गोमा र कुन्ती हारेपछि कर्णालीमा महिलाको उपस्थिति शून्य

राजनीतिक दलले महिला उम्मेदवारलाई टिकट नै दिएनन्

विजय रावत जुम्ला, संवाददाता
Read Time = 7 mins

जुम्ला । कर्णाली प्रदेशका दशवटै जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनतर्फ माओवादी केन्द्रबाट जुम्लामा गोमा गौतम (कुँवर) र दैलेख जिल्लाको क्षेत्र १ बाट राप्रपा महामन्त्री कुन्ती शाही निर्वाचनमा पराजय भएपछि प्रदेशबाट महिलाको संख्या प्रतिनिधिसभामा शून्य सहभागी हुने भएको छ । राजनीतिक दलले महिला उम्मेदवारलाई प्राप्त टिकट नदिँदा महिला क्षेत्रमा वकालत गर्दै सांसदको संख्या कर्णालीबाट प्रत्यक्षतर्फ वञ्चित हुने देखिन्छ । सामानुपातिक तर्फको अन्तिम मत गणनाको नतिजा सार्वजनिक भएपछि ठूला राजनीतिक दलले कर्णालीबाट महिलाको सांसद संख्यामा वृद्धि हुने यहाँका महिला अधिकारकर्मी बताउँछन् ।

प्रदेशमा महिला उम्मेदवारको संख्या न्यून
नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट नदिएपछि प्रदेशका महिला सांसदको सहभागी न्यून रूपमा हुने देखिन्छ । साना दलहरूमा एक मात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नं १ को (२) मा मनकली रामजाली, क्षेत्र नं २ को (१) मा बिजुकला राना र दैलेख क्षेत्र नं १ को (२) बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो । उक्त निर्वाचनमा रामजालीले ६३, रानाले ३०६ र सिंहले २०२ मत मात्र ल्याएर पराजित हुनुभयो ।

जित्ने सम्भावना भएका कुनै पनि ठूला दलहरूले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मी पवित्रा शाहीले टिप्पणी गर्नुभयो । ‘महिला प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् जस्तो गरेर टिकटबाट वञ्चित गर्नु संविधानविरोधी कार्य हो’, शाहीले भन्नुभयो, ‘आगामी दिनमा यसलाई सशक्त मुद्दाका उठाउनुपर्छ ।’ माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले महिलाहरू प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण देशैभरि देखिसकिएको बताउनुभयो । ‘सामान्यतः महिलाले टिकट नपाएका भन्ने चाहिँ होइन तर संवैधानिक व्यवस्थाबमोजिम न्यायिक बन्न सकेन’, उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशसभा सदस्यमा सबै पार्टीले प्रत्यक्षमा महिला उम्मेदवार उठाउने सवालमा निकै ठूलो अन्याय भएको हो ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार एमालेको एक लाख ८३ हजार ९५०, नेपाली कांग्रेसले एक लाख ७० हजार ७५६, नेकपा (माओवादी केन्द्र) ले एक लाख ३७ हजार ६२९, नेकपा (एकीकृत समाजवादी) ले ३५ हजार ८२६, राप्रपाले २५ हजार १८६ र नेमकिपाले आठ हजार ९९३ समानुपातिक मत प्राप्त गरेका छन् ।

अन्य दलरूले दुई हजारभन्दा कम मत ल्याएका छन् । सबै दलहरू गरेर कर्णाली प्रदेशमा पाँच लाख ७६ हजार १६७ समानुपातिक मत प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख गरिएको छ । प्रत्यक्षमा २४ सिट भएको प्रदेशमा सबै पुरुषहरूले जितेर आएका छन् । प्रदेशसभामा ४० सदस्य रहने व्यवस्था छ । यसमा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था छ । ४० सदस्यीय प्रदेशसभामा विभिन्न दलहरूबाट ३३ प्रतिशतका हिसाबले १३ महिला प्रदेशसभा सदस्यको कोटा अब त्यही समानुपातिक मत प्राप्त गरेका आधारमा पूर्ति हुनेछ ।

एक मात्र दलित उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत हुम्ला प्रदेश १ (क) बाट नेकपा (माओवादी केन्द्र) का रनसिंह परियार निर्वाचित हुनुभएको छ । उहाँले हुम्ला प्रदेश १ (क) का स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई एक हजार ८५१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको थियो । उहाँले ६ हजार ४८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार ६३० मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रबाट उहाँले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन् ।

कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा ६ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहेका छन् । मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका छक्कबहादुर लामालाई हराउनुभयो । उहाँ यस अघिका प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पाबाट वीरबहादुर शाही र सुर्खेत क्षेत्र नम्बर (२) बाट माओवादी केन्द्रका विन्दमान विष्ट रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?