सुदूरपश्चिममा दोस्रो दिन पनि हुन सकेन सभामुख चयन

कम्तीमा तीन मन्त्रालय र उपसभामुखमा नाउपाको अडान

हिमालय टाइम्स
Read Time = 3 mins

यज्ञराज जोशी/हिटा
धनगढी । अघिल्लो दिन बहुमत नपुगेका कारण प्रदेशसभा सभामुख चयन हुन नसकेको सुदूरपश्चिममा शुक्रबार पनि चयनको प्रक्रिया अघि बढ्न सकेन । शुक्रबार बिहान ११ बजे सभामुख चयनका लागि प्रदेशसभा बैठक डाकिए पनि बैठक नै बस्न सकेन । बोलाएको समयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदहरू अनुपस्थित भएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको हो । प्रदेश सरकार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा र राप्रपाका मिलेर बनेको छ ।

सहमतिअनुसार एमालेका राजेन्द्रसिंह रावल २९ सदस्यको समर्थनसहित मुख्यमन्त्री बनिसक्नु भएको छ । माओवादी केन्द्रले सभामुख पाउने सहमतिअनुसार भीमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।

बिहीबारलाई तय भएको सभामुखको निर्वाचनमा भण्डारीले दुई सांसद अनुपस्थित र एक मत बदर भएका कारण बहुमत पाउन सक्नुभएन । अनुपस्थित सांसदमध्ये एक नाउपाकै लक्ष्मण किशोर चौधरी हुनुहुन्थ्यो ।

बिहीबार भएको मतदानमा सत्तारूढ गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारीले २६ र कांग्रेसका मानबहादुर रावलले २३ मत पाउनुभएको थियो । ५३ सदस्यीय प्रदेशसभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ ।

बिहीबार भने सुरुमा आफ्ना मागहरूमा लिखित सहमति हुनुपर्ने अडान नाउपाले राखेपछि उनीहरू संसद् भवन नै प्रवेश गरेनन् । नाउपाले उपसभामुखसहित प्रदेशमा तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । अडान मात्रै नभएर लिखित प्रतिबद्धता नै मागेकाले शुक्रबारको संसद् बैठक पनि प्रभावित बनेको हो ।

‘हामीले सत्तारूढ गठबन्धनलाई समर्थन गर्ने भनेका छौँ तर, हामीसँग लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग लिँदैनौँ,’ नाउपाका एक नेताले भन्नुुभयो, ‘सत्ता साझेदार भएपछि अवश्य पनि हामीलाई भाग चाहिन्छ । कम्तीमा तीन मन्त्रालय र उपसभामुखमा हाम्रो अडान छ ।’

प्रदेशसभाका सभाध्यक्ष शिवराज भट्टले आज (शनिबार) प्रदेशसभाको बैठक बस्ने र निर्वाचन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ । ‘शुक्रबार ४ बजेसम्मको समय दलहरूलाई दिएको थियो’ उहाँले भन्नुभयो ‘दलहरूसँग सम्पर्क हुन सकेन । सबै प्रक्रिया पुर्‍याएर म बाहिर आएको हुँ । अब बैठक शनिबार जसरी नि बस्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?