पुस्तक : ‘सुनेको चीन : देखेपछि’ डा.भट्टराईको नियात्रा कृति

✍️ सुशीला घिमिरे

अहिले मेरा हातमा वरिष्ठ साहित्यकार डा.तुलसी भट्टराईको नियात्रा कृति ‘सुनेको चीन : देखेपछि’ शीर्षकको कृति छ । कृति हेर्दै आकर्षक छ । ओरियन्टल पब्लिकेसनले प्रकाशन गरेको यो कृति २०७८ साल चैतमा प्रकाशित भएको छ र यो यस पुस्तकको पहिलो संस्करण हो । यो चीन भ्रमणका सन्दर्भमा लेखिएको कृति हो अर्थात् यो पुस्तक नियात्रात्मक कृति हो ।

नियात्रा लेखनको परम्परा नेपालीमा निकै पुरानो छ । जंगबहादुर राणाको बेलायत यात्राका बारेमा पनि लेखिएको छ तर पछि यसलाई आधुनिक रूपमा विकास गर्ने र यात्रा निबन्धलाई ‘नियात्रा’ नामकरण गर्ने काम डा.तारानाथ शर्माबाट भएको थियो । त्यसयता अनगिन्ति नियात्रा कृतिहरू लेखिसकिएका छन् । तिनैमध्ये डा.भट्टराईको यो पुस्तक पनि एक हो । यसको सर्वाधिकार लेखक डा.भट्टराईमै रहेको छ । पुस्तक डिएमआई साइजमा छ र यसमा तौलयुक्त पहेंलो कागज प्रयोग भएको छ । पुस्तकको छपाइ स्तरीय छ र यसमा अशुद्धिहरू कमै मात्र भेटिन्छन् ।

भूमिका खण्ड र तस्वीर खण्डसहित पुस्तक १६० पृष्ठमा रहेको छ र यसको मूल्य २५० रुपैयाँ रहेको छ । यस पुस्तकको लेआउट र आवरण दीपेन्द्र तिमल्सिनाले तयार गर्नुभएको छ । आवरणमा चीनको संसारप्रसिद्ध विशाल पर्खाल अथवा ग्रेट वाल, प्यागोडा, स्तुपलगायत रहेका छन् । आवरण आकर्षक छ । माथि ग्रेटवाल र स्तुप, वन बीचमा बाटो र उद्यानलगायत दृश्यहरू रहेका छन् । माथि नीला ठूला अक्षरमा पुस्तकको शीर्षक ‘सुनेको चीन : देखेपछि’ र तल लेखकको नाम ‘डा.तुलसी भट्टराई’ लेखिएको छ ।

चीनको संस्कृति, नेपालसँगको सम्बन्ध, चीनको ऐतिहासिकता, पुरातत्व, धर्म, सामाजिक व्यवहारलगायत विविध कुरा यस पुस्तकको अध्ययनबाट थाहा पाउँन सकिन्छ । यो पुस्तक चीनबारे जन्न र बुझ्न चाहनेहरूका लागि अत्यत्यै उपयोगी हुनसक्छ । यो यात्रासाहित्य हो, यसबाट पाठकहरूले दोहोरो फाइदा लिने सक्नेछन् ।

पृष्ठ आवरणमा पनि चीनकै विभिन्न सुन्दर दृश्यसहित लेखक डा.भट्टराईको फोटो राखिएको छ । यही पृष्ठको तल प्रकाशन संस्था ओरियनटल पब्लिकेसनको लोगोसहित नाम र बारकोड अनि पुस्तकको मूल्य दिइएको छ । पुस्तकको भूमिका खण्डमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको ‘चीनलाई चिनाउने चस्मदिद् विवरणका प्रस्तोता : डा.तुलसी भट्टराई’ र यस पुस्तकका लेखक डा.तुलसी भट्टराईको ‘केही भन्नै पर्दा’ रहेका छन् । त्यसपछि विषयसूची दिइएको छ । यस पुस्तकमा चीन भ्रमण सन्दर्भका १७ वटा मूल शीर्षक छन् र तीमध्ये केही लेखमा विभिन्न उपशीर्षकसमेत रहेका छन् । पाठ नं.२, ५, ७, ८, ९, १०, ११, १३ र १७ का शीर्षकअन्तर्गत उपशीर्षक दिइएका छन् । लेखकको शीर्षक चयन आकर्षक र छोटाछोटा शीर्षक चयन भएका छन् । दुई शब्ददेखि ६ शब्दसम्मका शीर्षक यस पुस्तकमा छन् ।

