लिङ्देनको नेतृत्वमा राप्रपाको शानदार ‘कमब्याक’, प्रतिनिधिसभामा पाँचौँ शक्ति

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । २०७४ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा एक मात्रै सिट जितेको थियो । राप्रपाका तत्कालीन नेता राजेन्द्र लिङ्देन विगत पाँच वर्षमा एक्ला सांसद हुनुहुन्थ्यो । समानुपातिकमा तीन प्रतिशत मतसमेत ल्याउन नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पनि पाएन । पाँच वर्षअघिको चुनावमा राप्रपाले दुई लाख भोटसमेत कटाउन सकेको थिएन । पाँच वर्षको अवधिमा राप्रपाले महाधिवेशन ग¥यो । महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भयो । नेतृत्व राजेन्द्र लिङ्देनको हातमा आयो । युवा नेतृत्वको जोश र नेतृत्व परिवर्तनको खुसीबीच स्थानीय चुनावमा भाग लिएको राप्रपाले विगतको भन्दा सुधार गरे पनि अपेक्षाकृत नतिजा भने हात लाउन सकेन । उसो त स्थानीय चुनावको मुखैमा राप्रपा विभाजनको शिकारसमेत भयो । अध्यक्षमा पराजित कमल थापाले राप्रपा नेपाल पुनर्गठन गर्नुभयो । तर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने राप्रपाले उल्लेख्य जित हात पारेको छ । गत निर्वाचनमा एक सिटमा खुम्चिएको राप्रपाले यसपालीको चुनावमा प्रतिनिधिसभामा प्रत्यक्षमा मात्रै सात सिट जितेको छ । सत्ता गठबन्धनको रापताप र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबीच राप्रपाले प्रतिनिधिसभामा सात सिट जितेको हो । यद्यपि, राप्रपाले पनि केही सिटमा भने एमालेसँग तालमेल गरेको थियो । प्रतिनिधिसभामा मात्रै होइन राप्रपाले प्रदेशको नतिजा पनि व्यापक सुधार गरेको छ । प्रदेशमा प्रत्यक्षमै राप्रपाले ११ सिट जितेको छ । बागमती प्रदेशसभामा मात्रै राप्रपाले सात सिटमा जित हात पारेको छ ।

समानुपातिकमा पनि उल्लेख्य भोट पाएको छ । राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भइसकेको राप्रपा संसद्मा पाँचौँ शक्तिका रूपमा उदय हुने देखिएको छ । आइतबार अबेरसम्मको नतिजाअनुसार समानुपातिकमा राप्रपाले पाँच लाख बढी भोट ल्याइसकेको छ । हालसम्म प्राप्त समानुपातिक भोटका आधारमा राप्रपाले कम्तीमा सात सांसद पाउने पक्का जस्तै भइसकेको छ । पञ्चायतदेखि भोगिएका नेताहरूप्रति नागरिकमा आकर्षण घटिसकेको थियो । उनीहरू मुद्दागत हिसाबले पनि कमजोर भइरहेका थिए । सत्ताको छिनाझप्टीमा लागेका उनीहरूले अपेक्षित परिणाम पनि दिन सकेका थिएनन् । चुनावअघि नेतृत्व परिवर्तन गरेको राप्रपामा यसपालि आकर्षण देखियो । लिङ्देन नेतृत्वमा आएसँगै पूर्वपञ्चहरूको बाहुल्यता रहेको पार्टीमा पुनः जनमत केही आकर्षित हुँदै ‘परम्परागत शक्ति’का रूपमा अगाडि आएको हो । हिन्दुराष्ट्र र राजतन्त्रको मुद्दाको बलमा थापाले २०७० मा पार्टीलाई २४ सिटको अवस्थामा पुर्‍याए पनि सत्ता स्वार्थमा लाग्दा पार्टी विभाजन र जनविश्वास गुमेर कमजोर अवस्थामा पुगेको थियो । यसपालि भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फ अब्बल प्रदर्शनसहित शानदार कमब्याक गरेको हो ।

यी हुन् प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव जित्ने राप्रपाका सात सांसद
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सातवटा निर्वाचनमा क्षेत्रमा जित हात पारेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेताले प्रत्यक्षमा चुनाव जितेका हुन् । झापा-३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, मकवानपुर-१ बाट दीपक सिंह, चितवन-३ बाट विक्रम पाण्डे, नवलपरासी पश्चिम-२ बाट धु्रवबहादुर प्रधान विजयी हुनुभएको छ । त्यस्तै, रुपन्देही-३ बाट दीपक बोहोरा, बाँके-२ बाट धवलशमशेर राणा र जुम्लाबाट ज्ञानबहादुर शाहीले चुनाव जित्नुभएको छ । राजतन्त्र र हिन्दुराज्य पुनःस्थापनाको माग गरिरहेको राप्रपाले यसपालि भने प्रत्यक्ष र समानुपातिक दुवैैतर्फ निकै नै मत बढाएको छ । विपक्षी दलका प्रभावशाली नेतालाई हराउँदै उनीहरूले चुनाव जितेका छन् । अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराउनुभएको हो । रुपन्देहीमा नेता दीपक बोहराले बहालवाला गृहमन्त्रीलाई पराजित गर्नुभएको छ । मकवानपुरमा पनि सिंहले कांग्रेस नेत्री डिना उपाध्यायलाई पराजित गर्नुभएको हो । काठमाडौं-१ बाट राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

प्रत्यक्ष तर्फको मात्र होइन समानुपातिक तर्फको एक/एक मत पनि उत्तिकै महत्वपूर्ण : अध्यक्ष लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ । उहाँले समानुपातिक मतगणनामा विशेष ध्यान दिन, अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै प्रबन्ध गर्न मातहत कमिटी र उम्मेदवारहरूलाई निर्देशन दिनुभयो । ‘राप्रपाका लागि प्रत्यक्ष तर्फको मात्र होइन समानुपातिक तर्फको एक/एक मत पनि उत्तिकै महत्वपूर्ण छ,’ अध्यक्ष लिङ्देनले भन्नुभएको छ, ‘समानुपातिक मतगणनामा विशेष ध्यान दिन, अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै आवश्यक प्रबन्ध गर्न पार्टीको प्रदेश समिति, जिल्ला समिति एवं प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई अनुरोध गर्दछु ।’ त्यस्तै, राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि समानुपातिक मतगणनामा गडबडी भएको हुनसक्ने आशंका गर्नुभएको छ । कतिपयले समानुपातिक मतगणनामा गडबडी गरेको हुनसक्ने आशंका गरेको भन्दै राप्रपाको पनि त्यही आशंका रहेको बताउनुभयो । ‘निर्वाचनको जारी समानुपातिक मतगणनामा गडबडी भएको हुनसक्छ भन्ने कतिपयको आशंका गलत छैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो पनि त्यही आशंका छ ।’ यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि समानुपातिक मतगणनामा गडबडी भएको हुनसक्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?