लेख्नु आफैसँग संवाद गर्नु हो । मन, हृदय, बुद्धि वा चेतनासँग गरिने यो प्राज्ञिक संवादमा कहिले आफूसँग आफ्नै सहमति र कहिले असहमति पनि हुन्छ । आफूले नचाहेको कुरा स्वीकार्नुपर्ने बाध्यतामा व्यक्ति आफ्नै अवस्था र परिस्थितिसँग असहमत हुन्छ र शब्दमा रिसाउँछ पनि । त्यस्तै आफूले चाहेअनुकूलको परिणाम आइलाग्दा शब्दमै प्रसन्न पनि हुन्छ । यो संवादमा शब्दहरू दोस्रो पक्ष हुन्छन् र सामुन्नेमा उभिएर हामीसँग बोलिरहेका हुन्छन् । कापीको पानामा वा कम्युटरको स्क्रिनमा उभिएका यी शब्दहरूले हामीसँग बोलेको यो संवादफरक र विशिष्ट हुन्छ ।
यसरी बोल्न पनि बहाना त चाहिन्छ । बहानाका रूपमा आउँछन् विषयहरू । विषय कहिले आफैँले रोजेका हुन्छन् र कहिले विषयले हामीलाई रोजेका हुन्छन् । कहिले यिनका विषयमा मैले नबोले कसले बोल्ने त ? भनेर आफूले विषय रोजिन्छ भने कहिले हामीलाई नलेखे तिमीले अरू कसलाई लेख्छौ त भनेर कहिले विषयले नै हामीलाई चुनौती दिइरहेका हुन्छन् र विषयको छनोट हुन्छ । अर्को अर्थमा सोद्देश्य संवाद वा मनोवादको यो कला व्यक्ति र विषयको संयोजनमा हुन्छ । त्यसो त सबै प्रकारको लेखन आफैसँगको कुराकानी नै हो तापनि निबन्धमा यो संवाद अझ घनीभूत भएर आउँछ ।
जीवन भन्नु बाँच्ने सारनतारन गर्नु, विभिन्न अनुभूति व्यहोर्नु, आखिरमा केही पनि रहेनछ भन्ने बोध गर्नु त्यसपछि जाने उपक्रममा लाग्नु पनि हो । त्यसकारण जीवनदेखि मृत्युसम्मका कुराहरू यहाँ सामेल छन् भन्न मिल्छ । आफूदेखि अरूसम्म अरूदेखि आफूसम्म यी निबन्धहरू पुगेका छन् ।
जीवनको संवाद धेरै विषयसँग गर्न सकिन्छ । जीवन आफैँमा विषय हो । अरू कसैसँग नबोलेरै पनि जीवन चलाउन सकिन्छ तर आफैँसँग नबोलेर जीवन चलाउन सजिलो हुँदैन । आफूसँग पनि कहिलेकाहीँ असहमति रहन्छ जीवनको त्यस्तो बेला जीवनलाई नाना तरहले घुक्र्याउन पनि सकिन्छ तर यसरी घुक्र्याउनु पनि सार्थक प्रयत्नमा होस् भन्नु जीवनको अभिनन्दन हो । विषयहरू बहाना हुन् आफैँसँग बोल्न । जीवन हामी आफू र समयको लगानीमा निर्माण भएको हुन्छ । जीवन बन्न धेरै उपकरणहरू मिलेका हुन्छन् ।
ती उपकरणहरू हाम्रा जीवनगत परिवेश र परिस्थितिका उपजहरू हुन् । दश ठाउँ ठक्कर खाएर, हजार पटक धोका व्यहोरेर जीवनले एउटा आकार लिएको हुन्छ । जीवन न कसैले दिएको हो न कसैले यसलाई लिन सक्छ । यो हामी आफैले लिएको हो र हामी आफैँले यसको सम्मान र सत्कार गर्न जान्नु पर्छ । अन्यथा जीवनका पनि अनगिन्ती गुनासाहरूले यसलाई उठ्नै नसक्ने बनाउँछन् ।
