घोषणा सार्थक बनून्

नेपालको राजनीति एकाएक फरक बाटोतर्फ मोडिन पुगेको छ । जनताले देखेको अर्कै सोझो बाटो थियो । राष्ट्रपतिले सरकार बनाउन तोकेको दिनको आधाआधिसम्म सबैले ठूलो पार्टीको हैसियतले नेपाली कांग्रेसले नै प्रधानमन्त्री पाउला र सत्ता गठबन्धनका सबै पार्टीहरू एकै ठाउँमा रहेर नयाँ सरकार बनाउलान् भन्ने थियो । तर, अन्तिमको केही समयमा निर्मित समीकरणले अर्कै बाटो समात्यो । सत्ता समीकरणमात्र भत्किएन प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसलाई हेरेको हेर्‍यै बनाएर ३२ सिट जितेको पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो, यसका लागि अन्य सबै पार्टी एक ठाउँमा उभिन पुगे ।

यसो हुँदा प्रमुख प्रतिपक्षीमा पुगेको नेकपा एमाले पनि सरकारमा जान पाउने भयो र अन्य साना पार्टीसमेत सरकारमा जन पाउने भए । सबैभन्दा ठूलो पार्टीलाई नै अधिकारविहीन बनाउन पाइनेगरी विशेषतः एमाले र माओवादी पार्टीले भूमिका खेले । अब नयाँ बनेको समीकरण २०७४ सालमा बनेको समीकरण जसरी नभत्किने हो भने नेपाली कांग्रेस पाँच वर्षका लागि प्रमुख प्रतिपक्षी पार्टी भएर रहनुपर्ने भयो । एक प्रकारले यो अनपेक्षित राजनीतिक समीकरणका रूपमा देखिन आयो भने अर्कातिर नेपाली कांग्रेसको अरूप्रतिको बढी विश्वास तोडिएका रूपमा यसलाई हेर्नुपर्ने भयो ।

सरकार बन्ने समीकरण बन्नुभन्दा अघिल्लो दिनसम्म पुष्पकमल दाहाल हाम्रो सत्तारुढ गठबन्धन केही गरे पनि भत्किने छैन र सबै काम सहमतिमा हुनेछन् भन्दै हुनुहुन्थ्यो । त्यतिमात्र होइन एमालेका अध्यक्ष केपी शर्मा ओलीले जे जस्ता आश्वासन दिएर आफूलाई आकर्षित गर्न चाहे पनि आफू उहाँका प्रलोभनमा नपर्ने विश्वास सार्वजनिक सञ्चारमाध्यमबाटै दिइरहनुभएको थियो । तर, छिनभरमै अर्कै प्रकारको समीकरण भयो । माओवादी र एमाले दुवैले सरकारको प्रतिनिधित्व भए, अन्य साना दललाई पनि आफ्नो रणनीतिभित्र समेट्न सफल भए । उहाँहरूले सरकार बनाउनुभयो ।

माओवादी केन्द्रबाट अध्यक्ष एमालेका विष्णु पौडेल पनि उपप्रधानमन्त्री बन्नुभयो । स्वतन्त्र पार्टीका अध्यक्षलाई उपप्रधानसहित गृहमन्त्री बनाइयो । राजनीतिमा अरूभन्दा आफू अगाडि जान खोज्नु स्वाभाविकै हो । यसलाई अन्यथा मान्नुपर्ने कारण छैन । तर केही अनपेक्षित समीकरण भएकै हो । माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले नेपाली पोशाक दौरासुरुवाल लगाउँदा उहाँलाई त्यस्ता लुगा नलगाउन निरुत्साहित गर्ने पार्टीका अध्यक्ष आफैँले यसपटक नेपाली राष्ट्रिय पोशाक लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभयो । यसलाई पनि एउटा आश्चर्यका रूपमा नेपाली जनताले हेरेका छन् । सरकार बनाउनेबित्तिकै राहदानी र चालक अनुमतिपत्र लिनका लागि लाइन लाग्नु नपर्ने व्यवस्था मिलाउने प्रण गर्नुभएको छ ।

वर्षौंदेखिका यस्ता ठाउँमा जनताले पाइरहेको सास्ती हटाउन सकेमात्र पनि जनतालाई केही राहत महसुस हुने कुरा निर्विवाद छ । तत्तत् ठाउँमा बेथिति रहेको भन्ने जानकारी उहाँहरूलाई नभएको होइन रहेछ । त्यसैले आफूले शपथ ग्रहण गर्नासाथ त्यस्ता बेथितिहरू हटाउँछौँ भन्नुभएको हो । यस्ता अरू ठाउँ पनि होलान् ती-ती ठाउँको पहिचान गरी ती ठाउँमा रहेका बेथिति हटाउनेतर्फ नयाँ सरकार लागोस् । सर्वत्र कुख्याति कमाएको निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानविन गरी निष्कर्ष निकाल्न सरकार असफल बनेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नासाथ निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्छु भन्नुभएको छ ।

यस कार्यका लागि उहाँलाई कतैबाट दुरुत्साहन गरिएन भने यस काण्डको छानविन होला भन्ने कुरामा आशावादी बन्न सकिन्छ । तर, नेपाली उखान ‘नौली बुहारीको नौ पुला घाँस, रहँदा बस्ता जगटाको नास’ भनेजस्तो प्रधानमन्त्री मन्त्री भएका दिन विभिन्न घोषणा गर्ने र पछि तिनमा बेवास्ता गर्ने हो भने पूर्ववर्ती सरकार र नयाँ सरकारबीच कुनै अन्तर जनताले पाउने छैनन् । सरकार कसको बन्यो भन्ने जनताको चासो होइन सरकारले जनताका लागि के कस्ता काम ग¥यो भन्ने चाहिँ जनताको चासो हो । त्यसैले जे जसरी यो सरकार बनेको छ त्यसरी नै राम्रा काम गरेर सरकारले देखाउन सकोस्, नेपाली जनताको सरोकार यही हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?