निर्वाचनले जगाउन नसकेको आशा !

Read Time = 7 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । मौसम चिसिँदै छ । पानी परेर भित्र्याउने बेलाको बालीमा क्षति पुर्‍याउँछ कि भन्ने आशंकाले किसानहरू बिहान उठेदेखि रात नछिप्पिएसम्म खेतबारीमै व्यस्त छन् । खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन व्यस्त किसानहरूलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवारहरूका कुरा सुन्ने फुर्सद छैन । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरू गाउँ-गाउँमा चुनावी प्रचार-प्रसारमा हिँडेका छन् । दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले समूह बनाएर म्याग्दीका गाउँबस्ती र खेतबारीमा पुगे पनि मतदाताहरू भने आफ्नै काममा व्यस्त हुने गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा दलका नेता तथा कार्यकर्ताहरूमा निकै उत्साह थपिए तापनि आम मतदातामा त्यस्तो उत्साह देखिएको छैन् । एकातिर कामको चाप छ, अर्कोतिर विगतका निर्वाचनहरूमा भोट दिएर पठाएका जनप्रतिनिधिहरूको व्यवहारले जनताको मन कुँडिएको छ ।
चुनावको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार, नेता तथा उनीहरूका कार्यकर्ता पुग्ने गरेको गुनासो मतदाताको छ । जिल्लाका अधिकांश मतदाताले उम्मेदवारहरू चुनावको समयमा जनताको घरदैलोमा पुग्ने, जनतालाई आश्वासन दिने तर विजय भएपछि जनतालाई दिएका ती आश्वासनहरूलाई बिर्सने गरेको बताएका छन् ।

म्याग्दीको बेनी नगरपालिका-२ का नारायण सापकोटाले विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ताहरू चुनावी प्रचार–प्रसारमा हिँड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पूरा गर्न नसकेको बताउनुभयो । ‘भोट माग्न आउँछन्, चुनाव जितेर गएपछि वास्तै गर्दैनन् ।’ उहाँले भन्नुभयो, ‘चुनावको समयमा मात्र जनता आवश्यक पर्ने अरू समयमा जनतालाई नखोज्ने, जनताको समस्या समाधानमा कोही पनि लाग्नुभएन ।’ सबै नेताहरू दलगत र व्यक्तिगत स्वार्थमा मात्र लाग्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

मालिका गाउँपालिका-२ रुम बेलीका जगबहादुर विकले पनि चुनाव जितेर गएपछि नेताहरूको अनुहारै देख्न नपाइने बताउँदै गाउँमा विकास पनि नभएको र दुःखी गरिबहरूको अवस्थामा सुधार नआएको गुनासो गर्नुभयो । ‘नेताहरूप्रति विश्वास नै लाग्न छोड्यो, आफ्नो स्वार्थको लागि मात्रै लड्छन्, जनताको वास्तै गर्दैनन् ।’ उहाँले भन्नुभयो, ‘चुनाव जितेर गएपछि जनता बिर्सने रोग हाम्रा नेताहरूलाई लागेको छ ।’
त्यस्तै मंगला गाउँपालिका रणबाङका हरिकृष्ण पौडेलले चुनावको बेलाबाहेक अरू समयमा नेताहरूले आफ्ना कार्यकर्ताबाहेक जनताको वास्ता नगर्ने गरेको सुनाउनुभयो । ‘आफ्ना कार्यकर्ताबाहेक अरू जनताको नेताहरूलाई अघिपछि वास्ता नै हुँदैन, चुनाव आयो भने बल्ल जनता चाहिन्छ ।’ उहाँले भन्नुभयो, ‘चुनाव जितेर गएपछि पटक्कै गाउँ फर्केर नआउने चाड-पर्वमा विवाह भएका छोरीबेटी माइत आएजस्तै नेताहरू पनि कहिलेकाहीँ जिल्लामा आए पनि आफ्ना आसेपासेलाई मात्रै भेटेर फर्कने गर्दा सर्वसाधारण जनता निराश छन् ।’ त्यसो हुँदा यसपटक सर्वसाधारण जनतामा निर्वाचनप्रति खासै उत्साह नभएको उहाँले बताउनुभयो ।

त्यस्तै, म्याग्दी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा जनताले चुनेका प्रतिनिधिले जनताको मन जित्ने गरेर काम गर्न नसकेको बताउनुहुन्छ । ‘जनताले सुशासन चाहेका छन्, मौलिक हकको उपयोग निर्वाध रूपमा गर्न चाहन्छन् जनता तर, नेताहरूको भनसुनबिना कहीँ कतै केही कामै नहुने भएपछि जनताले आफैँलाई धिक्कार्दै नेता गुहार्न बाध्य हुन्छन्’ उहाँले भन्नुभयो, ‘तर, दलका नेताहरूले जनताका सामान्य काममा पनि पक्षपात गर्ने र राजनीतिक पूर्वाग्रह देखाउने गर्दा जनता राजनीतिप्रति नै उदासिन रहने गरेका पाइएको हो ।’

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेदवार छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी जिल्लाभरि जम्मा ८६ हजार १२० जना मतदाता छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?