अकारण लेख्न वा बोल्न थालियो भने त्यो लेखाइ वा बोलाइ त्यति प्रभावपूर्ण नबन्न पनि सक्छ तर कारणले झक्झक्याएका छन् भने बोलीमा सामथ्र्य पनि भरिएको हुन्छ । सुपरिचित समालोचक एवं वैचारिक स्रष्टा ज्ञानू पाण्डेको पछिल्लो कृति जीवनको अभिनन्दन यस्तै विषय र विचारले सामथ्र्य दिएर लेखिएको निबन्ध हो । पछिल्लो दशक (२०७०-२०७८) का वर्षमा लेखिएका भनिएका यी निबन्धहरूले त्यति लामो समयावधि लिएको भनिए पनि सारमा स्रष्टाको जीवनमा धक्का दिन आएका एघारवटा विषयगत अनुभूतिमात्र यहाँ समाविष्ट छन् । अर्थात यी निबन्ध एक दशक लगाएर लेखिएका नभएर यस समायावधिका हुन् भन्नेमात्र बुझ्दा हुन्छ । न त यो अवधिमा यत्तिमात्र निबन्ध लेखिएका हुन सम्भव छ ।
साथै यी थोरै ठानिएका निबन्धहरूमा यति धेरै कुरा छन् कि यीबाहेकका अरू धेरै कुरा आवश्यक पनि छैनन् । यी निबन्धमा धेरै विषय र कुरा सामेल छन् अरू केही पढ्नै पर्दैन भन्ने होइन कि यी निबन्धहरू यति गहिरा कुरा गरेका छन् र ती कुरा यति व्यापक छन् कि सामान्य जीवनका लागि यति नै पर्याप्त हुन सक्छन्भन्न पनि सकिन्छ । त्यस्तै मानिसको जीवनका यी विषय जो औसत मानिसले बुझेको अवस्थामा यो छोटो जीवनका निम्ति अरू धेरै बुझिरहन आवश्यक पर्दैन भनेर बुझ्दा पनि हुन्छ ।
जीवन भन्नु बाँच्ने सारनतारन गर्नु, विभिन्न अनुभूति व्यहोर्नु, आखिरमा केही पनि रहेनछ भन्ने बोध गर्नु त्यसपछि जाने उपक्रममा लाग्नु पनि हो । त्यसकारण जीवनदेखि मृत्युसम्मका कुराहरू यहाँ सामेल छन् भन्न मिल्छ । आफूदेखि अरूसम्म अरूदेखि आफूसम्म यी निबन्धहरू पुगेका छन् । एक्काइसौँ शताब्दीको भौतिक उन्नतिलाई चूनौती दिएको कोरोनादेखि, मनमुटु हल्लाउने भूकम्प अनि मानिसको अस्तित्व, सम्भावना, क्षमता, सीमा र विसर्जनसम्मका धेरै विषय यी थोरै देखिएका निबन्धहरूमा समेटिएका छन् ।
निश्चय पनि यस्ता कृतिको समीक्षा गर्न वा निष्कर्ष विचार दिन सकिँदैन । अझ भन्ने हो भने कुनै पनि साहित्यिक कृतिको सामथ्र्य सुनेर होइन पढेर अनुभव गर्ने विषय हो । लेखकले भनेझैँ यसो किन भनियो ? यसो किन भनिएन ? भनेर कुनै पनि स्रष्टाका बारेमा प्रश्न उभ्याउनुमात्रै सायद हाम्रो धर्म होइन । समीक्षा वा समालोचनाका नाममा आफ्नो बुझाइलाई आधिकारिक मानेर गरिने टीकाटिप्पणी र कथित बौद्धिकताको प्रदर्शनले मात्र कृतिको उपादेयता निर्धारित हुने पनि होइन ।
