‘बहाव’को प्रिमियर शोः दर्शकको सकारात्मक प्रतिक्रिया

Read Time = 3 mins

काठमाडौं । शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् ।

एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिनुभयाे । ‘फिल्मको विषयवस्तु नयाँ छ । नेपाली दर्शकका लागि यसले फरक स्वाद दिनेछ । फिल्मले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ’, उहाँले भन्नुभयाे ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताउनुभयाे । उहाँले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसकिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गर्नुभयाे । ‘यस्तो फिल्मले समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ । फिल्मले समाजको वास्तविक कथा बोलेको छ’, उहाँले भन्नुभयाे ।

निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका फिल्म भन्दा फरक शैलीमा बनेको बताउनुभयाे । उहाँले आफूले जापानी फिल्म हेरेको अनुभव गरेको खुलाउनुभयाे । ‘फिल्म हेरिरहँदा जापानी फिल्म हेरेको अनुभव गरें । कथावस्तु फरक भएकाले पनि मलाई हेर्न मजा लाग्याे’, उहाँले भन्नुभयाे ।

कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताउनुभयाे । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गर्नुभयाे । अर्का कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मनपरेको बताउनुभयाे ।

अभिनेत्री लुनिभा तुलाधरले फिल्मले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताउनुभयाे । उहाँले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ फिल्म बन्नुपर्ने सुझाव दिनुभयाे ।

फिल्मका अभिनेता कमलमणि नेपालले फिल्ममा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताउनुभयाे । कोरोना महामारीको समयमा काम गरे पनि राम्रो सिर्जना दर्शकमाझ ल्याएको उहाँकाे भनाइ थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?