एक महिना लामो नेपाल भ्रमणमा नेपथ्य

Read Time = 6 mins

काठमाडौं । सांगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि ‘मानवता प्रवद्र्धन अभियान’ मूल नाराका साथ एक महिना लामो देशब्यापी यात्रा गर्ने भएको छ । मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारिखदेखि ३१ तारिखसम्म) नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले जनाएको छ ।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्तगर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरू नेपथ्यकै सक्रियता एवं सहभागितामा अघिबढेका थिए ।

नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोंच लिएको छ । यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानवसेवा आश्रम’सँग हातेमालो गरेको छ ।

‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुति विराटनगरमा हुने जनाइएको छ । मंसिर १६ गते (डिसेम्बर २ तारिख) शुक्रबारका दिन त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगञ्ज प्रस्थान गर्नेछ । मंसिर १९ गते (डिसेम्बर ५ तारिख) वीरगञ्जको ‘आदर्शनगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ । त्यसैगरी मंसिर २२ गतेका दिन (डिसेम्बर ८ तारीख) हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरू सुनाइने बताइएको छ ।

हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो । त्यहाँबाट विस्तारभएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ । हेटौंडापछि २५ मंसिरका दिन (डिसेम्बर ११ तारिख) नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ । मंसिर महिनाको अन्तिम शो भने नेपालगञ्जमा २९ गतेका दिन (डिसेम्बर १५ तारिख) आयोजना गरिनेछ । त्यसपछि पुसको ३ गते (डिसेम्बर १८ तारिख) ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ ।

त्यसपछि ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन (डिसेम्बर २१ तारिख) कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरू सुनाउनेछ । त्यहाँबाट फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते (डिसेम्बर २४ तारिख) प्रस्तुत गर्नेछ ।

त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ । पुसको १२ गते (डिसेम्बर २७ तारिख) मंगलबारका दिन ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको छ ।

यसरी मुलुकका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ । काठमाडौंमा भने पुस १६ गते (डिसेम्बर ३१ तारिख) शनिबारका दिन भृकुटी मण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ । नेपथ्यले यसभन्दा अघिल्लोपटक पनि काठमाडौंका श्रोता दर्शकसामु आफूलाई भृकुटी मण्डपमै उभ्याएको थियो ।

ब्याण्डले यी प्रदर्शनहरूमार्फत् बेसहारा बन्नपुगेका नेपालीहरूको आवाज बनिदिनेमात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा समेत हातेमालो गर्नेछ । ‘हामीले गीत संगीतात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएका छौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्नुहुन्छ, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नुनपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्नलागेका छौं ।’ यो अभियानसँगै अब नेपथ्यका गीतहरू ‘मानवताको लागि संगीत’ बन्नपुगेको अमृतको धारणा छ । नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?