दुई पृष्ठदेखि २० पृष्ठसम्मका नियात्रात्मक लेखहरू यस पुस्तकमा रहेका छन् । लामा लेखहरूमा विभिन्न उपशीर्षकहरू राखिनाले पुस्तक पढ्दा झन्झिटिलो लाग्दैन । कुतुहलपूर्ण लेखन, सुललित भाषा अति छोटो प्रस्तुतिले गर्दा पुस्तक पठनीय बन्नपुगेको छ । पुस्तकको भूमिका खण्ड र पाठ्यखण्डपछि २४ वटा पृष्ठमा एक पृष्ठमा दईवटाका दरले जम्मा ४८ वटा तस्वीर राखिएका छन् । चीन भ्रमण सन्दर्भका यस्ता तस्वीरहरू श्यामश्वेत छन् । यी तस्वीरहरूले पनि पाठ्य सामग्रीले जसरी नै चीनबारे जान्न र बुझ्न सहयोग गरेका छन् ।

नेपालचीन सम्बन्ध प्राचीन कालदेखिकै हो । चीन हाम्रो छिमेकी देश भएका कारणले यस देशसँगको हाम्रो सम्बन्धले निरन्तरता पाइरहेको छ । पछिल्लो समयमा आर्थिक उन्नति गरेर विश्वमा अग्रपंक्तिको राष्ट्रका रूपमा आफ्नो पहिचान बनाउन सफल देश चीन हाम्रो मित्रराष्ट्र पनि हो । पृथ्वीनारयण शाहले नेपाल दुई ढुंगाबीचको तरुल हो भनेदेखि नै हामीले चीनसँग त्यहीअनुसारको कूटनीतिक सम्बन्ध राख्दै आएका छौँ । सानो र आर्थिक रूपमा विपन्न मुलुक नेपालले चीनसँग कतिपय कुरामा सहयोगसमेत पाउँदै आएको छ । कतिपय अवस्थामा चीनलाई तिलस्मी मानिएको छ भने यस देशसँग जोडिएका अनेकौं किंबदन्तीसमेत हामीले सुन्दै आएका छौँ ।

ग्रेटवाल चीनको एउटा विश्प्रससिद्ध आश्चर्यमा पर्छ र यसलाई चीनले पर्यटकीय स्थान वा साधनका रूपमा विकास गरेर आय आर्जन पनि गर्दैआएको छ । खुलापन र आधुनिकता अँगालेका कारण चीनले हालका दिनहरूमा समृद्धि हासिल गर्दै आएको छ । लेखक डा.भट्टराईले यस्तो विशाल र समृद्ध चीनको भ्रमणको मौका पाउनुभएको हो । कतिपयको भ्रमण भ्रमणमै सीमित रहन्छ तर लेखक साहित्यकारले त्यसलाई लेखेर वा कुनै न कुनै रूपमा सबैसामु पु¥याउने गरेका छन् । त्यही लहरमा उभिन पग्नुभएको छ डा.भट्टराई ।

त्यहाँको संस्कृति, नेपालसँगको सम्बन्ध, चीनको ऐतिहासिकता, पुरातत्व, धर्म, सामाजिक व्यवहारलगायत विविध कुरा यस पुस्तकको अध्ययनबाट थाहा पाउन सकिन्छ । यो पुस्तक चीनबारे जन्न र बुझ्न चाहनेहरूका लागि अत्यत्यै उपयोगी हुनसक्छ । यो साहित्य पनि हो र यात्रासाहित्य, यसबाट दोहोरो फाइदा लिन पाठकहरूले सक्नेछन् । त्यसैले यो पुस्तक पठनीय र संग्रहणीय पनि छ । पुस्तकका लागि यसका लेखक डा.तुलसी भट्टराईलाई धन्यवाद तथा बधाई । उहाँबाट यस प्रकारका अन्यान्य पुस्तक लेखन तथा प्रकाशनको अपेक्षा गर्नु अन्यथा हुनेछैन । यसका लागि उहाँलाई अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?