अन्नपूर्ण केबलकारले सेयर जारी गर्ने

Read Time = 3 mins

काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत दुर्ई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले साधारण सेयर जारी गर्ने भएको छ । अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकारमध्ये हिमशृंखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकार हो ।

सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अन्नपूर्ण केबलकारले कम्पनीको जारी पुँजी एक अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । २०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले सर्वसाधारणका लागि २० प्रतिशत सेयर निष्कासन गर्नेछ ।

केबलकारमा जनताको सहभागिता बढाउन २० प्रतिशत सेयर बिक्रीको निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरस्थित अन्नपूर्ण केबलकारको बटम स्टेसन निर्माण गरिएको छ ।

जसको निर्माण लागत एक अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए भने बैंकसँग एक अर्ब सात करोड रुपैयाँ ऋण लिएको थियो ।

जापानिज निप्पोन केबलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएको केबलकारमा क्याबिनसहित १८ गोन्डोला रहेका छन् । केबलकारको सुरुको स्टेसनदेखि अन्तिमसम्म १३ टावर रहेका छन् । एक घण्टामा पाँच सयजना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?