त्यसमाथि सिर्जनाको आफ्नै गति र विधि हुन्छ । लेखिएका कुरा पनि सबैले एकै किसिमले बुझ्ने र एउटै धारणा बनाउने विषय होइनन् । स्रष्टा पाण्डेको यो कृति यी धेरै प्रतिक्रियाभन्दा अलि पर छ र यसले आफ्नै दर्शनको आविष्कार गरेको छ । मानवीय सत्ता, शक्ति र सौन्दर्यको केन्द्रीयतामा स्वअस्तित्वको संरक्षणका पक्षमा बोलिएका यी ओजिला वाणीहरूको आफ्नै सामथ्र्य छ र त्यो सामथ्र्यको उचाइ, गहिराइ र मोटाइ पनि आयामिक नै छ ।
जीवन जगत्का यावत् उहापोहहरूलाई नजिकैबाट हेरिरहेको एकजना जीवनवादी स्रष्टाले निर्माणका कुरा गर्छ । उत्साह उमार्ने कुरा गर्छ । उमङ्ग भर्ने कुरा गर्छ । अस्तित्वबोधका कुरा गर्छ । ज्ञानका कुरा गर्छ, विज्ञानका कुरा गर्छ । अनुभूतिका कुरा गर्छ, यथार्थ कुरा गर्छ र आदर्शका पनि कुरा गर्छ । बाँच्ने कुरा गर्छ, बँचाउने कुरा गर्छ । नमर्ने कुरा गर्छ, नमार्ने कुरा गर्छ । जीवन के हो भनेर परिभाषा गर्छ, मृत्यु के हो भनेर जिज्ञासा पनि गर्छ । विचारका कुरा गर्छ, व्यवहारका कुरा गर्छ । दर्शनका कुरा गर्छ, साहित्यका कुरा गर्छ । दृष्टिका कुरा गर्छ, धारणाका कुरा गर्छ ।
ईश्वरका कुरा गर्छ र मानिसका कुरा झन् बढी गर्छ । स्वतन्त्रताका कुरा गर्छ, समानताका कुरा गर्छ । देशका कुरा गर्छ, विदेशका कुरा गर्छ । राजनीतिका कुरा गर्छ, अराजनीतिका पनि कुरा गर्छ । समाजका कुरा गर्छ, सन्देशका कुरा गर्छ । थितिका कुरा गर्छ, बेथितिका कुरा पनि गर्छ । आफ्ना कुरा गर्छ, आफन्तका कुरा गर्छ । अपेक्षाका कुरा गर्छ, अनपेक्षित परिणतिका कुरा गर्छ । जीवन जिउने कुरा गर्छ र पलायनलाई बहिष्कार गर्ने कुरा गर्छ । यसो गर्दा आफ्नो उपस्थितिलाई बिर्सँदैन र अरूमाथि हस्तक्षेप पनि गर्दैन । बाहिर अरूसँग धेरै नबोल्ने मानिसभित्र आफूसँग अझ धेरै बोल्छ । आत्मसंवाद मानिसको भित्री गुण हो ।
पहिले आफू बोलियोस् अनि आफ्नो बोली अरू कसैका निम्ति उपयोगी छ भन्ने लाग्यो भने सार्वजनिक गरियोस् । अनिमात्र अभिव्यक्तिले सार्थकता पाउँछ । यहाँ त्यसै गरिएको छ । गुणको गरिमा बुझेकाहरूले गुणको कुरा गर्छन् गरिमाको ख्याल गर्छन् । गुण र गरिमाको स्थापनाको लक्ष्य लिएकाहरूले जीवनजगत्लाई सुन्दर देख्छन् र सुन्दर पार्न चाहन्छन् । असुन्दरमा पनि सुन्दरताको खोजी गरिनुपर्छ भन्ने मान्दछन् । गुनासा र चुनौतीहरूले नघेरिएको जीवनले परिष्कार पाउँदैन । शरीर सफा भएजस्तै मन सफा पार्न मनको मैलो माझेर आउन सक्नुपर्छ । मनको मैलो विचार माझेर हटाउनुपर्छ । आग्रह, पूर्वाग्रह, बदला, प्रतिशोधले मन र विचार दुवै परिमार्जन हुँदैन ।
