नामिबिया भ्रमणका लागि नेपाली टोली घोषण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आईसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिजका लागि नेपालले क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा तीव्र गतिका बलर नन्दन यादवले पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको छ । बागमतीबाट घरेलु क्रिकेट खेल्ने नन्दन तीव्र गतिसँगै तल्लोक्रममा हिटिङ ब्याट्सम्यानका रुपमा पनि चिनिनुहुन्छ ।

घोषित नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव रहनुभएको छ । नामिबियामा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले नामिबियासँग डिसेम्बर २ मा पहिलो खेल खेल्नेछ । नेपालले डिसेम्बर ४ मा स्कटल्यान्डसँग खेल्नेछ । डिसेम्बर ७ मा नामिबिया र डिसेम्बर ८ मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल २० खेलमा आठ मा जित र ११ मा हारका साथ छैटौं स्थानमा छ । नेपाल सात देश सम्मिलित विश्वकप लिग दुई मा शीर्ष तीनमा पर्न सके आगमी वर्ष सिधैं विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ । सोझै ओडिआई मान्यता जोगाउन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले २० खेलमा १७ अंक जोडेको छ ।नेपालले अब विश्वकप लिग-२ मा १६ खेल खेल्न बाँकी छ । जसमा आठ घरेलु मैदान र आठ खेल विदेशी भूमिमा खेल्नेछ । शीर्ष पाँचमा रहन नेपालले कम्तिमा १० खेल जित्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?