हिमालको फेदमा फस्टाएको मुलाखेती

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । उत्तरतर्फ हात फैलाउँदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, निलगिरि, गुर्जालगाएतका आधादर्जन बढी हिमश्रृङ्खला । पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लो पट्टी भिरालो जमिनमा मौलाएको मुला खेती । हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फीखिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक । यतिबेला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा यस्तै रोमाञ्चक दृश्य देख्न पाइन्छ ।

टोड्केमा पछिल्ला तीन वर्षयता मुला खेती राम्रैसंग मौलाउँदै गएको स्थानीय वासिन्दाहरुले बताएका छन् । यहाँ स्थानीयबासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबु-बाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् । यहाँ जम्मा पाँच घरधुरीको बसोबास रहेको छ । यीनै पाँच परिवारले उत्पादन गरेको मुला नेपालका विभिन्न शहरमा मात्रै होइन धजरा, गुन्द्रक, चाना र सुकुटी बनेर कोशेलीको रुपमा युरोप अमेरिकासम्म पनि पुगेको स्थानीय कृषक तीजमाया पाइजाले बताउनुभयो ।

टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् ।
भैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको पाइजाले बताउनुभयो । उहाँकाअनुसार एक परिवारले एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँ आम्दानी गर्दछन् ।

हिमालको सम्मुख, चिसो हावापानी, अर्ग्यानिक स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो ।

टोड्के धौलागिरि क्षेत्रमै मुला खेतीका लागि प्रसिद्ध मानिन्छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि पर्यटकको आकर्षण बनेको हो ।

टोड्केका स्थानीयले विषादीरहित मुला उत्पादन गर्दै आइरहेका छन् । परम्परागत खेती प्रणाली अपनाएर मुला लगाउँदै आएका छन् । भैंसी र भेडाको मलको प्रयोग गर्ने गरेका छन् । हिउँद र वर्षामा गरि वर्षमा दुई पटकसम्म मुला खेतीगर्न सकिन्छ । तर टोड्केमा एकै सिजनमा उत्पादित मुला वर्ष दिनसम्म खान पुग्छ ।

आफूहरुले बाजेको पालादेखि नै स्वर्गद्वारीबाट मुलाको बिउ लिएर लगाएको र अहिले पनि ३ रोपनीमा मुला खेती गरेको मुला व्यवसायी समेत रहनुभएकी महिला उद्यमी तीजमाया पाइजाले बताउनुभयो । मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्रीवितरण गर्ने गरिएको छ ।

मुलासँगै आलुलगायतका खेतीबालीमा विषादी प्रयोग नगरी अर्गानिक खेतीगर्ने गरेको टोड्केवासीको भनाइ छ । विषादी प्रयोग नगर्दा उत्पादन राम्रो तथा गुणस्तरीय हुने भएकाले अर्गानिक मुलाको खेती गर्ने गरिएको छ ।

ग्राहकहरु स्थानीय जातको मुला खोज्दै किसानको बारीमा नै पुग्ने गरेका छन् । टोड्केका बारी तथा पाखोमा उत्पादन भएको एउटै मुलाको तौल झण्डै ५ किलो सम्म हुने गरेको मुला व्यवसायीले अनुभव सुनाएका छन् । परम्परागत खेती प्रणालीमा आधारित रहेर प्राङ्गारिक मलको प्रयोग गरेपछि मुलाको तौल बढ्ने गरेको टोड्केका अर्का मुला व्यवसायी मिनबहादुर थजालीले बताउनुभयो ।

जिल्लाकै पहिचान बोकेको टोड्केको मुला खेतीलाई प्रोत्साहन गर्न मुला खेतीमा संलग्न किसानले आफूहरुलाई कृषिऔजार, उपकरण र अनुदान सहयोगको माग गरेका छन् । यस्तै कृषि प्रदर्शनी जस्ता कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरेर टोड्केमा उत्पादित मुला, आलु खेतीको प्रचार प्रसार गर्नसके यसबाट अझै मनग्गे आम्दानी गर्न सकिने स्थानीय बताउँछन् ।

यस्तै थोरै मिहनेत गर्ने र समय दिने हो भने मुलाको प्रयोगबाट विभिन्न प्रकारका परिकारहरु बनाउन सकिन्छ । टोड्केका स्थानीयले मुलाबाट जस्तैः धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन् । स्थानीयले मुलाबाट यस्तै खालका परिकारहरु बनाइ बिक्री वितरण समेत गर्दै आएका छन् ।

मुलामार्फत पर्यटन प्रवर्द्धन

म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा मानिन्छ । टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेको दृश्यावलोकन गर्न पाइन्छ ।

यस्तै यहाँ उत्पादित अर्गानिक मुलाले स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन समेत गरेको छ । स्थानीयवासीको लगानीमा टोड्केमा सामुदायिक लज सञ्चालनमा आएपछि त्यहाँपुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुले मुला र आलु खरिद गर्ने गरेका छन् ।

सामुदायिक लजमा पाहुना भएर बस्न जाने पर्यटकलाई अर्गानिक उत्पादन मुलाको स्वाद चखाउने गरिएको छ । यसका साथै टोड्के क्षेत्रको भ्रमणमा निस्कने पर्यटकहरुमार्फत मुलासहित स्थानीय उत्पादनको पनि प्रवर्द्धन भएको छ । टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाका चाना, धजरा, सिन्कीलगायत उपहार तथा मायाको चिनो कोसेलीको रुपमा उपहार दिने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?