा पनि अझै व्यस्त छन् राजनीतिक दलहरू । आयोगलाई निर्वाचन गराउने दायित्व पूरा गर्ने हतारो छ तर दलहरूलाई भने निर्वाचन जित्नु छ । यसका लागि समय पनि छोटो छ । उनीहरू रातदिन नभनी आफ्ना आफ्ना प्रचारमा व्यस्त रहेका छन् ।

जायजमात्र होइन कतिपय अवस्थामा अतिरञ्जित विषयलाई आधार मानेर भए पनि निर्वाचनमा सबैलाई आफ्नो पक्षमा लहर ल्याउनुपर्ने भएको छ । यसका लागि जनता आकर्षित गर्ने आकर्षक नारा र घोषणापत्र उनीहरू सार्वजनिक गरिरहेका छन् । अब त लगभग सबै दलहरूले आआफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तिनमा लेखिएका कुरा हेर्दा एकातिर ती असम्भव आश्वासनका पुलिन्दामात्र हुन् भन्ने देखिन्छ भने अर्कातिर तिनमा भएका कुरा एकआपसमा विरोधाभास पनि छन् । नेपाली जनताले दलहरूलाई कतिसम्म विश्वास गर्ने र कहिलेसम्म विश्वास गरिरहने ? २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली भएपछि २०४८ सालमा पहिलोपटक आमनिर्वाचन भएको थियो ।

त्यही बेलादेखि दलहरूले प्रेमिकालाई आकाशका तारा पनि झारिदिन्छु भनेर एउटा प्रेमीले भनेको जस्तो शैलीमा नेपाली जनतालाई आश्वासन दिने कामको थालनी गरेका थिए । विशेषगरी कम्युनिष्ट पार्टीहरूले अनेक खालका यस्ता आकर्षक नारा लगाएर जनता आकर्षित गर्न खोजेका थिए । घर नहुनेलाई घर र जग्गा नहुनेलाई जग्गा दिन्छौँ भनेका थिए । त्यसपछि यो तीस बत्तीस वर्षको इतिहासमा बागमतीमा धेरै पानी बगिसक्यो तैपनि न त नेपालका राजनीतिक दलहरू नै बदलिएका छन् न त जनताले नै तिनलाई विश्वास गर्न छोडेका छन् । समय त्यसरी नै बितिरहेको छ जसरी सुरु भएको थियो । अनि दल र जनता पनि त्यसरी नै चलिरहेका छन् जसरी सुरुमा स्थापित भएका थिए । केही परिवर्तन छैन जस्ताको तस्तै छ ।

यस अर्थमा जनतालाई आश्वासनका पोका बाँड्न र असम्भव सपना वितरण गर्न दलहरूले आआफ्ना घोषणापत्र जारी गरिसकेका छन् । तिनमा लेखिएका कुराहरू हेर्दा तिनले जनतालाई पहाड नै खसाएर सम्पूर्ण कुराले भरिपूर्ण बनाइदिने जसरी सपना बाँडेका छन् । हामी जनताले तिनलाई पत्याउन्जेल उनीहरूले पनि यसरी नै नेपाली जनतालाई सपना बाँडिरहेने कुरा पक्का छ । अर्कातिर तिनले सिर्जना गरेका आश्वासनहरू पनि विरोधाभासले भरिएका छन् । यो निर्वाचनमा विभिन्न दलहरूबीच गठबन्धन भएको छ । यस्तो गठबन्धन किन गरियो भनेर एक थरी विद्वानहरूले प्रश्न पनि गरिरहेका छन् । व्यवस्था र संविधानलाई मजबुत बनाउन भन्ने गरेका छन् उनीहरूले । जनतालाई केही दिनका लागि गरिएको गठबन्धन होइन यो । यो त आफ्नो विजयको सुनिश्चितताका लागि गरिएको गठबन्धन मात्रै हो ।

