नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसभित्र तीव्र ध्रुवीकरण

भ्रष्टाचारीलाई निकालेर फाल्ने महामन्त्री थापाको चेतावनी

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसभित्र तीव्र रूपले ध्रुवीकरण बढ्दै गएको छ । कांग्रेसको नेतृत्व र संस्थापन पक्षकै कतिपय नेताहरू यस प्रकरणको लहरो नेता बालकृष्ण खाँणभन्दा माथि जान नहुने पक्षमा देखिएका छन् । संस्थापन इतरका नेताहरूको जोड यस प्रकरणमा जोडिएका कोही पनि उम्किन नहुने पक्षमा छन् । शरणार्थी प्रकरण र भ्रष्टाचार मुद्दालाई लिएर महामन्त्री थापाले देशव्यापी अभियान छेड्न खोज्नुभएको छ । जसलाई उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतको साथ छ । इतर समूहका नेताहरू मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरे लगायतको अर्को टोलीले पार्टी रूपान्तरणका लागि भन्दै अर्को अभियान थालिसकेका छन् ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा हिरासतमा राखेर प्रहरीले बयान लिएको छ । पार्टीका पूर्वसभासद् आङ्टावा शेर्पा पनि हिरासतमा हुनुहुन्छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं पार्टी केन्द्रीय सदस्य आरजू राणा र पूर्वगृहमन्त्री खाँण पत्नी एवं केन्द्रीय सदस्य मञ्जु खाँण पनि यो प्रकरणमा मुछिएको आशंकामा प्रहरीले प्रमाण जुटाइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसभित्रको मतभेद सार्वजनिक रूपमै छरपस्ट हुन थालेको छ । निलम्बनका विषयमा पार्टी पदाधिकारीबीचमै विवाद देखिएपछि गत बिहीबार दोस्रो दिन बसेको पदाधिकारी बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ । खाँण कांग्रेसको केन्द्रीय सदस्य छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नै खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बन गर्ने पक्षमा नभएकाले पदाधिकारी बैठकले निष्कर्ष निकाल्न सकेन । पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पु¥याउन र पार्टीको छवि जोगाउन खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राख्नुभएको थियो । त्यसको चर्को प्रतिवाद गर्दै संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले खाँणलाई फसाउन खोजिएको दाबी गर्दै कुनै पनि हालतमा निलम्बन गर्न नहुने अडान लिनुभएको थियो । खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा केहीछिन चर्काचर्की परेपछि महामन्त्री थापाले खाँण आफैँले अनुसन्धानका लागि सहयोग पु¥याउन जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुपर्ने विकल्प सुझाउनुभएको थियो ।

नक्कली शरणार्थी बनाउनु संगठित र गम्भीर अपराध मात्रै नभएर राष्ट्रघाती काम रहेको तर्क गर्दै यसलाई गम्भीर रूपमा लिन नेतृत्वलाई नेताहरूले दबाब दिए पनि सभापति देउवाले अझै परामर्श गर्ने भनेर टारिरहनु भएको छ ।

छलफल गर्न आलटाल गर्दै देउवा
अन्तर्राष्ट्रिय मञ्चमा देशकै बदनाम गराउने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण र पूर्वसभासद आङ्टाबा शेर्पा पक्राउ परिसक्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्ने इच्छा नै देखाउनुभएको छैन । कांग्रेसको विधानमा दुई महिनामा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्ने व्यवस्था छ तर बैठक नबसेको नौ महिना भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाउँदै गरिएको ठगी धन्दामा आफ्नै पार्टीका नेताहरू संलग्न रहेको आरोप लाग्दासमेत सभापति देउवाले बैठक टार्न थालेपछि महामन्त्री गगन थापाले मंगलबार विज्ञप्ति नै जारी गर्दै आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ । त्यसलाई पार्टीकै दृष्टिकोणका रूपमा लिनसमेत महामन्त्री थापाले आहृवानसमेत गर्नुभएको छ । अनुसन्धानको दायरामा परेका जोसुकै सार्वजनिक पदबाट अलग हुनुपर्ने, नभए पार्टीले निलम्बन गर्नुपर्ने थापाको धारणा छ ।

