आज आमनिर्वाचन

आज देशभरि आमनिर्वाचन भइरहेको छ । देशैभरि एकै पटक हुन लागिरहेको यस निर्वाचनमा देशवासीहरूले उत्साहका साथ भाग लिने अपेक्षा गरिएको छ । संघीय संसद् तथा प्रदेशसभा संसद्का लागि भइरहेको यस निर्वाचनमा निर्वाचन आयोग तथा नेपाल सरकारले गरेको तयारी चुस्त रहेको पाइएको छ । निर्वाचन आयोगले पनि गत विगतका निर्वाचनमा भन्दा यसपटक आचारसंहितामा निकै कडाइ गरेको छ । पार्टीका झण्डा र निर्वाचन चिहृन अंकित टिसर्ट, टोपी, ब्याचहरू लगाउन पहिले पहिले पाइथ्यो तर यसपटक यस्ता सामग्रीको प्रयोगमा निषेध गरिएको छ । आयोगले पार्टीहरूलाई प्रचारप्रसारको समय पनि सीमित गर्‍यो । भोजभतेरहरूमा समेत कडाइ गरिएको यस निर्वाचनमा पार्टीहरूमा पनि संयमता देखिएको छ ।

पहिले पहिलेको जसरी ठाउँठाउँमा बाक्लै हुने झडपहरू हाल निकै कम संख्यामा मात्र भएको सुनियो । वास्तवमा यो मतदाताहरूको संयमता, धैर्य अनि नेताहरूको अनुशासनको द्योतक हो भन्दा अन्यथा हुनेछैन । यति भएर पनि केही ठाउँमा फाट्टफुट्ट यस्ता घटना भएको पाइएको छ । निर्वाचनभन्दा ४८ घण्टाअघिदेखि लागू हुने मौनअवधि १५-२० दिनको प्रचार अवधिभन्दा बढी संवेदनशील मानिन्छ । यसअवधिमा पैसाको चलखेल हुने सम्भावना हुन्छ । यसपटक राजधानीकै केही ठाउँहरूमा समेत पैसा बाँड्दाबाँड्दै केही पार्टीका जनप्रतिनिधिहरू समेत रंगेहात पक्राउ परेको समाचार आएकै हो । यसबाट कुनै पनि निर्वाचन सतप्रतिशत निष्पक्ष हुन्छ भन्ने प्रत्याभूति त कसैले गर्न सक्दैन तैपनि सकेसम्म निष्पक्ष र धाँधलीरहित गराउने प्रयास भने सबै पक्षबाट हुनैपर्छ ।

निर्वाचनको समय भरखर सुरु हुँदैछ । आज दिनभरिको यो दश घण्टा सबैले धैर्य गर्नुपर्ने र संयमता अपनाउनुपर्ने समय हो । यही बेलामा पार्टी, पार्टीका नेता, उम्मेदवार, कार्यकर्ता तथा मतदातालगायत सबैले संयमता अपनाउनुपर्ने समय हो । यतिमात्र होइन निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी लिएर मतदान गराउन आएका कर्मचारी तथा सुरक्षाकर्मीले समेत मतदान केन्द्रमा कुनै सामान्य वादविवाद भएका खण्डमा धैर्यताका साथ त्यसको निराकरणको प्रयास गर्नुपर्ने हुन्छ । कुनै पक्षले सामान्य अवस्थामै पनि धैर्य गुमाएर अलिकति मात्र उत्तेजनामा आउने हो भने अर्को पक्ष त्यसभन्दा पनि उत्तेजनामा आउनसक्छ र त्यसले उग्ररूप लिनसक्छ । त्यसैले आगोमा घ्यू थप्नेभन्दा त्यसलाई साम्य पार्नतिर लाग्नु सबैको जिम्मेवारी हुनआउँछ ।

जुन निर्वाचन निष्पक्ष हुँदैन त्यसबाट सही प्रतिनिधि छनौट हुन पनि सक्दैन । पैसा, धम्की र आश्वासनको माध्यमबाट सही प्रतिनिधि छानिन सक्दैन । यसतर्फ सबैले विचार पु¥याउनै पर्नेहुन्छ । हामीले छानेको प्रतिनिधि आगामी पाँच वर्षका लागि हो । हाम्रो भाग्य उनीहरूकै माध्यमबाट निर्धारण हुने हो । प्रत्यक्ष रूपमा हेर्दा पाँच वर्षका लागि प्रतिनिधि छनौट भएको जस्तो देखिए पनि वास्तवमा हामीले हाल छनौट गरेका प्रतिनिधिबाट कोरिएको देशको विकासको खाकाबाट सधैंका लागि हाम्रो देशको भाग्य निर्धारण हुने भएका कारण एकपटक हामीबाट सही बाटो अवलम्बन भएन भने त्यो हाम्रा जीवनपर्यन्त धोका हुनसक्छ । त्यसैले हामीले जसरी भए पनि शान्तिपूर्वक यस निर्वाचनलाई सम्पन्न गर्नुपर्ने हुन्छ ।

यो निर्वाचनलाई आमनेपालीबीच एउटा महापर्वका रूपमा हेरिएको छ । राजधानीमा विभिन्न पेशा र व्यवसाय गरेर बसेका गाउँगाउँबाट आएका मतदाता आफ्नो मताधिकार प्रयोग गर्न आ-आफ्नो गाउँ फर्किएका छन् । दशैँतिहारमै जसरी सात लाखभन्दा बढी मानिस गाउँ फर्किएका छन् । प्रतिदिन साठी हजारका दरले गाउँ गएका यी मतदाता योग्य प्रतिनिधि छान्नकै लागि त्यहाँ गएका हुन् । तिनको भावनाको समेत कदर गरिनु आवश्यक छ । यसका लागि राज्य पक्षले त धैर्य गर्नैपर्छ साथै पार्टीहरू र नेताहरूले पनि संयमता आपनाउनै पर्छ । जुन ठाउँबाट आपूm हार्ने पक्का छ ती ठाउँमा त्यस्ता पक्षले अराजकताको बाटो अपनाउने सम्भावना प्रबल हुन्छ । त्यसैले मतदान केन्द्र वरपर त्यस्ता अराजकता फैलाउने प्रवृत्तिका मानिसको आउजाउलाई नियन्त्रण गर्न आवश्यक छ ।

यसैगरी कसैले यस्ता क्रियाकलाप गरेका खण्डमा तिनलाई कडा कारबाही गरिनु उत्तिकै आवश्यक छ । जसले गर्दा निर्वाचन शान्तिपूर्वक सम्पन्न हुनसकोस् । यसो भयो भनेमात्र अर्को पटकका लागि निर्वाचनप्रति आममतदाताको विश्वास स्थापित हुन सक्नेछ । यसतर्फ सबैले प्रयास गर्नैपर्छ । निर्वाचन भनेको देशको भाग्य र भविष्य निर्धारण गर्ने एउटा माध्यम भएकाले यसलाई सामान्य प्रक्रियामात्र मान्नु र क्षणिक स्वार्थ परिपूर्ति गर्ने माध्यम मात्र ठान्नु हुँदैन । त्यसैले यस्तो संवेदनशील विषयमा सबै पक्ष गम्भीर हुनैपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?