मन माझिए जीवन पनि प्राञ्जल बन्न सक्छ । जीवनका विकारलाई पनि सुध्याउँदै लैजानु पर्छ । आत्मबोधको गहिरो हेराइ नै पहिलो शर्त हो जीवन बुझ्ने । अरूको अस्तित्वर सामथ्र्यलाई पनि भलिभाँती पहिचान गरेर लेखिएका यस्ता कृतिहरूले जीवनको अभिनन्दन गर्न सिकाउँछन् । अकारणमा जीवन र जगत्माथिका गुनासाहरूलाई बाईबाई गर्न उक्साउँछन् । जीवन छ त्यसैले जगत् छ । केहामीले आफूबिनाको रमाइलो संसारको कल्पना गर्न सक्छौँ ? जीवनलाई हेर्ने आफ्नै मौलिक आँखा हुनु र आफ्नै बुझाइले जीवनको अभिनन्दन गर्न सक्नु जीवनको सफलता हो । विषय जे सुकै आएका होऊन् यहाँ कुरा जीवनका गरिएको छ ।
कतै आत्मसंवाद गरिएको छ कतै मनोगत कुरा पनि गरिएको छ । र कतै विषयले उब्जाएका जिज्ञासा र ती माथिको आफ्नो अभिमत प्रकट गरिएको छ । हामीले देख्ने वा लेख्ने हाम्रै परिस्थिति र परिवेशका कुराहरू हुन् । आफूसँग ठोक्किन आएका घटना र परिघटना हुन् । आफ्नो विचारले निकास दिन चाहेका कुरा हुन् । आफ्नो ज्ञान र अनुभवको सामथ्र्यले भ्याएका कुरा हुन् । मानिस आखिर मानिस नै हो धेरैले जे सोच्छन् यहाँ लेखकले पनि त्यसरी नै सोचेका कारणले गर्दा यी निबन्धहरू हाम्रा विचारका पनि अभिव्यक्ति भएका छन् ।
ऊ मेरो अमुक प्रेमी, विरोधाभासको मिठो तनाव, बन्दाबन्दीको उन्मुक्ति, भूकम्पको भयमा उच्छलित अनुभूतिहरूका तरङ्गहरू, पाठकको सत्ता, सङ्क्रमणमको प्रशिक्षा, स्मृतिबिम्बमा अमेरिका, निर्बन्ध नायिकाको महाप्रस्थान, त्यहाँ म केवल छोरीमात्र रहन्छु, भगवान्, जीवनको अभिनन्दन यी एघारवटा शीर्षकहरू छानिएका छन् आफू पोखिनको लागि । यी विचारका बिम्बलाई विषय, विचार र अभिव्यक्तिका दृष्टिले वर्गीकरण गर्न सकिन्छ ।
तीमध्ये बन्दाबन्दीको उन्मुक्ति, भूकम्पको भय.., संक्रमणको प्रशिक्षा, स्मृतिबिम्बमा अमेरिका, निर्बन्ध नायिकाको महाप्रस्थान, त्यहाँ म केवल.., जीवनको अभिनन्दन शीर्षकका निबन्धहरू विषयले झक्झक्याएर पोखिएका अभिव्यक्तिहरू हुन् भने ऊ मेरो अमुक प्रेमी, विरोधाभासको मिठो तनाव, पाठकको सत्ता, भगवान् जस्ता निबन्धहरू आफ्नै विचारले अत्याएर लेखिएका हुन् । यद्यपि यी कुनै पनि निबन्ध वर्णनपरक मात्र छैनन् । यी निबन्धहरूबाट लेखकीय विचारहरू केलाएर अर्कोतिर राखिदिने हो भने ती त्यति जीवन्त बन्ने छैनन् जति अहिले छन् । आत्मानुभूतिका पनि यी त्यत्तिकै गहकिला अभिव्यक्तिहरू हुन् । विषयहरू यहाँ केवल विचार प्रक्षेपणका साधनमात्र बनेका छन् खासमा यी सबै निबन्धहरूको आधार स्रष्टाको विचारको मझेरी नै हो ।
