डेढ वर्षपछि नेपाल-भुसालको पुनर्मिलन

कम्युनिष्ट आन्दोलनका लागि एकीकृत समाजवादी असाधारण ठाउँ भएको जिकिर

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भुसाललाई पार्टीमा स्वागत गरेको छ । नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र बस्नुभएका भुसाललाई एकीकृत समाजवादीले शुक्रबार पार्टीमा स्वागत गरेको हो । भुसाललाई समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल लगायतले स्वागत गर्नुभएको थियो । माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेको डेढ वर्षपछि भुसाल समाजवादीमा प्रवेश गर्नुभएको हो । नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै हुनुहुन्थ्यो । तर, नेता नेपालले एमाले विभाजन गर्दा भुसाल एमालेमै फर्किनुभएको थियो । एकीकृत समाजवादीमा प्रवेश गर्दै नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताउनुभयो । एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको उहाँले दाबी गर्नुभयो ।

पार्टी प्रवेश गर्नुअघि उहाँले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गर्नुभएको थियो । भुसालको प्रस्तावलाई स्वागत गर्दै वार्ता समितिका संयोजकसमेत रहनुभएका महासचिव वेदुराम भुसालले छिटोभन्दा छिटो पार्टीमा आउन आग्रह गर्नुभएको थियो ।

गत निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तत्कालीन सत्ता गठबन्धनको साथ पाउँदा पनि उहाँ एमालेकै छविलाल विश्वकर्मासँग पराजित हुनुभयो ।

एमाले विभाजन हुनुअघि माधव नेपाल समूहमै रहनुभएका भुसाल पार्टी विभाजन हुँदा भने एमालेमै बस्नुभएको थियो । १० बुँदे सहमति गरेर अन्य १० नेतासँगै एमालेमा बस्नुभएका भुसाल एमालेको गत महाधिवेशनमा उपाध्यक्षमा पराजित हुनुभएको थियो । १० मध्ये अन्य आठ नेताले विभिन्न जिम्मेवारी पाए पनि अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेपछि उहाँसहित नेता भीम रावललाई जिम्मेवारीविहीन बनाइएको थियो । गत निर्वाचनमा टिकट नपाउनेमा नेता रावल पनि हुनुहुन्थ्यो । तर, उहाँ चुनावमा पनि उठ्नुभएन भने एमालेमै बसिरहनु भएको छ ।

ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा : भुसाल
नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुभएका नेता घनश्याम भुसालले ओलीवाद हाबी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दाबी गर्नुभएको छ । शुक्रबार एकीकृत समाजवादीमा समाहित हुने कार्यक्रममा नेता भुसालले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दाबी गर्नुभएको हो । ओलीले सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको उहाँको आरोप छ । ‘ज्ञान, विज्ञान, तर्क, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गयो । यो कुनै गालीगलौज गरेको छैन । बहस गर्छ कसैले ? म बहस गर्न तयार छु,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा स्वयं म नेकपा (एमाले)मा रहन सकिनँ ।’

भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्न सक्ने भएकाले पार्टीमा प्रवेश गरेको तर्क गर्नुभयो । ‘म आज र एमाले हुँदा पनि सैद्धान्तिक र वैचारिक रूपमा नेकपाकै सदस्य हुँ भनेर भन्दै आएको हुँ । कम्युनिष्ट आन्दोलनको वैभव मान्दा नेपालको राजनीतिमा हामी सबैभन्दा वैभववाला राजनीतिक पार्टी हौैँ । सबैभन्दा वैभवपूर्ण आन्दोलन हो,’ उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादीको संक्षिप्त दस्तावेज मैले पढेको छु । यो असाधारण ठाउँ हो ।’ जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँड्नेबाहेक एमालेका नेताहरूले केही गर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

एमाले अब सुध्रिँदैन, इमानदार कम्युनिष्टलाई एकताबद्ध गर्छौं : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने बताउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरमा नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दे अध्यक्ष नेपालले पार्टीलाई नयाँ ढंगले अगाडि लैजाने बताउनुभयो । पुरानै ढंगले पार्टी नचल्ने भन्दै उहाँले इमानदार कम्युनिष्टलाई एकताबद्ध बनाउने संकल्प गरेको बताउनुभयो । ‘अब पुरानो रबैयाले चल्दैन । पुरानो कुराको समीक्षा गरेर अगाडि बढ्नुपर्छ । यो नयाँ सुरुवात हो,’ उहाँले भन्नुभयो, ‘आन्दोलनलाई व्यापक बनाउनुपर्छ । हामीले पार्टीलाई नयाँ ढंगले अगाडि लैजाने, इमानदार कम्युनिष्टलाई एकताबद्ध बनाउने संकल्प गरेका छौँ ।’ उहाँले अब एमाले नसुध्रने पनि ठोकुवा गर्नुभयो । अन्य नेताहरू पनि एमाले छाड्दै आउने उहाँको दाबी छ । ‘उही विचार र सिद्धान्तले पुरानो पार्टी सुध्रिनेवाला छैन भन्ने निष्कर्षमा हामी पुग्यौँ । अहिले घनश्यामजी पुग्नुभयो । अरू पनि पुग्दै जानुहुन्छ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘उहाँहरूलाई हाम्रो पार्टीमा स्वागत गर्छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?