जनप्रतिनिधिप्रतिको अपेक्षा

रत्न प्रजापति
Read Time = 15 mins

निर्वाचन आयोगले औपचारिक रूपमा आमनिर्वाचनको अन्तिम परिणाम घोषणा गरिसकेको छ । कुनै राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न सकेका छैनन् । निर्वाचनमा केही हदसम्म अनेक्षित रूपमै परिचित अनुहारले पराजय भोगेका छन् भने केही नयाँ अनुहारले जनअपेक्षा अनुसार नै राजनीतिमा डेब्यु गरेका छन् र संसदमा जनताको प्रतिनिधित्व गर्ने सुनौलो अवसर पाएका छन् । परिचित अनुहारले पराजय भोग्नु र नयाँ अनुहारले विजयको माला पहिरिने अवसर पाउनुमा पनि पुराना नेताप्रतिको उही निराशा, वितृष्णा, आक्रोश र विद्रोह नै मुख्य कारण रहेको मान्न सकिन्छ ।

आमनिर्वाचनमा तुलनात्मकरूपमा विगतका निर्वाचनहरूमा भन्दा कम मतदान हुनुले निर्वाचनप्रति जनताको उत्साह घटेको देखिएको छ । यसका पछाडि नेताहरूको आचरण र कार्यशैलीलाई मुख्य कारण मान्नुपर्ने हुन्छ । जनताले पटकपटक आफ्नो मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिहरूले जनचाहना अनुसार काम नगरेको, देशमा सुशासन कायम गर्न नसकेको, विकास र समृद्धिका झुटा आश्वासन दिनुबाहेक ठोस कार्य गर्न नसकेको, भ्रष्टाचारको गुलियोमा माखोझैं भन्केको, संविधान कार्यान्वयनभन्दा आआफ्नो दलीय स्वार्थअनुकुल संविधानको व्याख्या गर्न उद्यत रहेको, जनतामा आशा र विश्वास जगाउनेभन्दा निराशा, वितृष्णा, आक्रोश र विद्रोह जन्माउने काममात्रै गरेकाले निर्वाचनप्रति जनताको उत्साह बढ्न नसकेको हो भन्दा अतिशयोक्ति हुने छैन ।

निर्वाचनमा कुनै राजनीतिक दलको स्पष्ट बहुमत नआएको हुँदा अब पनि मिलीजुली सरकार नै बन्ने निश्चित छ । यस अवस्थामा फेरि पनि दलहरूबीच सत्ताप्राप्तिका लागि भागबण्डाको राजनीति हुने र यो राजनीतिले फेरि पनि जनअपेक्षा ओझेलमा पर्नसक्ने सम्भावना छ ।

देशको कूल जनसंख्यामा ४०.४ प्रतिशतको संख्यामा रहेका युवाको सवालमा राजनीतिको पुरानो पुस्ता सधैं निरपेक्ष बस्यो । युवाका लागि संविधानप्रदत्त हकअधिकारलगायत अपरिहार्य शिक्षा र रोजगारीका विषयमा पुराना नेताहरूले कहिल्यै आवश्यक चासो देखाएनन् । बरू शिक्षामा पनि राजनीतीकरण गर्ने र युवालाई रोजगारीका लागि विदेश पठाएर त्यसबाट प्राप्त रेमिट्यान्सले नै देशको अर्थतन्त्र चलाउने सोचमा पुराना नेताहरू रहेको देखियो । जुन देशका लागि निकै घातक थियो र छ । किनभने रेमिट्यान्स दिगो आर्थिक स्रोत हुँदै होइन ।

अर्थतन्त्रमा आत्मनिर्भरता बढाउने र जोखिम कम गर्ने हो भने देशमै उद्योगधन्दाको विकास र रोजगारी सिर्जना गर्नुपर्छ र आन्तरिक उत्पादन वृद्धि गर्नुपर्छ । अनि युवा जनसंख्याका कारण प्राप्त हुने अति महत्वपूर्ण जनसांख्यिक लाभ हासिल गर्न सक्नुपर्छ । यी विषयमा नेताहरू चुक्दा देश अहिले आर्थिक संकटको स्थितिबाट गुज्रिरहेको छ । जसलाई स्वीकार्न देशका जिम्मेवार नेता र नीतिनिर्माता अझै तयार छैनन् । तिनीहरू अझै पनि नेपाली जनतालाई भ्रममा राख्न उद्यत् देखिन्छन् । यो नेपाली जनताको दुर्भाग्य हो । युवा स्वयं परिवर्तनका संवाहक हुन् । राजनीतिमा पनि परिवर्तनको संवाहक बन्ने क्षमता र आकांक्षा दुवै छ युवापुस्तामा । तर, बुढोपुस्ताले राजनीति ओगटेर बसेको र अझै ओगटिरहने लालसा देखाएकाले यथास्थितिको राजनीतिप्रति नै युवामा वितृष्णा बढेको हो । युवाको आकांक्षालाई युवालेमात्रै सम्बोधन गर्न सक्छ र परिवर्तनको आकांक्षालाई पनि युवाले नै पूरा गर्न सक्छ भन्ने मान्यताले युवाले राजनीतिमा युवा प्रतिनिधित्वको खोजी गरेका हुन् । जनताबाट बहिष्कृत बुढा नेताहरूले यो कुरा मनन गर्नुपर्छ ।

