एलपीएलको अन्तिम चार टोलीको टुंगो

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । कैलालीका धनगढीमा जारी विद्यालय स्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को अन्तिम चारमा पुग्ने टिमको टुंगो लागेको छ । सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने चार टोलीको टुंगो लागेको हो ।

जारी संस्करणमा अपराजित रहेको डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी, लोटस आई स्कुल अत्तरिया र लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी यस अघि नै अन्तिम चारमा पुगिसकेका टोली हुन् ।

सोमबार अन्तिम चारका लागि भएको निर्णायक खेलमा नव बाल बालबाटिकाले गुराँस एकेडेमीलाई ७३ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बालबाटिकाले २० ओभर खेल्दै सात विकेट गुमाएर १४१ रन बनायो । १४२ रनको विजयी लक्ष्य पछ्याएको गुराँसले १४.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो । उसका सचिन साउदले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नव बाल बाटिकाका बलर नरबहादुर सार्कीले ह्याट्रिकसहित चार विकेट लिनुभयो ।

त्यस अघि बालबाटिकालाई प्रवेश साउद र विराट सिंह भण्डारीले समान २९ रनको योगदान दिनुभयो । प्रकाश जैसीले २५ तथा गजेन्द्र बोहराले २० रन बनाउनुभयो । गुराँसको बलिङमा सचिन साउदले तीन तथा प्रकाश रोकायाले दुई विकेट लिनुभयो ।

अब प्रतियोगितामा मंगलबार लिग चरणको अन्तिम खेल शारदा विद्या निकेतन र सैनिक आवासीय महाविद्यालय तेघरीबिच हुनेछ । दुवै टोली प्रतियोगिताको उपाधि होडबाट भने बाहिरिइसकेका छन् । बिहीबार दुई सेमिफाइनल र शनिवार उपाधि भिडन्त हुनेछ ।

लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई दुई लाख ५१ हजार १११ र उपविजेतालाई एक लाख २५ हजार ५२५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?