आयोजक केपी ओली एफसी सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक टोली केपी ओली एफसी काठमाडौंमा जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा शनिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा आयोजकले बाजी मार्‍यो । पेनाल्टीमा केपी ओली एफसीका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बू र अनिल महर्जनले गोल गर्नुभयो । जावलाखेलका सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले एक-एक गोल गर्नुभयो । जावलाखेलका एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार आयोजक टोलीका गोलकिपर पूर्ण चेम्जोङले जोगाउनुभएपछि खेल आयोजकका पक्षमा गएको थियो ।

त्यसअघि खेलको ४२औँ मिनेटमा राहुलको गोलबाट जावलाखेलले सुरुवाती अग्रता पाएको थियो । तर, खेलको ६८औँ मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै केपी ओली एफसीलाई १-१ गोलको बराबरीमा ल्याउनुभएको थियो । अब आयोजक टोलीले सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले पाँच लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयीमान खेलाडीले ५० हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?