नेपाली चलचित्रको विगत, आजको यथार्थ, यसको स्तरोन्नति र व्यावसायिक पाटो

Read Time = 12 mins

✍️ गीता अधिकारी

नेपाली चलचित्र उद्योगले पाँच दशकभन्दा बढीको यात्रा गरिसक्दा चलचित्रभित्रका खोला-नाला र भंगालाहरू अनेकन् छन् । नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन २०२२ सालको असोजमा ‘आमा’ चलचित्रबाट आजसम्म आउँदा अझै पनि व्यावसायिक बन्न नसकेको हो कि भन्ने यदाकदा सुन्ने गरिन्छ । सरकारी लगानीमा निर्मित चलचित्र ‘आमा’ निर्माण हुनुअगावै २०१८ सालमा निजी लगानीमा निर्माण थालिएको चलचित्र ‘माइतीघर’ भने ‘आमा’ भन्दा पछाडि मात्र सार्वजनिक भयो । नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा निर्मित ‘सत्य हरिश्चन्द्र’ लाई मानिन्छ, जुन नेपालीमा पनि डबिङ गरेर सार्वजनिक गरिएको थियो ।

‘आमा’ देखि अहिलेसम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतारचढावहरू आएको पाइन्छ । त्यसो त हामीकहाँ विभिन्न भिडियो चलचित्रदेखि लिएर विभिन्न भाषाभाषीका चलचित्रहरूले पनि त्यत्तिकै महत्व राख्दछन् । तथापि, मूलधारको आफ्नै प्रकारको महत्व रहेको छ । नेपाली चलचित्र ब्ल्याक एण्ड हृवाइटदेखि आजको डिजिटल युगसम्म आइपुग्दा विभिन्न कलाकार तथा प्राविधिकहरूले आफ्नो जीवन व्यतित गरिसकेका छन् । यो क्षेत्र धेरैको रहर भए पनि अहिले पेशा, व्यवसाय वा आजीविकाको माध्यम बनेको छ । अहिले पढेलेखेका, साक्षर वा बौद्धिक वर्गले पनि यो क्षेत्रलाई अँगालेका छन् । हिजोआज नवोदितहरूको चर्चा–परिचर्चा र बर्चस्व देखिन थालेको छ ।

हाम्रो चलचित्र उद्योगको पाँच दशकभन्दा बढीको यात्रासम्म आइपुग्दा चलचित्रको निर्माणक्रम तीव्र भए पनि यसको व्यवसाय भने कछुवा गतिमा नै रहेको छ । हाम्रो चलचित्रको बजार सानो छ भन्ने गरिन्छ तर चलचित्र निर्माणक्रम भने तीव्र नै छ ।

यो समयको मागमात्र होइन, साथ पनि हो । नवकलाकारको सघन उपस्थिति सिर्जनाले वर्तमान नेपाली चलचित्रको उत्ताप, उचाइ उदात्त छ । नेपाली चलचित्रको आकाश जति फराकिलो हुँदैछ यसमा हमला पनि त्यत्तिकै भएको छ । विभिन्न क्षेत्रको नक्कल भिœयाउन पनि उदात्त देखिएको पाइन्छ । मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता पनि प्रकट गरेको पाइन्छ भने पछिल्लो समयमा चलचित्र चलाउनकै लागि अश्लीलता भित्रिएको पनि पाइन्छ ।

हाम्रो चलचित्र उद्योगको पाँच दशकभन्दा बढीको यात्रासम्म आइपुग्दा चलचित्रको निर्माणक्रम तीव्र भए पनि यसको व्यवसाय भने कछुवा गतिमा नै रहेको छ । हाम्रो चलचित्रको बजार सानो छ भन्ने गरिन्छ तर चलचित्र निर्माणक्रम भने तीव्र नै छ । वर्षको सयौंको संख्यामा चलचित्र निर्माण भए पनि थोरैमात्र चलचित्र लगानी उठाउन सफल हुने गर्दछन् । कोरोना संक्रमणकालमा केही कम चलचित्र निर्माण भए पनि अहिले फेरि राम्रै चलचित्र निर्माण भइरहेका छन् । चलचित्र बन्नेक्रम हरेक वर्ष बढ्दै गए पनि, चलचित्र उद्योगमा करोडौं लगानी भए पनि, चलचित्रले लगानी नउठाए पनि, चलचित्र बन्ने क्रममा भने कुनै कमी आएको छैन ।

नेपाली चलचित्रको लगातार असफलताले व्यावसायिकरूपमा यस क्षेत्रलाई निराश पारे पनि निर्माणमा कमी आएको छैन । कोरोना संक्रमणकालअघि हरेक हप्ता कम्तीमा दुई-तीनवटा चलचित्रहरू हलमा लागेकै थिए अहिले पनि फेरि लगातार चलचित्र प्रदर्शनमा आइरहेका छन् । नेपाली चलचित्र नचल्नुमा उत्कृष्ट कथावस्तु, योग्य प्रविधि र प्राविधिक नहुँदा चलचित्र धराशायी बनिरहेको भनिए पनि राम्रा भनिएकाहरूले पनि लगानीसम्म उठाउन नसकेका धेरै उदाहरणहरू छन् । नेपाली चलचित्रको स्तरवृद्धि हुन नसक्नु नै वर्तमान नेपाली चलचित्रले भोग्नुपरेको तितो यथार्थ हो भन्छन् यस क्षेत्रका विज्ञ, विश्लेषक र यससँग नजिक रहेर नियालिरहने सरोकारवालाहरू ।

