प्रणय दिवसमा ‘कवितासँग वसन्त’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चर्चित कवि तथा गीतकार वसन्त चौधरी मंगलबार एकल कविता वाचनमा गुञ्जिनुभएको छ । प्रणय दिवसको अवसरमा आयोजना गरिएको ‘कवितासँग वसन्त’ कार्यक्रमा उहाँ गुञ्जिनुभएको हो । उहाँले आफ्ना कवितामार्फत प्रणय दिवसलाई विशेष र रोमाञ्चक बनाउनुभयो ।

‘लभ इज इन दि इयर’को थिम दिइएको एकल कविता वाचन कार्यक्रमका क्रममा चौधरी आफ्ना प्रिय दर्शक तथा प्रशंसकसँग एकघण्टा पोखिनुभयो । सो क्रममा उहाँले एकदर्जन बढी कविता, मुक्तक र गजल सुनाउनुभयो । सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्धलगायतसँग सम्बन्धित थिए ।

सो क्रममा कवि चौधरीले आफू कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताउनुभयो । ‘आँसु, हासो, सुख दुःख जस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ । म चाहन्छु, मेरो कविता नदीको शीतल प्रवाहसरी शान्त होस् । पहराबाट छुटेको छहरासरी गतिमय पनि’, उहाँले भन्नुभयो, ‘जब मेरा भावनाहरूले शब्द उच्चारण गर्छन । अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ । साच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु ।’

सो क्रममा कवि चौधरीले आफूले सुरु गरी हाल रोकिएको प्रतिष्ठित विश्व काव्ययात्राको पुनः थालनी गरिने उद्घोषसमेत गर्नुभयो । कवि चौधरीलाई सुन्न मण्डला थिएटर पुगेका करिब डेढ सयजनाले उहाँका दुईवटा पुस्तक ‘मेरा गीत’ (गीतहरूको संग्रह) तथा ‘जीवनमन्त्र-२’ (सुक्ति संग्रह)को सामूहिक लोकार्पणसमेत गरेका थिए ।

नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको छ । केही समयअघि उहाँका ८५ वटा कविताहरूको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’ सम्म उहाँका एकदर्जन कृतिहरू प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?