राप्रपाले विविध कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने

अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा समिति

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विविध कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ । २७ पुसमा पर्ने ३०१औँ पृथ्वीजयन्ती विविध कार्यक्रम गरी मनाउने राप्रपाले निर्णय गरेको हो । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले गठन गरेको पृथ्वीजयन्ती तयारी समितिको बैठक सोमबार बसेको हो ।

बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराउनुभयो । राप्रपाले पृथ्वी जयन्ती समारोहका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ ।

नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रूपमा मनाउँदै आएको छ । उक्त दिन सार्वजनिक बिदा दिनसमेत सो पार्टीले सरकारसँग निरन्तर माग गरिरहेको छ ।

हरेक वर्ष जस्तै यसपालि पनि पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसको बहस भइरहेको छ । सरकारलाई एकता दिवसमा सार्वजनिक बिदा दिन अघिल्ला वर्षहरूभन्दा यसपालि बढी दबाब पर्ने देखिँदैछ । किनकि सात दलीय सत्ता गठबन्धनकै एउटा घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले यो विषयलाई सरकारमा सहभागी हुन आफ्नो मुख्य सर्तका रूपमा प्रस्तुत गरिरहेको छ । पृथ्वीनारायण शाह नेपाल राज्यको पहिचान दिने र राष्ट्र निर्माता भएकाले उहाँको सम्मान गर्न राज्यले कुनै कञ्जुस्याइँ गर्न नहुने राप्रपाले बताउँदै आएको छ ।

सरकारी पक्षबाट लगातार उपेक्षामा परे पनि नागरिकस्तरबाट भने हरेक वर्ष पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइँदै आएको छ । नेपाली सेनाले हरेक वर्ष पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?