सत्तारूढ पार्टीहरूबाट यस्तो गठबन्धन भएपछि एमाले र अन्य केही साना दलहरूले पनि यस्तो गठबन्धन गरेका छन् तर अनौठो के भएको छ भने सिद्धान्त र विचारका आधारमाम नभएर स्वार्थका कारण यस्तो गठबन्धन भएको छ । हिजोको द्वन्द्व कालमा मार्ने र मारिनेको परिवार आज एउटै मञ्चमा सँगै उभिएर मत मागिरहेका छन् । यो पीडा भोग्नेका लागि त असैहृय बनेको छँदैछ हेर्नेहरूका लागि पनि अनौठो जस्तो लाग्छ । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको धारण बोकेको छ तर त्यही विचारलाई सही नमान्ने अर्को पार्टी पनि ऊसँगै उभिएर भोट माग्नु परेको छ ।

यतिमात्र होइन प्रकारान्तरले नेकपा एमाले राजावादी प्रमाणित हुनआएको छ । उसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी गठबन्धन गरेको छ । राप्रपा राष्ट्रपति हटाएर राजतन्त्रको पुनःस्थापनाको माग लिएर हिँडिरहेको छ र एमालेको ऊसँग तालमेल छ । यसको अर्थ एमाले पनि उसका विचारसँग सहमत छ र त्यो विचार भनेको राजतन्त्र स्थापना गर्नुपर्छ भन्ने हो । राप्रपा प्रदेश संरचना खारेज गर्नुपर्छ भन्छ एमाले चाहिन्छ भन्छ तर उनीहरू चुनावको एउटै मोर्चामा छन् । यसले गर्दा नेपालको राजनीति खसी बाख्री एकै धोक्री भनेजस्तो भएको छ । जनताले दलको सिद्धान्त र नीतिलाई हेरेर आपूmलाई मन पर्ने सिद्धान्त लिएको दललाई मत दिन्छु भन्यो भने त्यस्तो पाउँनै सकिँदैन ।

यही आश्चर्य र अन्योलका बीच नेपाली जनता रहेका छन् र यो अन्योलको बादल अब हट्नेवाला छैन । निर्वाचनसम्म पनि यो अन्योल रहिरहनेछ । किनकि दलहरूबीच अहिले जे जसरी गठबन्धन भएर निर्वाचनको अभियान अगाडि बढिरहेको छ त्यो अहिले नै हटिहाल्ने अवस्था छैन । निश्चय छ नेपाली जनताले म यो आस्थाको नेतालाई वा दललाई मत दिन्छु भन्न यसपटक पाउने छैनन् । एकैपटक दुई थरीको विचारको खिचडी सिद्धान्तलाई मत हाल्नुपर्ने बाध्यता देखिन आएको छ । यी सबै विद्यमानताबाट के देखिन आएको छ भने दलहरूले जनतालाई फेरि पनि असम्भव सपनाका पुलिन्दा बाँडेका छन् । सिद्धान्त र नीतिलाई होइन यसको मिश्रित विचारको खिचडीका बीच आफ्नो मत जनताले जाहेर गर्नुपरेको छ ।

त्यसैले यस निर्वाचनबाट नीति होइन नेता चुनिने अवस्था सिर्जना भएको छ । यसैका लागि भए पनि जनताले आफ्नो विवेको प्रयोग गर्नुपरेको छ । यो पद्धति वा प्रणाली र वर्तमान संविधानको संरक्षणका लागि भए पनि नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो मत भने प्रदान गर्नैपर्छ । प्रणाली रहेका खण्डमा मात्र संविधानमा रहेको त्रुटिहरू सच्याउन पाइन्छ र संविधानलाई पनि समयसापेक्ष परिमार्जन गर्दै लान सकिन्छ । पहिले त ती कुरालाई संरक्षण र संबद्र्धन गर्नु आवश्यक छ । यसकै लागि भने पनि मतदान गर्नु आममतदाताको दायित्व हुन आउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?