विन्ध्यवासिनी दीर्घ साधना सम्मान प्रकाश गुरुङलाई

Read Time = 3 mins

काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्डको तेह्रौं संस्करणमा प्रकाश गुरुङलाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । विन्ध्यवासिनी फाउण्डेशनद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्डमा समारोहमा गीतसंगीतमा अमूल्य योगदान पुर्‍याएबापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित विन्ध्यवासिनी दीर्घ साधना सम्मान-२०७९ बाट सम्मानित गरिएको हो ।

त्यसैगरी नगद ५० हजार रुपैयाँसहित गायिका सुकमित गुरुङलाई विन्ध्यवासिनी संगीतसाधना सम्मान-२०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोकसंगीत सम्मान २०७९ बाट नगद २५ हजार रुपैयाँसहित बद्री पंगेनीलाई सम्मान गरिएको थियो ।

समारोहमा लोकगायक पंगेनीले आफूलाई शब्दरूपी सम्मान र माया काफी हुने भन्दै सम्मानबापत प्राप्त २५ हजार रुपैयाँ विन्ध्यवासिनी फाउण्डेशनलाई हस्तानतरण गर्नुभएको थियो । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व.प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज संगीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भविन ढुंगाना र यस वर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मान–२०७९ नगद २५ हजार रुपैयाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको थियो ।

विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीतिसंग्र्रह ‘नजर-३’ विमोचन गरिएको थियो भने नजर-२ गीतिसंग्रहको सम्पूर्ण आम्दानी झुम्लावाङ भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो । विन्ध्यवासिनी फाउण्डेशनले यसअघि नजर गीतिसंग्र्रहबाट संकलित सम्पूर्ण आम्दानी आठ लाख १८ हजार २५० रुपैयाँ दुई किस्ता गरी सोही संस्थालाई हस्तान्तरण गरेको फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?