निर्वाचनमा कुनै राजनीतिक दलको स्पष्ट बहुमत नआएको हुँदा अब पनि मिलीजुली सरकार नै बन्ने निश्चित छ । यस अवस्थामा फेरि पनि दलहरूबीच सत्ताप्राप्तिका लागि भागबण्डाको राजनीति हुने र यो राजनीतिले फेरि पनि जनअपेक्षा ओझेलमा पर्नसक्ने सम्भावना छ । सत्तास्वार्थका लागि जे गर्न पनि उद्यत् हुने नेताहरू फेरि पनि उस्तै खेलमा लाग्ने संकेत देखिइसकेको छ । यसको एउटा ज्वलन्त उदाहरण हो सत्तास्वार्थको साँठगाँठलाई सहज बनाउन ल्याइएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश । मंसिर २५ गतेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो । टीकापुर घटनाका मुख्य आरोपीका रूपमा जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउन यो अध्यादेश ल्याइएको आरोप बुद्धिजीवीलगायत विभिन्न राजनीतिक दलले लगाइरहेका छन् । यस्तो विषम परिस्थितिमा जनताको आशा र भरोसाको केन्द्रको रूपमा उदाएका नयाँ अनुहारहरूले अहोरात्र खबरदारीको भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ ।

नवनिर्वाचित युवा जनप्रतिनिधिमा कताकता जितको दम्भ पनि देखिएको छ । उनीहरूको हाउभाउ र व्यवहारले सर्वसाधारण नागरिक यस्तो सोच्न बाध्य छन् । युवा जनप्रतिनिधिले मात्रै होइन जुनसुकै वयका जनप्रतिनिधिले पनि जितको दम्भभन्दा जनताले सुम्पेको जिम्मेवारीलाई सर्वोपरि मानेर त्यो जिम्मेवारी निर्वाहमा आफूलाई समर्पित गर्नु आवश्यक छ । निर्वाचनको परिणामपछि विजय जुलुसहरू निस्किए । केही-केही विजय जुलुसमा सहभागी कार्यकर्ताको उन्माद र उत्तेजक नारा अनि विजयी जनप्रतिनिधिको उस्तै उन्मत्त अनुहार, उन्मत्त हेराई र उन्मत्त हाउभाउ हेर्दा त्यो अनुहार, त्यो हेराइ र त्यो हाउभाउले जनतालाई नै गिज्याइरहेको भान हुन्थ्यो ।

त्यो उन्मत्त अनुहारमा जितको उन्माद देखिन्थ्यो । जितको दम्भमात्रै थियो, तर जनताले सुम्पेको जिम्मेवारी आगामी दिनमा कसरी पूरा गर्ने भन्ने चिन्ता र चिन्तनको गाम्भीर्यताको कमी महसुस हुन्थ्यो । हुनुपर्ने चाहिँ विजय र खुशीको उन्मादभन्दा बढी जिम्मेवारीबोधको गाम्भीर्यता नै थियो । मुख्य कुरा, जनप्रतिनिधिहरूले आफूहरू विजयी भएको नभई जनताबाट निर्वाचित भएको हो भन्ने कुरालाई कहिल्यै भुल्नु हुँदैन । जिम्मेवारीबोधले गम्भीर बन्नुपर्ने अनुहारमा जितको दभ्म देखियो भने त्यसलाई खतराको संकेत मान्नुपर्छ । जनताको सेवक बन्नका लागि चुनिएका जनप्रतिनिधिमा शासक बन्ने लालसा देखियो भने जनताको मनमा त्रास उत्पन्न हुनु अस्वाभाविक हुँदैन । जितको दम्भले देखाएको संकेतले देश र जनताको हित गर्दैन भन्ने बुझ्नुपर्छ ।

चुनाव हो । चुनावमा हारजित त भइ नै हाल्छ । चुनावमा सबैको जित हुँदैन र सबैको हार पनि हुँदैन । कसैले हारेकाले कसैले जित्ने हो र कसैले जितेकाले कसैले हार्ने हो । यद्यपि व्यक्तिको हार हुने होइन । हार त प्रवृत्तिको हुने हो । विचारको हुने हो । त्यो प्रवृत्ति र विचारभित्र व्यक्तिको कार्य, कार्यशैली, आचरण र व्यवहार जोडिएको हुन्छ । पार्टीगत हिसाबले भन्नुपर्दा सिद्धान्तको पनि हार र जित हुन्छ । जनताको हित गर्ने सिद्धान्तको सधैं जित हुन्छ । कोरा नारामा सीमित सिद्धान्तको चाहिँ हार हुन्छ । जितमा जितको दम्भ राख्नु र हारमा हारको कुण्ठा पाल्नु व्यर्थ हो । जितको दम्भले व्यक्तिलाई अहंकारी र व्यभिचारी बनाउँछ । हारको कुण्ठाले इष्र्यालु र विद्रोही बनाउँछ । अहंकार, व्यभिचार, इष्र्या र विद्रोह सबै समाजका लागि हानिकारक हुन्छन् । त्यसैले जितको दम्भ र हारको कुण्ठा दुवै त्याज्य हुनुपर्छ ।

चुनाव हार्दैमा निरास हुनुपर्दैन । जनताको सेवा गर्न पदमा हुनैपर्छ भन्ने पनि छैन । पद बाहिर बसेर पनि जनताको सेवा गर्न सकिन्छ । जनताको मत पाउनेले पदमा बसेर जनताको सेवा गर्छन भने जनताको मन पाएकाले पदमा नबसेर पनि जनताको सेवा गर्न सक्छन् । जनताको मत र मन दुवै उत्तिकै महत्वपूर्ण हुन्छन् । जनताको मत जित्नुभन्दा मन जित्नु अझै कठिन काम हो । जनताको मन जित्ने काम गरे मत पाउन अनावश्यक कसरत गर्नै पर्दैन । चुनावका बेला बाहृय कारणले जनताको मत पाउन नसक्नु ठूलो कुरो होइन । बहृ आफ्नै कारणले जनताको मन पाउन सक्नु ठूलो कुरो हो । जनताको सेवा गर्छु भन्नेले कसैले जनताको मत पाएका छन् । कसैले जनताको मन पाएका छन् । यसरी जनताको मत पाउने र मन पाउने दुवैले मिलेर सहकार्य गर्ने हो भने सुखी समाजको निर्माण हुनसक्छ । जनताले सुख र खुशीको अनुभूति गर्न सक्ने छन् ।

हालै सम्पन्न आमनिर्वाचनमा पुराना नेताप्रति जनताको निराशा, वितृष्णा, आक्रोश र विद्रोहले गर्दा नयाँ र युवा उम्मेदवारप्रति जनताको आकर्षण बढेको हो । त्यो आकर्षणभित्र धेरैथरी आशा, अपेक्षा र विश्वास निहित छन् ।

जितको दम्भले विवेकलाई मार्छ र अभिमानलाई जन्माउँछ । त्यो अभिमानका कारण जनमतलाई पनि भुल्नसक्ने सम्भावना हुन्छ । जनताको विश्वासमाथि घात हुनसक्छ । जनमतलाई भूल्यो भने अथवा जनताको विश्वासमाथि घात भयो भने फेरि जनतामा निराशा, वितृष्णा, आक्रोश र विद्रोह जन्मन्छ । जनचाहना र भावनालाई बुझेर काम गर्न सकिएन भने जनताले फेरि विकल्प खोज्नुपर्ने अवस्था आउन सक्छ । हालै सम्पन्न आमनिर्वाचनमा पुराना नेताप्रति जनताको निराशा, वितृष्णा, आक्रोश र विद्रोहले गर्दा नयाँ र युवा उम्मेदवारप्रति जनताको आकर्षण बढेको हो । त्यो आकर्षणभित्र धेरैथरी आशा, अपेक्षा र विश्वास निहित छन् । तिनले पनि जितको दम्भका कारण बढी उन्मादित हुने, हारेका उम्मेदवारलाई होच्याउने र जनचाहना अनुसारका काममा भन्दा आत्मरतिमा बढी रमाएर उसैगरी जनतामा निराशा र वितृष्णा बढाउने काम गरे भने फेरि जनतामा आक्रोश र विद्रोह जाग्नेछ र अर्को पटकको चुनावमा फेरि नयाँ अनुहारको खोजी हुनेछ ।

खेल र चुनावमा हार र जित स्वाभाविक नतिजा हो । चुनाव अथवा खेलको मैदानमा उत्रिसेकपछि जित अथवा हारलाई सहजरूपमा स्वीकार्न सक्नुपर्छ । अब चुनाव जित्नेले देशलाई हराउने काम कहिल्यै नगरून् । चुनाव हार्नेले पनि देश विकास र निर्माणको काममा जित्नेलाई सघाऊन् । जसले जितेको भए पनि त्यो जित जनताको जित होस् र देशको जित होस् । अनि त्यो जित देश र जनताको हितका लागि होस् । संसद्भित्र र संसदबाहिर पनि सबै जनप्रतिनिधिहरू जनादेशलाई शिरोपर गरेर क्रियाशील होऊन् । यही हो आमनेपाली जनताको चाहना र अपेक्षा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?