देउवा पत्नी आरजू राणा र खाँण पत्नी मञ्जुले गिरोहबाट पैसा लिएको भनिएको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेकै बेला पार्टी प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री प्रकाशरण महतले भने पत्रकार सम्मेलनमार्फत नै प्रतिरक्षा गर्नुभएको छ । पार्टी प्रवक्ता महतले अडियोको वैधानिकताबारे प्रहरीले जाँच गरिरहेकै बेला ‘फेक’ अडियोलाई लिएर ‘मिडिया ट्रायल’ गर्न खोजिएको भन्दै आरजूको बचाउ गर्नुभएको हो । नेतृत्वले बैठक बोलाउन चासो नदिएपछि पार्टीको भविष्य जोगाउन सबै विषय र मुद्दाबारे सार्वजनिक रूपमै राख्न सभा बोलाउने विषयमा छलफल चलिरहेको महामन्त्री थापानिकट एक नेताले जानकारी दिनुभयो । सभापति देउवाले वैशाख २८ मा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन खोज्नुभएको थियो । तर, बुधबार र बिहीबार बसेको पदाधिकारी बैठकमा उपसभापति गुरुङ, महामन्त्रीद्वय थापा र शर्माले खाँणको पार्टी सदस्यता निलम्बन गर्नुपर्ने माग उठाएपछि पछि हट्नुभएको हो ।

दोषीलाई ढाकछोप गरे कांग्रेस अप्ठ्यारोमा पर्छ : डा.कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण कुनै बाहनामा ढाकछोप गरे कांग्रेस अप्ठ्यारोमा पर्ने बताउनुभएको छ । नेपाली नागरिकलाई अनागरिक बनाउँदै विदेश पठाउने कार्य लज्जास्पद भएको कोइरालाको टिप्पणी छ । कुनै पनि बहानामा यो प्रकरण ढाकछोप गर्न नहुने स्पष्ट पार्दै डा.कोइरालाले भन्नुभयो, ‘कुनै बाहनामा पनि यो प्रकरणलाई ढाकछोप गर्न हुन्न, ढाकछोपको कोसिस ग¥यौँ भने कांग्रेसको अवस्था के हुन्छ ? अप्ठ्यारो स्थिति हुन्छ । देशकै अवस्था पनि नाजुक भएर जान्छ । यो मुद्दा नेपालभित्र मात्र सीमित छैन, अन्तर्राष्ट्रियकरण भइसकेको छ । अरू मुद्दा ल्याएर यो मुद्दा कमजोर बनाउने हो कि भन्ने चिन्ता लागेको छ । जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुनबमोजिम कारबाही हुनैपर्छ ।’

पार्टीले भ्रष्टाचारीलाई बोक्न सक्दैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताउनुभएको छ । शरणार्थी प्रकरणमा आरोप लागेका खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा केही दिनदेखि पार्टीमा बहस चलिरहेको जानकारी दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘पार्टीमा निलम्बन गर्ने कि नगर्ने बहस चलिरहेको छ । आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो । जो-जो मुछिन्छ, उसलाई कारबाही गर्नुपर्छ । केही साथीहरूले हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा नै छैन भनिरहेका छन् । परम्पराका नाममा किन गलत कुरा बोकिरहने ? कांग्रेसमा आबद्ध कोही कुहियो भने त्यसलाई निकालेर फाल्ने हो, अनि बल्ल पार्टी चल्छ ।’ महामन्त्री थापाले पार्टीमा भएको व्यक्ति भ्रष्टाचारी हुनसक्ने तर पार्टी भ्रष्टाचारी हुन नसक्ने बताउनुभयो ।

कांग्रेस सहरकेन्द्रित भयो : प्रथम राष्ट्रपति यादव
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले कांग्रेस सहरकेन्द्रित भएको आरोप लगाउनुभएको छ । गिरिजाप्रसाद कोइराला रहुन्जेलसम्म गाउँगाउँमा पुगेर पार्टीका कुरा बुझ्ने प्रचलन भए पनि अहिले विस्तारै हराउँदै गएको उहाँको भनाइ छ । अहिले कांग्रेस केन्द्रीय समितिमा धेरै सदस्य रहेपनि त्यसको सही सदुपयोग हुन नसकेको टिप्पणी गर्दै यादवले भन्नुभयो, ‘कांग्रेस सहरकेन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोइरालाहरू गाउँकेन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला-जिल्लामा जानुहुन्थ्यो । नेतालाई खटाउनुहुन्थ्यो । पहिला केन्द्रीय समितिमा ३०/३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ । कमसेकम आधालाई जिल्ला-जिल्लामा खटाइदिएको भए कम्तीमा एउटामा दुईजना पुग्थे । अरू पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन् । तपाईंहरू यहाँ बसिरहनु हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?