व्यापार विज्ञ सम्मेलन : स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा जोड

Read Time = 9 mins

काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताहरूले व्यापार, पहुँच र नीति र रणनीति प्रभावकारी बनाएर कसरी आर्थिक विकास हासिल गर्न सकिने बताएका थिए ।

नैतिक र सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै अनुसन्धानकर्ता डा. अशोक भण्डारीले प्रतिस्पर्धा वृद्धि गर्न सामाजिक उत्तरदायित्वपूर्ण व्यापारिक अभ्यास गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार विगतमा व्यापारीले नाफामात्र हेर्थे तर अहिले ट्रेण्ड परिवर्तन भएको छ । व्यापारीले नाफाको निश्चित प्रतिशत व्यावसायिक सामाजिक उत्तरदायित्वका लागि पनि राख्ने गरेका छन् । नेपालको औद्योगिक व्यवसाय ऐनले पनि नाफाको निश्चित प्रतिशत यस्ता कार्यमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

‘अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय कम्पनीहरू दृश्यमा बढी आए पनि साना तथा मझौला उद्योग निकै महत्वपूर्ण हुनेछन् ।’

अनुसन्धानकर्ता दीपशिखा गुरुङले महिला उद्यमीका लागि प्रविधि सबैभन्दा राम्रो साथी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै धेरै महिलाका हातमा अहिले मोबाइल फोन र सामाजिक सञ्जालमा पहुँच रहेकाले कृषि व्यवसायमा लागेका महिलालाई आवश्यक ज्ञान पु¥याउन सरकारलाई सजिलो भएको बताउनुभयो । भारतकी अनुसन्धानकर्ता निशा प्रकाशले के उदारीकरणले अर्थतन्त्रमा बढाउँदै छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै विकसित देशका उद्योगधन्दा विकासोन्मुख देशमा आएका र प्रदूषण बढाउन भूमिका खेलको बताउनुभयो । क्लाइमेट चेन्जसम्बन्धी पेरिस सम्झौताको परिपालन गर्न विकसित देशका उद्योग विकासोन्मुख देशमा आएको तर तिनले उत्पादन बढाए पनि उच्च कार्बन उत्सर्जन पनि गरिरहेको उहाँको भनाइ थियो ।

अनुसन्धानकर्ता सरोजकुमार अर्याल र विनायक मल्लले नेपालीहरू विदेश पढ्न जाने प्रवृत्तिबारेमा कार्यपत्र प्रस्तुत गर्दैै युवाहरू विदेशमा पढ्न गएपछि कमैमात्र फर्केर आउने गरेको बताउनुभयो । नेपाली विश्वविद्यालयले दिने कम गुणस्तरको शिक्षाले पनि उनीहरूलाई विदेशिन उत्प्रेरित गरेको अर्याल र मल्लको भनाइ थियो ।

विज्ञहरूले अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र सोही कारण खुला व्यापारको विकल्प नरहेको बताए । तथापि नेपालले विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशक बित्दा पनि थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिनुपर्ने औंल्याए । इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी बेंग्लोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेसनल बिजिनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमण्यमले व्यापारमा खुलापनले आफैँमा अवसर ल्याउने बताउनुभयो । नेपालले आफ्नै स्थानीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा उहाँको जोड थियो ।

भारतीय सरकारका पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ, त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताउनुभयो । इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट उदइपुरका बिजनेस पोलिसी एण्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताउनुभयो । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय कम्पनीहरू दृश्यमा बढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको उच्च व्यापारघाटा जोखिमपूर्ण रहेको बताउनुभयो । नेपालले अपनाएको हालसम्मका व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको भन्दै उहाँले समीक्षा गरी उपयुक्त नीतिगत पहिचानमा सम्मेलनबाट सहयोग पुग्ने बताउनुभयो ।

विश्व व्यापार संगठनका चेयरस प्रोग्रामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताउनुभयो । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा विश्व व्यापार संगठनका चेयरस प्रोग्राम–नेपालका अध्यक्ष प्रोफेसर डा. देवीप्रसाद बिडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैँमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा डब्ल्युटिओ चेयरस प्रोग्रामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकाले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल विश्व व्यापार संगठनमा आबद्ध भएपछि निर्यात बढाउन अपनाइएका धेरै नीति असफल रहेको उहाँको भनाइ थियो ।

बुधबार सम्पन्न सम्मेलनमा अनुसन्धानकर्ताबाट २८ कार्यपत्र प्रस्तुत भएका थिए । २८ कार्यपत्र प्रस्तुतकर्तामध्ये उत्कृष्ट कार्यपत्रलाई ५०÷५० हजार नगदसहित अवार्ड दिइएको छ । जलवायु परिवर्तन, मानव बसाइसराइ र सम्भावित व्यापार सम्बन्ध कार्यपत्र प्रस्तुत गर्ने प्रज्ज्वल ढुंगाना, भारत र नेपालका उद्योगको निर्यात प्रतिस्पर्धात्मकता मूल्यांकनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने प्रतिभा वेंकटेशमूर्ति, डा. जीवनानन्द एस र डा. संगीता महरोलियाको कार्यपत्रलाई अवार्ड दिइएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?