नयाँ स्वादसँगै दर्शकसँग प्रस्तुत भएका केही चलचित्रले सफलता हात पार्न सके पनि अधिकांश चलचित्रहरूको लगानी बालुवामा पानी नै भएको छ । राम्रा चलचित्रलाई दशर्कले साथ दिन्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ चलचित्र ‘महापुरुष’ । यस्तै नेपाली चलचित्रको इतिहासमा केही फड्को मारेको छ र यसको बजार पनि नेपालबाहिर खोज्न थालिएको छ । चलचित्र ‘प्रेम गीत–३’ ले यसको राम्रो सुरुवात गरेको छ । पहिलोपल्ट नेपाली चलचित्र नेपालबाहिर बलिउडदेखि विदेशका धेरै ठाउँमा एकसाथ प्रदर्शन भयो । यसले व्यापार पनि राम्रो गर्न सफल भयो ।

यसलाई नेपाली चलचित्रको कोशेढुंगाका रूपमा पनि लिइएको छ । यसले के देखाउँछ भने राम्रा बनेका चलचित्रलाई दर्शकले साथ दिने गर्दछन् । सयभन्दा बढीको संख्यामा चलचित्रहरू बने पनि मुस्किलले दश प्रतिशतले मात्र सफलता हात पार्ने अवस्था एकातिर छ भने अर्कोतिर नेपालमा थुप्रै भारतीय चलचित्रले सफल व्यापार गर्नुले नेपाली चलचित्रमा दक्षता र व्यावसायिकता वृद्धि नभएको पनि प्रष्ट हुन्छ । नेपाली चलचित्रहरू पछिल्लो समयमा आएका केही नयाँपनका साथ अगाडि बढेको दाबी यससँग सम्बन्धित पक्षको रहेको छ ।

जबसम्म नेपाली चलचित्र उद्योग व्यावसायिक बन्दैन अनि रहर र पैसाकै भरमा आएका कलाकारहरू फिल्टर भएर असली कलाकारमात्र चलचित्र उद्योगमा जबसम्म रहँदैन नेपाली चलचित्र उद्योगको उन्नति असम्भव नै छ भन्नुहुन्छ चलचित्र निर्देशक तथा लेखक एवं विशिष्ट कलाकार मोहन निरौला । बाहिरको डब्बामात्र राम्रो अनि भित्री सामग्री भने दुई पैसाको अनि कसरी उँभो लाग्छ त नेपाली चलचित्र उद्योग ।

नेपाली चलचित्रको विकासका लागि चलचित्र विकास बोर्ड र अन्य सरोकारवाला निकायलाई अधिकारसम्पन्न बनाउनुपर्ने देखिन्छ जुन वर्तमानको आवश्यकता हो यदि नेपाली चलचित्रलाई व्यावसायिक बनाउने हो भने । जबसम्म ‘मुर्गा’ कै खोजीमा हाम्रो चलचित्र उद्योग रहन्छ तबसम्म यो व्यावसायिक हुन सक्दैन ।

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि समयानुकूल चलचित्र नीतिको आवश्यकता रहेको भन्दै सरोकारवालाहरूले विभिन्न समयमा कुराहरू उठाए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर नै देखिन्छ । मुलुकको पहिचानसँग जोडिएको क्षेत्रलाई विकसित, भरपर्दो र मर्यादित बनाउनुपर्नेमा विभिन्न सेमिनार, गोष्ठीहरूमा जोड दिए पनि ती सबै गोष्ठीहरूमा नै सीमित हुन पुगेका छन् । हरेकपल्टका सूचना तथा सञ्चारमन्त्रीहरूले विभिन्न आश्वासनहरू दिए पनि, प्रतिबद्धता गरे पनि व्यावहारिक धरातलमा विस्तृत छलफल र कार्यान्वयनको सधैँ पर्खाइमै रहृयो नेपाली चलचित्र उद्योग ।

चलचित्र क्षेत्र आर्थिक समृद्धि र अर्थतन्त्रसँग जोडिएको भए पनि धेरैको रोजगारीको प्रवद्र्धन यस क्षेत्रले गरे पनि यो क्षेत्रले किन व्यावसायिक सफलता पाउन सकेन, आजको टड्कारो विषय हो यो । चलचित्र क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न यसको भावी पुस्तालाई सबल र सक्षम बनाउन ठोस कार्ययोजनाहरूको पर्खाइमा छ यो उद्योग । नेपाली चलचित्रको विकासका लागि चलचित्र विकास बोर्ड र अन्य सरोकारवाला निकायलाई अधिकारसम्पन्न बनाउनुपर्ने देखिन्छ जुन वर्तमानको आवश्यकता हो यदि नेपाली चलचित्रलाई व्यावसायिक बनाउने हो भने । जबसम्म ‘मुर्गा’ कै खोजीमा हाम्रो चलचित्र उद्योग रहन्छ तबसम्म यो व्यावसायिक हुन सक्दैन ।

अनि जबसम्म हाम्रा चलचित्र जुधाइन्छ तबसम्म यो उद्योग व्यावसायिक हुन सक्दैन । दर्शकलाई त छानीछानी चलचित्र हामी देखाउँला तर थोरै दर्शक भएको हाम्रो जस्तो ठाउँमा आखिर तिनै दर्शकहरू बाँडिने त हो । यस्तो कार्यलार्ई निर्माताहरूले जबसम्म बुझदैनन् तबसम्म चलचित्रको लगानी बालुवामा पानी नै हो । फेरि जबसम्म रहरले यो क्षेत्रमा आउनेहरूको संख्यामा कमी आउँदैन तबसम्म यो क्षेत्र व्यावसायिक हुन सक्दैन । त्यस्तै चलचित्र भिडाउने र तीस, चालीस लाखमा निर्मित चलचित्र र करोडौंमा निर्मित चलचित्रलाई जबसम्म एउटै टोकरीमा राखेर हेरिन्छ तबसम्म नेपाली चलचित्रको स्तरोन्नति सम्भव छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?