नक्कली शरणार्थी प्रकरणमा बिहीबारसम्म पाँचजना अभियुक्तको बहस

जाहेरी र मुद्दा दर्ता हुने अवस्था नरहेको प्रतिवादीका वकिलको दाबी

यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडौँ ठगी प्रकरणमा बिहीबार पनि काठमाडौं जिल्ला अदालतमा बहस भएको छ । बिहीबार यो प्रकरणमा पक्राउ परेका सागर राई र सन्देश शर्माको पक्षमा वकिलहरूले बहस गरेका छन् । बिहीबार दिउँसोसम्म पाँचजना अभियुक्तको पक्षमा प्रतिरक्षा बहस भएको छ ।

बिहीबार वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले सानु भण्डारीको पक्षमा बहस गर्नुभएको थियो । त्यसपछि अर्का अभियुक्त सागर राईको तर्फबाट अधिवक्ताहरू प्रकाश पौडेल, विनोद कार्की, सन्तोष भट्ट र इन्द्रप्रसाद पोखरेलले बहस गर्नुभएको छ । त्यसैगरी अर्का अभियुक्त सन्देश शर्माको तर्फबाट अधिवक्ताहरू यज्ञ खतिवडा, गोपालराज अर्याल, नगेन्द्र चौहान, सुशीला कार्की र मंगल महतोले समेत बहस गर्नुभएको छ ।

ठगीको जाहेरी नै दर्ता हुन नसक्ने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको जिकिर
वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको जाहेरी नै दर्ता हुन नसक्ने बताउनुभएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको तर्फबाट बहस गर्दै श्रेष्ठले एउटा देशको नागरिक अर्को देशको नागरिक बनाउनै नमिल्ने हुनाले ठगीको जाहेरी दर्ता हुन नसक्ने बताउनुभयो ।

बिहीबार प्रतिवादी सानु भण्डारीको तर्फबाट बहस गर्दै श्रेष्ठले भन्नुभयो, ‘गजेन्द्र बुढाथोकीको जाहेरीको चौथो पेजमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषय उल्लेख छ । एउटा देशको नागरिक अर्को देशको नागरिक बनाउनै नमिल्ने हुनाले ठगीको जाहेरी नै दर्ता हुन सक्दैन ।’ नेपालीलाई भुटानी बनाउने कानुनी व्यवस्था नभएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘गैरकानुनी उद्देश्यका लागि रकम लेनदेन भएकाले जाहेरी दर्ता हुन सक्ने अवस्था छैन । जुन जाहेरी दर्ता हुने कानुनी व्यवस्था नभएको अवस्थामा जाहेरी दर्ता नै हुन सक्दैन ।’

उहाँले गजेन्द्रविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा रहेको र फरार अवस्थामा रहेको पनि बताउनुभयो । यो मुद्दाको स्रोत नै दूषित रहेकोमा एकै जनालाई पटक–पटक बयान लिन मिल्छ र श्रीमान् ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

यस्तै, वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिवादीहरू बालकृष्ण खाँणको पक्षमा पनि बहस गर्ने बताइएको छ । टंकको पक्षमा बहस गर्दा उहाँले टंक विशुद्ध होटल सञ्चालक रहेको जिकिर गर्नुभयो । कसैले उहाँको होटलमा खाए भन्दैमा मुद्दा लगाउन नमिल्ने र सानु भण्डारीको डायरीको आधिकारिकताबारे पनि जाँचबुझ हुनुपर्ने इजलासमा वरिष्ठ अधिवक्ता श्रेष्ठको माग थियो ।

सन्देश शर्माको दाबी- म आफैँ जाहेरवालाहरूबाट ठगिएको पीडित हुँ
सन्देश शर्मा पक्षका वकिलहरूले बहसमा सन्देश आफैँ जाहेरवालाहरूबाट ठगिएको पीडित भएको जिकिर गरेका छन् । उनीहरूले यो प्रकरणलाई बाहिर ल्याउनमा समेत सन्देशको प्रमुख भूमिका रहेको दाबी गरे । सन्देशले आफ्नो बयानमासमेत यही कुरा दोहा¥याउनु भएको छ । उहाँलाई जाहेरवालाहरूले पैसा फिर्तास्वरूप दुईटा चेकसमेत दिएको दाबी गरिएको छ ।

‘सन्देश आफैँ अमेरिका जान चाहन्थे । उनलाई जाहेरवालाहरूले अमेरिका लान्छु भनेका थिए’, सन्देशका वकिलहरूको तर्क थियो, ‘पछि आफूले रकम दिएर पनि अमेरिका जान नपाएपछि सन्देशले नै अरू पीडितहरू खोजेर यो घटना सार्वजनिक गरेका हुन् ।’ सन्देशको पक्षमा बिहीबार अधिवक्ताहरू सुशील कार्की, मंगल महत, नगेन्द्र चौहान लगायतले बहस गरेका छन् ।

प्रतिवादीको रक्षाका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरू
मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारबाट अभियुक्त पक्षका वकिलहरूको बहस अघि बढेको छ । सो बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसाोसिएसनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले नाम टिपाएका छन् । बुधबारदेखि अभियुक्तहरूको पक्षबाट सुरु गरेको बहसमा १३ जना वकिलहरूको सहभागिता थियो । जसमा बुधबार सबैभन्दा पहिले बिचौलियाका रूपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट बहस सुरु भएपछि सानु भण्डारी र टंक गुरुङको पक्षमा वकिलहरूले बहस गरेका थिए ।

बुधबार केशव दुलालको तर्फबाट ६ जनाले बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट एकजना वकिल विनोद शर्माले प्रतिरक्षा बहस गर्नुभएको थियो । केशव दुलाको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गर्नुभएको थियो । आइतबारदेखि मंगलबारसम्म सरकारी वकिलहरूले बहस सकेपछि बुधबारदेखि प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस सुरु भएको थियो ।

यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिन समय पाएका थिए । अभियुक्त पक्षका वकिलहरूलाई भने ६ दिनको समय दिइनेछ । जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् । १२ जना अझै फरार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?