सधैँ हात्तीको त्रास : रातभर जाग्राम बस्छन् सिन्धुली खुट्टेपानीका स्थानीय

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 6 mins

सिन्धुली । दुधौली नगरपालिका–३ तल्लो खुट्टेपानीमा शनिबार विहानपख जंगली हात्तीले रामपरी देवी सोनारको पसलघर भत्कायो । सुतिरहेका सोनार दम्पती संयोगबस भाग्न सफल भएर ज्यान बच्यो । घरमा राखिएको फ्रिज, टिभि र अन्य पसलका सामान जोगाउन सकिएन, सबै नोक्सान गरिदियो ।

अहिले हात्ती पीडित दम्पती लखिया सोनार र रामपरी देवी त्रिपाल टाँगेर विजोगले बसेका छन् । हात्तीले दिएको दुःख र डरले भोक, निद्रा हराएको सोनार दम्पती बताउँछन् । ‘रातभर हामीले सुत्न पाएका छैनौँ, यताबाट आउँछ की उताबाट आउँछ भन्ने त्रासले बुढाबुढी जागै बस्छौँ,’ रामपरी देवीले भन्नुभयो, “कताको खानो कताको पिउनु’’ अतालिसकेको छु ।”

गत शनिबार विहान तीन बजे सोनार दम्पतीको घर भत्काएर गएका दुई वटा हात्ती दिनहूँ साँझ नपर्दै गाउँमा पसेर विध्वंस मच्चाउन थालेका छन् । चार दिन यता मात्रै १५ वटा घर हात्तीले भत्काएको वडा अध्यक्ष भद्राकुमारी माझीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडाबासी र बस्तीको सुरक्षामा चुनौती थपिएको छ । वडाबासी हात्तीको कारण आतंकित छन्, तीन रातको अनिदो छन् । मानवीय क्षति हुने डर उस्तै छ ।”
दिनमा जंगल बस्ने र साँझ परेपछि बस्ती आउने हात्तीले घरभित्र थन्काइएको र खेतबारीमा लगाइएको अन्नबालीमा समेत क्षति पुर्याएको छ । पोलेर खाने बेला भएको दुधे मकै, थन्काउन लागिएको गहूँ, बन्दा, कोभी, साग लगायत विभिन्न प्रकारका तरकारीहरु माडेर र खाएर किसानलाई नोक्सान गरेको वडाध्यक्ष माझीले सुनाउनुभयो ।

हात्तीबाट हुने क्षति दिर्घकालीन रुपमा समाधान गर्न नगरपालिका र डिभिजन वन कार्यालयसँग सहयोगको याचना गरिरहेको भएपनि हालसम्म कुनै उपाय नसुल्झिएको उहाँको भनाई छ ।

वर्षेनी पटकपटक बस्ती पसेर मानवीय तथा भौतिक क्षती गर्ने हात्तीलाई नियन्त्रण गर्न नसकेकोमा प्रभावीत तथा पीडित आक्रोसित छन् । ‘दिनहुँ हात्ती गाउँ पस्छ, वर्षभरी खाने बालीनाली छिनभरमै सखाप बनाइदिन्छ । अब ज्यान जोगाउनै गाह्रो भयो,’ हात्ती प्रभावीत अर्जुन कुमार अधिकारी (दनुवार) ले दुखेसो गर्नुभयो ।

कमलाखोँच क्षेत्रमा बर्षेनी जंगली हात्तीले ठूलो मात्रामा जनधनको क्षति गदैँ आएको भएपनि सम्बन्धित निकायले क्षती रोक्न कुनैपनि दीर्घकालीन योजना बनाएर काम नगरेका उहाँको आरोप छ ।

‘सधैँ गाउँ पसेर आतंक मच्चाउने हात्तीबाट बच्न कति दिन अनिदो बस्नु पर्ने हो ? अन्नबाली जंगली जनावरबाट जोगाउनै नसकिने भयौँ, के खाएर बाच्ने ?,’ सम्बन्धित निकायलाई उहाँको प्रश्न छ ।

खुट्टेपानीकी स्थानीय कुन्ता थापाकाअनुसार हात्तीको डर र क्रासले गाउँले रातभर जाग्राम बस्न बाध्य छन् । रातभरको अनिदोले शरीरमा आलस्यता बढ्ने, टाउँको दुख्ने, बोल्न तथा कुरा गर्न झिँजो लाग्ने गरेको उहाँले सुनाउनुभयो ।
‘हात्ती गाउँ पसेको थाहा पाउन साथ आगोको धुनी बालेर होहोल्ला गछौँ, रातभर विजुली बत्ति बालिरहन्छौँ, भाडाकुँडा ठटाउने गछौँ, त्यही पनि हात्ती पसेर क्षति गर्न छोड्दैन,’ उहाँले दुखेसो पोख्नुभयो ।

हात्तीले भत्काएका घर तथा खेतबारीको अन्नबाली क्षतीको विवरण वडा कार्यालयले संकलन गरिएको छ । सोहीअनुसार हात्ती पीडितलाई राहत उपलब्ध गराईने दुधौली नगरपालिकाले जनाएको छ ।

‘हात्तीले क्षति पुर्याएको वडामा पुगेर पीडितलाई शान्त्वना दिएर आएका छौँ । उहाँहरुलाई राहत वितरण गर्ने कार्यक्रम पनि छ । हात्तीको उचित व्यवस्थापन तथा दिर्घकालीन समस्या समाधानका लागि माथिल्लो निकायसँग समन्वय भइरहेको छ, नगर प्रमुख दिनेशकुमार अधिकारी (दनुवार) ले भन्नुभयो ।

जंगली हात्तीले विशेषगरी कमलाखोँच क्षेत्रमा बर्षेनी मानवीय तथा भौतिक क्षती गदैँ आएको छ । जंगल छेउमा रहेका दुधौली र कमलामाई नगरपालिकाका सात वटा वडाहरुका स्थानीयबासीलाई हात्तीले आतंकित मात्रै बनाएको छैन, हैरानै बनाएको छ । यस समस्याको दिर्घकालीन समाधानका लागि सरकारले चासो दिनुपर्ने हात्ती प्रभावितहरुको माग छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?