पाठ्यपुस्तकको उपलब्धता र अपेक्षा

हिमालय टाइम्स
Read Time = 8 mins

यस वर्ष शैक्षिक सत्र सुरु नहुँदै देशैभर पाठ्यपुस्तक पुगेको खबर आएको छ । यो हुनै पर्ने कुरा हो । तर, पहिलेका वर्षहरूमा हुन नसकेका कारण यस वर्ष हुनै पर्ने काम हुँदासमेत कुनै असम्भव काम भएको जस्तो ठान्नुपरेको छ । जहिल्यै शैक्षिक सत्र र पाठ्यपुस्तकको तालमेल हुन नसकिरहेका समाचारमात्र सार्वजनिक भइरहेका हुन्थे । वास्तवमा यो आमविद्यार्थीको नियति जस्तै बन्दै आइरहेको थियो । कहिलेकाहीँ त सुदूरका विद्यार्थीका हातमा शैक्षिक सत्र समाप्त हुन लाग्दासमेत पाठ्यपुस्तक पुगिरहेका हुँदैनथे । यस वर्ष ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ अभियानै चलाइएको थियो । यस वर्ष सरकारले छपाइको जिम्मा निजी क्षेत्रलाई दिएकाले समयमै गाउँगाउँसम्म पाठ्यपुस्तक पुग्न सकेको हो ।

सरकारको अभियानले सार्थकता पनि पायो र गर्‍यो भने सम्भव हुने रहेछ भन्ने देखिन आएको छ । पाठ्यपुस्तकको निर्माणका लागि सरकारी र सरकारी स्वामित्व रहेका तीनवटा कार्यालयहरूको मुख्य जिम्मेवारी रहने गरेको थियो । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम, पाठ्यपुस्तकहरू तयार गर्ने र यस कार्यालयबाट तयार पारिएका पाठ्यपुस्तक छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रमा रहँदै आएको थियो । जनक शिक्षा सामग्री केन्द्रबाट छापिएका सबै पुस्तक साझा प्रकाशनले जिल्ला-जिल्लामा पुर्‍याएर बिक्रीवितरण गर्ने गथ्र्यो । यी कार्यालयहरूबीच समन्वय भइरहनुपथ्र्यो । एउटाबाट मात्रै समयमा काम हुन सकेन भने सन्तुलन बिग्रने र समयमै सम्बन्धित ठाउँमा पाठ्यपुस्तक नपुग्ने हुन्थ्यो ।

पाठ्यक्रम विकास केन्द्रबाट समयमा पाठ्यपुस्तक निर्माण भएन भने छपाइमा ढिलाइ हुनजाने गथ्र्यो । छपाइमा ढिलाइ हुने बित्तिकै पुस्तक आपूर्ति समयमा हुन सक्दैनथ्यो । जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि १२ कक्षासम्मका अनिवार्य विषयका सबै पुस्तक छपाइको काम गर्दै आएको थियो तर यो संस्थाले आफैं कुनै पनि पुस्तक बिक्रीवितरण गर्दैनथ्यो, बिक्रीवितरणको सम्पूर्ण जिम्मा साझा प्रकाशनलाई दिएको थियो । साझा प्रकाशनले यति धेरै संख्यामा पाठ्यपुस्तक बिक्रीवितरण गर्ने गरेको भए तापनि यसले पाठ्यपुस्तकहरूको छपाइ आफूले गर्दैनथ्यो । त्यसो हुँदा यी कार्यालयहरूबीचमा राम्रो समन्वय कायम भइरहनुपथ्र्यो । कुन कक्षाको कुन विषयको पाठ्यपुस्तकको छपाइ भयो, त्यो बुझिलिएर त्यसको डेलिभरी गर्न सुरु गरिहाल्नुपथ्र्याे ।

समन्वयको अभावमात्र होइन अलिकति ढिलाइमात्र भयो भने शैक्षिक सत्रको सुरुमै सम्बन्धित ठाउँहरूमा पाठ्यपुस्तक पुर्‍याउन सकिँदैनथ्यो । तयार गर्ने, छपाइ गर्ने र बिक्रीवितरण गर्ने तीनवटै कार्यालयबाट पुस्तकको संख्या, आर्थिक जिम्मेवारीलगायत अनेकौं दायित्व तथा जिम्मेवारी बहन गरिनुपथ्र्यो । यदि यी कार्यालयबाट थोरैमात्र ढिलासुस्ती भयो, समन्वयको कमी भयो वा कुनै प्रकारको लापरबाही भयो भने मेची-महाकालीका विद्यालयमा पाठ्यपुस्तक समयमै पुग्न सक्दैनथे, ती ठाउँका बालबालिका पढाइबाट वञ्चित बन्न पुग्थे । विगत वर्षमा देशका विभिन्न भागमा समयमै पाठ्यपुस्तक नपुग्ने गरेका कारण यिनै थिए । तर, यस वर्ष शैक्षिक सत्रको सुरुमै ती ठाउँहरूमा पठ्यपुस्तक पुगेका छन् ।

यसबाट ती ठाउँका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा समेत खुशी छाउनु स्वाभाविक हो भने सरकार मातहतमा रहेका जिम्मेवारी लिने निकायहरूले गत वर्षमा समयमै ती ठाउँहरूमा पाठ्यपुस्तक पुर्‍याउन नसकिरहेकोमा यस वर्ष भने निजीस्तरको समेत संलग्नतामा समयमै त्यस्ता ठाउँहरूमा पाठ्यपुस्तक पु¥याएर प्रशंसाका पात्र बन्न सफल भएका छन् । यसका लागि पाठ्यक्रम विकास केन्द्रलगायत कार्यमा संलग्न सबै सरकारी तथा निजीस्तरका निकायलाई धन्यवाद दिनैपर्छ । अब भने दुर्गमका विद्यालयहरूमा रहेर शिक्षण गरिरहेका शिक्षकहरूले पनि यो वा त्यो बाहना बनाई विद्यालय बन्द गरेर आफ्नो निजी काम गर्ने प्रवृत्ति त्यागेर शैक्षिक सत्रको सुरुदेखि नै आफ्ना विद्यालयका विद्यार्थीलाई पढाउनु आफ्नो दायित्व हो भन्ने सम्झेर अध्यापनमा समर्पित बन्नुपर्ने हुन्छ ।

कहिले घाम, कहिले पानीझरी, कहिले हावाहुरी, कहिले बाढीपहिरोबाट बाटो अवरुद्ध भई आउजाउ गर्न नसकिने जस्ता अनेकौं कारणले गाउँघरका विद्यालयमा पढाइ अवरुद्ध भइरहेको हुन्छ । त्यसै पनि पाठ्यघण्टी पुर्‍याउन नसकिरहेको समयमा पाठ्यपुस्तक समयमा उपलब्ध नहुनाले त्यसमाथि अझै समस्या सिर्जना गर्ने गरेको बेलामा यस वर्ष कम्तीमा पाठ्यपुस्तक समयमै नपाएर पढाइ हुन सकेन भन्नुपर्ने अवस्था नरहेको छ । यो विद्यार्थीहरूका लागि खुशीको कुरामात्र नभएर पढाइलाई अगाडि बढाउने अवसरसमेत बनेको छ । पठनपाठनसँग सरोकार राख्ने अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सबैका लागि समयमा पुस्तकको उपलब्ध पनि शिक्षण सिकाइलाई सुधार्ने एउटा मौका हो भन्ने ठानी यसलाई सबै पक्षले राम्ररी सदुपयोग गरेर अगाडि बढ्नु बुद्धिमत्तापूर्ण हुन जानेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?