क्यानका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्षमा

Read Time = 3 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरसिया वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स (विट्सा)को सन् २०२२-०२४ कार्यकालका लागि कोषाध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । भदौ अन्तिम साता सम्पन्न वार्षिक साधारणसभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुनुभएका चौरसिया यही कात्तिक २२ गते बसेको कार्यसमिति बैठकबाट कोषाध्यक्षमा निर्वाचित हुनुभएको क्यानले जनाएको छ । यसअघि उहाँ सन् २०१८-०२० कार्यकालका लागि क्यानबाट प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित हुनुभएको थियो भने सन् २०२०-०२२ कार्यकालमा कोषाध्यक्ष हुनुहुन्थ्यो ।

द नेसनल टेक एसोसिएसन अफ मलेसिया (पिकोम)का अध्यक्ष डा. सिन सिंहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा पाँच महादेशबाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हङकङ, बहराइन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बंगलादेश, जापान, ताइवान, इजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरू निर्वाचित भएको क्यानका महासचिव नारायण थापाले जानकारी दिनुभएको छ । विश्वका विभिन्न ८० देशमा सदस्य रहेको विट्साले विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ । विट्सामा चौरसियाको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधि देश विकासको नयाँ रणनीतिक स्तम्भका रूपमा स्थापित गर्ने प्रयासमा सहयोग पुग्ने क्यानको अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?