पृथ्वी राजमार्गमा सधैँ सास्ती

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 10 mins

धादिङ । चार दशकदेखि राजधानी जोड्ने मुख्य मार्ग हो पृथ्वी राजमार्ग । दैनिक हजारौँ यात्रुले यात्रा गर्ने सडकखण्ड पछिल्ला दुई दिनदेखि अस्तव्यस्त छ । राजधानी भित्रिने मुख्य नाका नौबिसे-नागढुंगा सडकखण्डको धादिङको धार्केस्थित गणेश खोला पुलछेउको मुखमा जमिन भासिएपछि राजमार्ग अस्तव्यस्त बनेको हो । राजधानी भित्रिने मुख्य सडक नै भासिएपछि पछिल्लो दुई दिनदेखि राजमार्गमा नियमित सवारीसाधन चल्न सकेका छैनन् । एककतर्फी रूपमा आंशिक सडक खुलाइए पनि सवारीसाधनको अत्यधिक चापका कारण यात्रुले सास्ती व्यहोर्नुपरेको छ । सोमबार दिउँसो धादिङको धुनिवेशी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएको थियो । भासिएको ठाउँमा ढुंगा भरेर आंशिक सञ्चालनमा ल्याइए पनि बुधबार फेरि अर्को ठाउँमा सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको छ । कहिले सडक मर्मत त कहिले खाल्डाखुल्डी पुर्ने र कहिले पिच गर्ने नाममा सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

धार्केस्थित गणेश खोला पुलको मुखमा जमिन भासिनुको एउटै कारण हो ‘लापरबाही’ र कानुन विपरीतका गतिविधि । सडक आयोजना र हाल सडक विस्तारको काम गरिरहेको निर्माण व्यवसायीको लापरबाहीले १८ घण्टा राजमार्ग ठप्प बनेर सयौँ यात्रुले सास्ती भोग्नुपरेको हो । विकास निर्माण कार्यले प्राथमिकता पाउनु राम्रो कुरा हो तर यात्रुहरूले दुःख पाउनु भने पक्कै राम्रो कुरा होइन् । यस्तै समस्याका कारण यात्रुहरूबीच बाटोमै अलपत्र पर्ने गरेका छन् । चाड पर्व होस् या अन्य कुनै समय । राजमार्ग बन्द हुँदा हजारौं यात्रुहरू बाटोमै अलपत्र परे भने कलंकीदेखि नागढुंगा र नागढुंगा-नौबिसे सडक खण्डको धादिङको घाटबेसीसम्म लामो सवारी जाम हुन पुग्यो । जामका कारण कति यात्रुहरू त भोक भोकै बसभित्रै रात कटाए । भासिएको जमिन नेपाली सेना, नेपाल प्रहरी, जनपथ, सशस्त्र प्रहरी र स्थानीयहरूको पहलमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मंगलबार बिहान एकतर्फी सवारी सञ्चालनमा आयो । तर, सवारी सञ्चालनमा आएको १४ घण्टा नबित्दै पुनः सोही स्थानमा जमिन भासिएर बुधबार दिउँसो १२ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । जमिन भासिएर बन्द भएको राजमार्ग करिब २ घण्टापछि पुनः एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । धुनिवेंशी नगरपालिका-६ र थाँक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको थियो । दुई घण्टा सडकखण्ड बन्द हुँदा सवारी साधनहरूको लामो लाइन हुन पुग्यो, भने केही मालवाहक सवारी साधनहरू कलंकीमा रोकिएर बसे । साना सवारीहरू भने वैैकल्पिक बाटो भएर राजधानीतर्फ प्रवेश गरेका थिए । तर, वैैकल्पिक बाटो प्रयोग गर्दा समय बढी लाग्ने र तोकिएकै समयमा नपुग्ने गरेको यात्रुहरूको भनाइ छ । ‘राजमार्गले यात्रुलाई धेरै दुःख दियो, जुन सरकार आए पनि खासै उपलब्धि भएन,’ एक यात्रुले गुनासो गरे ।

नयाँ पुल निर्माणका लागि फाउन्डेसन खन्ने क्रममा पुरानो पुलको फाउन्डेसन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याबिन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने टरेको छैन । पुल छेउको जमिन भासिएर सडक अवरुद्ध बनेको गणेश खोला पुलसँगै सडक आयोजनाले नयाँ पुलको निर्माण कार्य थालेको छ । त्यही नयाँ पुलको फाउन्डेसन खन्ने क्रममा पुरानो पुलको फाउन्डेसनको जगसमेत खोतलियो । पुलको पिल्लरलाई सपोर्ट दिन लगाइएका पर्खालका ढुंगाहरू पनि थर्किएर भासिन पुग्यो । वर्षातपछि सडकमा बगेको भल त्यहीँ पस्यो । फाउन्डेसन कमजोर बनिसकेको पुलको मुखको जमिन हेर्दाहेर्दै भासियो । धार्के बजारका स्थानीय जगन्नाथ आचार्यले भन्नुभयो, ‘पुरानो पुलपट्टी बढी नखोतल्नुस् पहिरो जान्छ पछि समस्या आउँछ भनेर कामदार र साइड हेर्ने इञ्जिनियरलाई पटकपटक भन्यौँ, हाम्रो कुरा सुन्नै चाहेनन्, अहिले यो अवस्था आयो ।’

सडक बन्द भएपछि प्रहरीले बुधबार पनि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको थियो । पूर्व-पश्चिमबाट काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने सवारीसाधनले हेटौँडा-काठमाडौं र काठमाडौं-नुवाकोट-गल्छीको बाटोलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ । धादिङ, नुवाकोट, र रसुवाबाट काठमाडौं भित्रिने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे-ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । यस्तै, पूर्व-पश्चिमबाट काठमाडौं आउजाउ गर्नेले हेटौँडा हुँदै दामन-पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् । नयाँ पुलको फाउन्डेसन बनाउने क्रममा सावधानी नअपनाएकै कारण समस्या उत्पन्न भएको धेरैको बुझाइ छ ।

राप्ती राजमार्ग दैनिक १० घण्टा बन्द हुने
राप्ती राजमार्गअन्तर्गत बांगेलाखुरी–सिमखोली सडक बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नियमित गाडी सञ्चालनमा आउँदा सडक स्तरोन्नतिको काममा अवरोध सिर्जना भएपछि बांगेलाखुरी-सिमखोली सडक दैनिक १० घण्टा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार बुधबार वैशाख २० देखि २७ गतेसम्म आठ दिनका लागि उक्त सडक खण्ड बन्द गरिएको कार्यालयले जनाएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ । तीन किलोमिटर क्षेत्रमा पर्ने ओरालो सडक खण्डमा कटिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने भएकाले सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम हुने भएकाले सडक डिभिजन कार्यालय दाङको आग्रह तथा समन्वयमा सूचना प्रकाशन गरेर सडक पूर्ण रूपमा बन्द गरिएको कार्यालयले जनाएको छ ।

तनहुँमा घरमा ठोक्किँदा तीन जनाको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । बुधबार बिहान ना४ख १९७३ नम्बरको ट्रकले घरमा ठक्कर दिँदा घाइते भएका तीन जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ट्रकले ठक्कर दिएको थियो । प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा तनहुँ बन्दिपुर गाउँपालिका-१ बस्ने १२ वर्षीय आयुस भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहनुभएको छ । दुर्घटनामा आठजना घाइते भएका थिए । घाइते भएकाहरूलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाएकोमा तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका बाँकी पाँच जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?