ज्ञानूका यी निबन्धहरूबाट लेखकीय विचारहरू केलाएर अर्कोतिर राखिदिने हो भने ती त्यति जीवन्त बन्ने छैनन् जति अहिले छन् । आत्मानुभूतिका पनि यी त्यत्तिकै गहकिला अभिव्यक्तिहरू हुन् । विषय यहाँ केवल विचार प्रक्षेपणका साधनमात्र बनेका छन् ।
शब्दशब्दले गम्भीर विचार र दर्शनको उद्घाटन गराएका यी निबन्धहरू विषय र विचारको संयोजनमा तयार भएका हुन् । पहिलो निबन्धले आत्मिक प्रेमको कुरा गरेको छ । आफूलाई प्रेम गर्नु नै संसारलाई प्रेम गर्ने बाटो खुल्नु हो । आफैप्रति न्याय गर्न नसक्नेले संसारप्रति कसरी न्याय गर्न सक्ला र ? भन्ने सन्देश यसबाट प्राप्त हुन्छ । दोस्रो निबन्धले हामी निर्णयका अधिकारी होइनौँ तर हामीलाई थाहा छ जीवन भन्नु केही जान्नु र धेरै नजान्नुको संयोग हो । सजिलो भाषामा विरोधाभासको मिठो तनाव हो भन्ने सङ्केत गरेको छ ।
तेस्रो निबन्धले विश्वव्यापी प्रभाव पारेको कोरोना संक्रमणको मनोयथार्थलाई उजागर गरेको छ भने चौथो निबन्धले भूकम्पको भयबाट सिर्जित मानसिकतालाई सङ्केत गरेको छ । पाँचौँ निबन्धले लेखक र पाठकबिचको परिपूरक सम्बन्धलाई देखाएको छ भनेँ छैटौँ निबन्धमा कोरोना सङ्क्रमणको अवस्थाको चित्रण भएको छ । सातौँ निबन्धले अमेरिका भ्रमणका अनुभूतिहरूलाई शब्ददृश्य प्रदान गरेको छ भनेँ आठौँ निबन्धमा नेपाली साहित्यकी सुपरिचित स्रष्टा बानिरा गिरिको व्यक्तित्व र उनको महाप्रस्थान यात्रालाई देखाइएको छ । नवौँ निबन्धमा नेपाली साहित्यका ओजश्वी स्रष्टा पोषण पाण्डे र लेखक छोरी ज्ञानू पाण्डेका बिचको स्नेहाशिक्त सम्बन्धको चर्चा छ ।
दशौँ निबन्धमा ईश्वरीय सत्ता र असल मानिसको सत्ताको सम्बन्धलाई देखाइएको छ । र एघारौँ अनि शीर्ष निबन्धमा जीवन र मृत्युका बिचको प्रतिस्पर्धामा मृत्युलाई रोजेका प्रोफेसरको अवसानलाई आधार बनाएर जीवनको महिमागान गरिएको छ । अपरिहार्य मृत्यु हाम्रो बाध्यता हो र यो रहर गर्ने विषय कदापि होइन । जसरी पनि बाँच्नुको आनन्द बेग्लै छ भन्ने सन्देश यस निबन्धबाट प्रसारण भएको छ । यो कुनै विश्लेषण होइन, विषय प्रवेशमात्र हो वा हुनसक्छ प्रभावपरक पाठक प्रतिक्रिया हो । निबन्धमा प्रयुक्त हरेक पदावलीमा सघन विचार समेटिएका यी निबन्धहरू पढेपछि मात्र यिनको शक्ति र सीमाको पहिचान हुने छ । यति सुन्दर निबन्ध कृतिका लागि स्रष्टा ज्ञानू पाण्डे बधाईका पात्र हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच