रंगीन पर्दाका दुःखान्त दृश्य र सम्बन्धित संघ-संस्थाको कार्यभार

Read Time = 18 mins

✍️ रामकाजी घिमिरे

नेपाली सिनेमा जगतको विकासका लागि बेला बेलामा चर्चा परिचर्चा हुने गर्दछ । यो विकासोन्मुख देश वा क्षेत्रको लागि प्रगतिको लक्षण पनि हो । यसै सिलसिलामा नेपाली सिनेमा जगतका विज्ञहरूबीच चिया गफदेखि गोष्ठी सेमिनार आदिको काम भइरहेका हुन्छन्, तर ती त्यति बेलाकै लागि सीमित रहेका कारणले नेपाली सिनेमा क्षत्रको उन्नति प्रगति केवल व्यक्ति विशेषमा भर परेको छ कि भन्ने भान पर्ने गरेको छ । पछिल्लोपटक, नेपाल चलचित्र कलाकार संघले चलचित्र विकास बोर्डको सहकार्यमा वरिष्ठ चलचित्र लेखक, निर्देशक, कलाकार मोहन निरौला र चलचित्र पत्रकार शान्ति प्रियले तयार पारेको ‘नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था’ बारेको अवधारणापत्र प्रस्तुत र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो, यो लेख त्यही कार्यक्रमको पेरिफेरिमा रहेर यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

नेपाली सिनेमाको इतिहासलाई आरम्भको मिति उल्लेख गर्नुपर्‍यो भने विक्रम संवत् २०२२ सालमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘आमा’लाई स्मरण गर्नुपर्ने हुन्छ, योभन्दा अगाडि नेपालमा तत्कालीन अवस्थामा सेलुलाइट सिनेमाको रूपमा लामो लेन्थको निजी वा सरकारी तवरको पहल लगानीबाट सिनेमा निर्माण भएको कुनै रेकर्ड भेटिन्न । तथापि, भारतको कलकत्तामा नेपाली भाषामा ‘राजा हरिशचन्द्र’ नामको सिनेमा निर्माण भइसकेको भने थियो । तर, त्यो भारतमा भारतकै नेपाली मूलका मानिसको लगानीमा भएको हुँदा, जसको नेपालको कुनै निकायमा दर्तासमेत भएको रेकर्ड छैन, यसर्थ नेपाली सिनेमा निर्माणको इतिहासमा नेपाली सिनेमा आमा भनेर दर्ज भएको हो ।

व्यावसायिक रूपमा आम दर्शकले हलमा गएर टिकट काटेर हेर्ने चलचित्रलाई हामी चलचित्रमा काम गर्ने चलचित्रकर्र्मी र आम नागरिकले ठूलो पर्दा वा सेलुलाइट चलचित्रको रूपमा बुझ्ने प्रचलन छ । यही सेलुलाइट चलचित्रमा अभिनय कर्म गर्ने कलाकारहरूको छाता संगठन हो नेपाली चलचित्र कलाकार संघ ।

मूलतः सिनेमा भन्नाले चल्ने चित्र, त्यसमा पनि हामी सिनेमा अथवा चलचित्र कर्म गर्नेहरूले भन्नुपर्दा विभिन्न यथार्थ वा काल्पनिक कथा वस्तु, पटकथा सम्वाद सहितको स्क्रिप्टमा, पात्र अथवा कलाकारले अभिनय गरेको दृश्य क्यामेराले कैद गरी त्यसलाई सम्पादन कक्षमा ल्याएर सम्पादन, स्वरांकन र पाश्र्वध्वनि समेतको समिश्रण गरी तयार पारी सिनेमा हलमा आम नागरिकका लागि प्रदर्शन योग्य रहेको, चल्ने आवाज सहितको फोटो, जो कम्तीमा दुई घण्टा आसपासका चलचित्रलाई बुझ्नुपर्ने हुन्छ ।
यो चलचित्रमा समाजको भावना देशको सामाजिक अवस्थिति, त्यही अवस्थिति झल्काउने क्रममा देशको भौगोलिक दृश्य आदिको दृश्यसँगै त्यसैभित्र प्रेम द्वन्द्व, ईष्र्या इवि र अन्त्यमा सत्यको जित सुनिश्चित भएको अभिनयका नवै रसको प्रष्फुटन भएको मनोरञ्जनात्मक र त्यही मनोरञ्जनसँगै चेतना र धैरे अनि लगनशीलताको सन्देश प्रवाह भएको हुनुपर्छ, अनि मात्र सही चलचित्रको रूप उजागर भएको मान्यता छ ।

यसो त चलचित्र सबै व्यावसायिक काल्पनिक कथावस्तु मात्रबाट बन्नुपर्छ भन्ने हुन्न, अन्य यथार्थ सत्य घटनामा आधारित र ऐतिहासिक कथा वस्तुमा पनि बन्न सक्छन् । आजको युगसम्म आइपुग्दा चलचित्रको लेन्थ अर्थात् समय अवधि दुई घण्टा आसपासकै हुनुपर्छ भन्ने पनि हुन्न, त्यसभन्दा कम वा लामो पनि हुनसक्छ, तर ती सबै चलचित्र डकुमेन्ट्री, सट मुभी आदिको रूपमा चिनिन्छन् र यी चलचित्रहरूको बेग्लै प्रयोजन हुन सक्छ, तर व्यावसायिक रूपमा आम दर्शकले हलमा गएर टिकट काटेर हेर्ने चलचित्रलाई हामी चलचित्रमा काम गर्ने चलचित्रकर्र्मी र आम नागरिकले ठूलो पर्दा वा सेलुलाइट चलचित्रको रूपमा बुझ्ने प्रचलन छ । यही सेलुलाइट चलचित्रमा अभिनय कर्म गर्ने कलाकारहरूको छाता संगठन हो नेपाली चलचित्र कलाकार संघ ।

चलचित्र कलाकार संघको उद्देश्य संघमा विधानअनुरूप प्रक्रिया पूरा गरी आबद्ध भएका सदस्यहरूको हकहितको वकालत गर्नु उनीहरूको जायज मागको लागि सहयोगी बन्नु, राज्य र कलाकारबीच सम्बन्ध कायम गर्नु, कलाकारहरूलाई आवश्यक तालिम गोष्ठी आदिमार्फत सशक्तिकरणको कार्यमा साझेदारी बन्नु, बन्ने अवसरको तर्जुमा गर्नु, बेला बेलामा देशमा आइपर्ने विपतका बेलामा सबै कलाकारलाई समेटेर आम नागरिकको लागि सहयोग सद्भावको काममा सहयोग गर्नुदेखि, विभिन्न सामाजिक गतिविधि समेतमा कलाकारलाई सहभागिता गराई आमनागरिक र कलाकारबीच भाइचारामा टेवा दिनु आदि रहेको हुन्छ, भने कलाकारहरूको हकहितको लागि राज्यसँग पैरवी गर्नु पनि यो संघको प्रमुख उद्देश्यमा पर्दछ ।

नेपाली चलचित्र जगत आज निकै ओरालो गतिमा रहेको अवस्थामा छ, यो गतिले उकालो बाटो पहिल्याउन सकेन भने नेपाली कालाकारको मात्र हैन सम्पूर्ण चलचित्रकर्मीकै पेसा व्यवसाय धरापमा पर्ने पक्का छ । त्यसैले पनि कलाकार मात्रको संगठनले आम चलचित्रकर्मीको समेत समस्या बोकेको हो ।

नेपालमा पछिल्लोपटक चलचित्र निर्माणको लागतमा निकै वृद्धि भएको छ जसले गर्दा चलचित्र निर्माणमा ठूला लगानीकर्ताको आवश्यकता पर्ने हुन्छ र त्यो जो कोहीको सामथ्र्यमा पर्दैन, स्क्रिप्ट त, जो कसैले पनि तयार गर्न सक्लान्, तर लगानीकर्ता नभएको खण्डमा चलचित्र निर्माण हुने कुरा भएन, यदाकदा साना बजेटका चलचित्रहरू निर्माण भएका छन् तर ती चलचित्रले दर्शक रिझाउन सकेका छैनन् । कारण फितलो पस्तुति र प्रचारको अभाव प्रमुख रहेको पाइन्छ । यिनै कारणले चलचित्रमा कार्यरत चलचित्रकर्मी बेरोजगारी हुन पुगेका छन् । उनीहरूले जानेको सीपमा काम पाइँदैन, अरू काम गर्न जानेको हुँदैन र त्यसमा पनि सेलिब्रेटीको रूपमा परिचित भइसकेका कलाकारहरू झनै समस्यामा परेका छन् ।

हिजो ठूला पर्दामा मात्र स्थान जमाएका कलाकारहरू अहिलेको अवस्थामा साना पर्दाको टिभी सिरियल र युटुब अफ्लोड सिरियलहरूमा काम गर्न आनाकानी गर्नुपर्ने बाध्यता छ, कारण हिजोको रवाफ र स्तरमा कमी आउने डर र अति न्यून पारिश्रमिक पनि हो । समाजमा एक किसिमको ख्याति कमाइ परिचितता हासिल गरेका कलाकारहरूलाई काम नहुँदा निकै समस्याहरू आइलाग्ने हुन्छ, सामान्य होटल सार्वजनिक यातायातमा खान र यात्रा गर्न बाटोमा हिँड्डुल गर्न गाह्रोे हुन्छ, काम हुँदा र नहुँदाको अवस्थामा परिवारको रहन सहनमा पनि समस्या आइलाग्छ, यी विविध कारणले कलाकार सबैभन्दा बढी मारमा परेका हुन्छन् यसको लेखाजोखा गर्ने र मर्म बुझ्ने भनेको नेपाल चलचित्र कलाकार संघ नै हो ।

कलाकारभैmँ अर्को मारमा पर्ने चलचित्र निर्देशक विधाका सर्जकहरू हुन्, यसमा चलचित्र निर्देशक, द्वन्द्व निर्देशक, नृत्य निर्देशक र यसका सहायक निर्देशकहरू समेत पर्ने गर्छन्, यिनीहरू पनि कलाकारझैँ अन्य पेसामा फर्कन सक्दैनन्, कारण यिनीहरू सेलिब्रेटीकै दोस्रो स्थानमा रहेका हुन्छन् । यिनीहरू चलचित्र सर्जक हुन्, यसैले पनि यिनीहरूमा अलिकति अहमता हुनु स्वाभाविकै हुन्छ, त्यसर्थ यिनीहरू अन्य कर्ममा लाग्नु आफ्नो स्तरीयतामा आँच आउनु हो भन्ने सोचले ग्रसित हुन्छन् । यो गलत पनि होइन, किनकि जोसँग कला प्रतिभा, क्षमता हुन्छ ऊ अलिकति नै सही अहमी नै हुन्छ । त्यसैले नेपाली चलचित्रको विकासमा कमी आएको अवस्थामा यी निर्देशकहरू मारमा परेका हुन्छन् र यिनीहरूको दुःख पीडा मर्का यिनीहरू स्वयमले आफूभित्रै दबाएर पिल्सिएर बस्नुपर्ने भएको हुन्छ र छ ।

नेपालमा २०४६ सालको परिवर्तनपछि सिनेमा निर्माणको क्रमले उत्साहजनक फड्को मारेको हो, २०४६ सालदेखि २०७७ सालको अन्त्यसम्म आइपुग्दा वर्षमा सरदर १०० को हाराहारीमा ठूला पर्दाका चलचित्रहरू निर्माण र प्रदर्शन भएको हो तर २०७७ को अन्त्यबाटै विश्वमै महामारीको रूप लिएको कोभिडको कारणले सिनेमाको निर्माण र व्यवसाय धरापमा पर्न गयो, यो नेपाल र नेपालीलाई मात्र परेको समस्या थिएन । यो त संसारैभर परेको समस्या थियो । यो कोरोनाको समस्या हालका मितिमा आइपुग्दा अन्यथा नभएको खण्डमा सामान्य भइसकेको छ, अब फेरि अन्य व्यवसायझै हाम्रो चलचित्र व्यवसाय पनि सुचारु हुने क्रममा छ ।

हामी नेपाली सिनेमा मेकरहरूसँग एउटा चुनौती सदा रहेको छ । त्यो हो हाम्रो चलचित्र क्षत्रको प्रतिस्पर्धा हाम्रै छिमेकी देश भारतको चलचित्र । हाम्रो नेपाली चलचित्र पनि भारतीय चलचित्रकै दाँजोमा हुनुपर्ने हामीसँग टड्कारो चुनौती छ । किनकि दर्शकले पैसा तिरेर हेर्ने हुँदा र भारतीय भाषा पनि आम नेपालीले सजिलै बुझ्ने भएको हुँदा, भारतको सय दुई सय चार सय करोड लगानीको सिनेमा र हाम्रो नेपाली एक डेड र दुई तीन करोड सम्मको लगानीमा बनेको चलचित्रको स्तरीयता समान हुने कुरा भएन, तर पनि हाम्रो एक डेड करोडमा बनेका नेपाली चलचित्रले भारतीय चलचित्रकै सोसरह स्तरीयता दिन खोजेको केही सफल निर्देशकहरूले निर्माण गरेको चलचित्रको व्यवसाय र दर्शकको उत्साहबाट थाहा पाउन सकिन्छ ।

यो सफलता बेलाबेला यसकारण झल्कने गर्दछ कि सिने चाखलाग्दो र ढंग पुर्‍याएर बनेका अनि पर्याप्त मात्रामा प्रचारप्रसार गरेकोले चलेको हो भन्ने प्रष्ट छ । नेपाली निर्माणको संख्यामा निकै कम चलचित्र चल्नु बाँकी सबै फ्लप खानुका कारणहरू धेरै छन् जसमा दक्ष र अनुभवी निर्देशक, पर्याप्त पचारप्रसार नहुनु, सिनेमाको कथा दर्शकको रोजाइ अनुरूपको नबुन्नु, पटकथा राम्रो र नियम संगत नहुनु, पात्र चयनमा मेल नखानु, कथा बमोजिमको लोकेसन नदेखिनु, एउटै दृश्य लामो र पट्यारलाग्दो हुनु, सीमित सामाजिक घेरामा पूरै चलचित्रलाई जबरजस्ती खुम्च्याएर राख्नु, आदि कारणहरू रहेको पाइन्छ ।

नेपाली सिनेमाको विकासलाई अगाडि बढाउने हो भने सिनेमा क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरूको व्यवस्थापन अत्यन्त जरुरी हुन्छ, किनकि यिनै संस्थाहरूले हो कलाकार प्राविधिक निर्देशक आदिको क्षमता जाँच्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने ।

सिनेमा धेरैको संख्यामा बन्दैमा सिनेमा क्षेत्रको विकास हुनु र थोरैको संख्यामा बन्दैमा सिनेमा क्षेत्रको विकासमा कमी आएको ठम्याउनु गलत हुन्छ, यसो त सिनेका धेरैको संख्यामा बनिरहँदा सिनेमा क्षेत्रमा काम गर्न प्राविधिक र कलाकारहरूले काम पाएको मानिन्छ । तर, गुणस्तरीय चलचित्र नबन्दा भोलि नेपाली सिनेमा जगत नै कमजोर हँुदै जाने सम्भावना रहन्छ । यसर्थ नेपाली सिनेमाको विकासलाई अगाडि बढाउने हो भने सिनेमा क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरूको व्यवस्थापन अत्यन्त जरुरी हुन्छ, किनकि यिनै संस्थाहरूले हो कलाकार प्राविधिक निर्देशक आदिको क्षमता जाँच्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने ।

संघहरूले नै हो सिनेमा जगतको उन्नति प्रगतिका लागि सरकारसँग समन्वय र सहकार्य गरी सिनेमा निर्माण र प्रदर्शनका लागि सहजताको पाटो पहिल्याउने, जबसम्म सिनेमा क्षेत्रका संघ-संस्थाहरू सबल र सक्षम हुँदैनन् तबसम्म सिनेमा क्षेत्रको विकासले गति लिन सक्दैन, एकाध सिनेमा व्यावसायिक रूपमा सफल हुँदैमा, समग्र नेपाली सिनेमा क्षेत्रको विकास भयो वा हुँदै छ भन्नु ठूलो भूल हुन सक्छ सिनेमा राम्रो बन्नका लागि सिनेमा मेकरमा दक्षता अनिवार्य छ, न कि हठी र हचुवाको भरमा ।

आशा गरौँ अबका दिनमा हाम्रा सिनेमा सम्बद्ध संघ-संस्थाका अध्यक्ष र अन्य पदाधिकारीहरू राजनीतिक पार्टीहरूका झोले नबनी सिनेमा जगतलाई नै आफ्नो कर्म र धर्मको क्षेत्र ठानी तन, मन र धनले निःस्वार्थ भई काम गर्नेछन् र सिनेमाका स्रष्टाहरू सबै एकै मञ्चमा रहेर क्षमता र दक्षताकै आधारमा काम गर्नेछन्, त्यति भएको खण्डमा नेपाली सिनेमाको भविष्य राम्रो हुने आधार पहिलिने छ । होइन भने वर्षमा सयौँको संख्यामा सिनेमा बन्ने तर एकाध सिनेमा मात्र राम्रा र व्यावसायिक रूपमा सफलता हासिल गरेको हेर्ने अनि त्यसको दोष सरकारलाई थोपर्ने वश यस्तैमा रम्दै रमाउँदै जानु त छँदै नै छ ।
(घिमिरे चलचित्र निर्देशक तथा चरित्र अभिनेता हुनुहुन्छ । )

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?