आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको छानबिन गर्ने सरकारको निर्णय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले मंगलवार संघीय संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुको छानबिन गर्ने निर्णय गरेको छ ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गर्नुभएका आचार्यले उठाउनुभएका विषयहरुको छानबिन गर्न गृह मन्त्रालयले नै तदारुकताका साथ लाग्ने निर्णय भएको बताउनु भयो ।

उहाँले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निस्कर्षानुसार आवश्यक कदम चाल्ने बताउनु भयो । उहाँले आज नै छानबिन सम्बन्धी कार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने र मृतकले भन्नुभएका विषयहरुको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आत्मदाह गर्नुभएका प्रेमजीको विषयलाई लिएर हामीले उहाँले गम्भीर विषयहरु उठान गर्नुभएको छ । लेख्नुभएको थियो, अन्यायमा परेको विषय उठान गर्नुभएको थियो, त्यसलाई छानबिनमा ल्याउने र गृह मन्त्रालयले नै तदारुकताका साथ अघि बढाएर छानबिन गरी सत्यतथ्य बाहिर आएपछि तदनुसार सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ। आज नै छानबिन सम्बन्धी कार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउनेछौँ । उहाँले भन्नुभएको विषयहरु छानबिनका क्रममा निस्किएपश्चात् त्यसपछि आवश्यक कारबाही गर्ने निर्णय भएको छ । छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सरकारले गर्नेछ ।’

गृहमन्त्री लामिछानेले छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सबै सरकारले गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?