बाँकेमा दादुराविरुद्धको खोप अभियान तीव्र

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । नेपालगन्ज उपमहारपालिकामा देखा परेको दादुरा नियन्त्रणका लागि जिल्लामा खोप अभियान तीव्र पारिएको छ । पछिल्लो समय नेपालगञ्जसहित खजुरा र नरैनापुरमा समेत दादुराका संक्रमित देखापरेपछि खोप अभियानलाई तीव्र बनाइएको हो । स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा अहिलेसम्म दादुरा प्रभावित क्षेत्रका २२ हजार १० बालबालिकालाई खोप लगाइएको जनाएको छ । ६ महिनादेखि १५ वर्षमुनिका उक्त संख्याका बालबालिकालाई खोपको पहुँचमा ल्याएको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले २२ पुसबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । उपमहानगरको ७ नम्बर वडामा खोप अभियान सम्पन्न भएको उहाँले बताउनुभयो । ७ नम्बर वडाका ९५ प्रतिशतभन्दा बढी बालबालिकालाई खोप लगाइएको उहाँको भनाइ छ ।

श्रेष्ठले नेपालगञ्ज उपमहानगरका ४२ हजार ९८० बालबालिकामध्ये ५१.२१ प्रतिशत अर्थात् २२ हजार १० बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएको बताउनुभयो । नेपालगञ्जमा अझै २० हजार ९७० बालबालिकालाई खोप लगाउन बाँकी छ । यस्तै खजुरा गाउँपालिकाका १८ हजार ४५९ र गरी ३९ हजार ४२९ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य सरकारको छ । १२ पुसबाट फैलिएको संक्रमण संक्रमितमध्ये नेपालगञ्जमा १८९, खजुरामा ३, कोहलपुरमा २ र नरैनापुरमा १ गरी संक्रमितको संख्या १९५ पुगेको छ । यीमध्ये १ जनाको मृत्यु भएको छ ।

मंगलबार मात्रै उपमहानगरभित्र १६ वडाका ३० खोप केन्द्र र खजुरा गाउँपालिकाका ८ वटै वडाका १७ खोप केन्द्र गरी ४७ वटा खोप केन्द्रमार्फत दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुरा संक्रमणबाट १९५ जना बालबालिका संक्रमित भएका छन्।

यसबीच, बाँके क्षेत्र नम्बर १ का सांसद सुर्य ढकाललेस्वास्थ्य मन्त्री पदम गिरीलाई नेपालगञ्जमा महामारीका रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि अपील गर्नु भएको छ । नवनियुक्त स्वास्थ्य मन्त्री गिरीलाई भेटेर सांसद ढकालले प्रकोप नियन्त्रणका लागि आग्रह गर्नु भएको हो ।
मन्त्री गिरीसँगको भेट भएको पुष्टि गर्दै ढकालले आफूलाई स्वास्थ्यमन्त्री जिल्लामा फैलिरहेको दादुरा प्रकोपको सम्पूर्ण वस्तुस्थिति जानकारी गराएको बताउनुभयो ।

उहाँका अनुसार तत्कालका लागि दादुरा प्रकोप न्युनिकरणमा संघीय सरकारको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । उक्त अवसरमा आफूले जिल्लाको स्वास्थ्य सेवा विस्तारका लागि भौतिक पूर्वाधार निमार्ण जनशक्ति व्यवस्थापन,जनचेता अभिवृद्धिका लागि बजेटको समेत व्यवस्थापन गर्न आग्रह गरिएको सांसद ढकालको सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?