‘यी अध्यक्ष आएपछि जताततै लफडा छ हाम्रो क्षेत्रमा’

Read Time = 11 mins

काठमाडौं । यो वर्षको हामी अन्तिम संघारमा छौं । नयाँ वर्ष २०८० लाई स्वागत गर्न तयारीमा सबै नेपाली रहेका छन् । २०७९ साल नेपाली चलचित्रका लागि मिश्रित वर्ष रहृयो । चार दर्जनजति चलचित्र सिनेमा घरमा आए भने केही चलचित्रले मात्र राम्रो व्यपार गर्न सफल भए । नेपाली कला क्षेत्रमा विभिन्न चर्चा, परिचर्चा र यसका संघसंस्थाको निर्वाचनको वर्ष बन्यो २०७९ । विगतका वर्ष कोरोना संक्रमणका कारण सुस्ताएको चलचित्र क्षेत्र यो वर्ष भने केही जुर्मराउने कोसिसमा रहृयो । विभिन्न चर्चा र परिचर्चामा रहेको ०७९ को अन्तिममा आएर फेरि चर्चामा रहेको छ । चैत महिनामा प्रदर्शनमा आउन लागेका दुई चलचित्र प्रसाद-२ र नाई नभन्नु ल-६ अन्तिममा आएर प्रदर्शन रोकियो ।

विकास बोर्डले मंगलबार वर्ष २०७९ मा प्रदर्शनमा आएका चलचित्रको कमाइ सार्वजनिक गर्‍यो । यसले पनि यो वृतमा चर्चा ल्याएको छ । यस विषयलाई लिएर अभिनेता एवं निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले आफूहरूको चलचित्र ‘छक्का पञ्जा ४’ को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै बोर्ड अध्यक्ष केसीप्रति सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्नुभएको हो । ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा’ दीपकराजले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

विकास बोर्डले मंगलबार वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको कमाइ सार्वजनिक गरेको थियो । जसमा ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको उल्लेख छ । विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै मंगलबार २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो ।

विकास बोर्डले मंगलबार वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको कमाइ सार्वजनिक गरेको थियो । जसमा चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को २१ करोड ३८ लाख १३ हजार ४६२ रुपैयाँ र ‘छक्कापञ्जा ४’को १६ करोड ९४ लाख रुपैयाँ कमाइगरेको उल्लेख छ । विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै मंगलबार २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो ।

यस्तो छ चलचित्र विकास बोर्डको तथ्यांक
बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि १३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार ७०० टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार ४६२ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले ६ लाख ७७ हजार ६९९ टिकट बिक्री भएबापत १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ ग्रस कमाएको छ । नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई चलचित्र हुन् । तथ्यांक अनुसार यस वर्ष प्रदर्शन भएका चलचित्र शिवानीको पाँचवटा टिकटमात्रै बिक्री भएका छन् । जसबाट चलचित्रले ५२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरण अनुसार छ लाख आठ हजार भार सय दुई टिकट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६३४ रुपैयाँ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । यस्तै, चलचित्र ‘प्रेम गीत–३’ नेपाली भाषामा दुई लाख ६९ हजार ७४४ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ र हिन्दी भाषामा ८३ हजार १४४ टिकट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार ३६७ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

सर्वाधिक कमाइ गर्ने चौथो चलचित्र ‘महापुरुष’ बनेको छ । चलचित्रले दुई लाख ४७ हजार ५१७ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार ६७० रुपैयाँको ग्रस व्यापार गरेको छ । त्यस्तै, चलचित्र ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको पाँचौं नम्बरमा छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रको एक लाख ४१ हजार ६३९ टिकट बिक्री भएबापत तीन करोड ८४ लाख ७३ हजार ५२० रुपैयाँ को ग्रस कलेक्सन भएको छ ।

यस्तै, रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा छैटौं स्थानमा छ चलचित्रले एक लाख २६ हजार १९० टिकट बिक्री भएबापत तीन करोड ५२ लाख ८९ हजार ४५९ रुपैयाँको ग्रस व्यापार भएको छ । त्यस्तै ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिंगेदाउ’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीको सातौं स्थानमा छ । बोर्डको विवरण अनुसार चलचित्र एक लाख २२ हजार २९० टिकट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार २२३ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

बोर्डले सार्वजनिक गरेको विवरणको १० चलचित्रको सूचीमा ६ वटा नेपाली र चारवटा विदेशी छन् । केजीएफ, पठान, अवतार २ र ब्रहृमास्त्रको कुल कमाइ ४५ करोड नेपाली रुपैयाँ छ । नेपाली चलचित्रहरू कबड्डी ४, छक्कापञ्जा ४, प्रेमगीत ३, महापुरुष, दुई नम्बरी र फूलबारीको कमाइ जोड्दा ६० करोड रुपैयाँभन्दा बढी हुन आउँछ । चलचित्र विकास बोर्डले पहिलोपटक यस वर्षको चलचित्रको कमाइ औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

अब प्रत्येक महिना बक्सअफिस रिपोट सार्वजनिक : भुवन केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अब प्रत्येक महिना बक्सअफिस रिपोट सार्वजनिक हुने बताउनुभएको छ । फिल्मको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको उहाँको भनाइ छ । चलचित्र कलाकार संघले बुधबार राजधानीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदानसहित धन्यवाद तथा बधाई कार्यक्रममा केसीले आगामी महिनाबाटै बक्स अफिस नियमित सार्वजनिक हुने जानकारी गराउनुभयो । ‘हामी चलचित्र उद्योग भएन भन्छौ । तर, चलचित्रको तर्फबाट राज्यका लागि दिनुपर्ने योगदान (ट्याक्सलगायत) तिर्न बहाना बनाउँछौ’, उहाँले भन्नुभयो, ‘बक्सअफिस नियमित गर्छाैं र योगदान पनि दिन लगाउँछौं ।’ कार्यक्रममा अध्यक्ष केसीले चलचित्रकर्मी फुटेरभन्दा पनि जुटेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नयाँ वर्षको शुभकामना आदान प्रदानसहित धन्यवाद तथा बधाई कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्रकर्मीले तयार पारेको ‘चलचित्र मस्यौदा’ सरकारबाट लागू भए चलचित्र क्षेत्रको समस्या त्यसै हल हुने धारणा राख्नुभयो ।

कार्यक्रममा चलचित्रकर्मी तथा प्रदेश सांसद रोज राणा, मधुकुमार श्रेष्ठ, कलाकार कृष्ण मल्ल, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, संगीतकर्मी संघका अध्यक्ष चेतन सापकोटा, वसुन्धरा भुसाललगायले ‘चलचित्र मस्यौदा’ छिटोभन्दा छिटो लागू हुनुपर्ने भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा चलचित्र पत्रकार संघ, निर्माता संघ, निर्देशक समाज, चलचित्र प्राविधि संघ, नृत्यकार संघका नव-नियुक्त कार्यसमिति तथा चलचित्र विकास बोर्ड तथा सेन्सर बोर्डका नव-नियुक्त सदस्यहरूलाई कलाकार संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सबै संस्थालाई एकजुट भएर अगाडि बढ्ने सन्देश दिन कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले सबै संघसंस्थालाई एक ढिक्को भएर अगाडि बढ्न मद्धत मिल्ने विचार राख्नुभयो । कार्यक्रममा कलाकार संघको नयाँ वर्षको क्यालेन्डरसमेत सार्वजनिक गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?