विकासले रोक्न सकेन बसाइँसराइ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिँजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरि बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महशुस गरि राख्नु भएको छ । अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ । एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो । तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ ।

बैस जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका उहाँका दौतरी अधिकांश गाउँ छोडेर बसाइँसरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँ-गाउँमा टोल-टोलमा विकास पुगेको छ, मान्छे छैनन् । गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घरहरु रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन बनमाराले ढाकिन थालेका छन् ।

दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ । वि.सं. २०६६ सालमा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ । तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन् ।

पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे । सामान्य सेवा लिनका लागि दिनभरी लगाएर बजार धाउनु पर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन् । स्थानीय महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउनुहुन्छ । उहाँले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरि रहेको बताउनुभयो ।

“उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटोनै बनेको थिएन, हामीहरु एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आउँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौँ, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेशन-फेशनका लुगा थिएनन, भोटो लगाउँथ्यौँ” उहाँले भन्नुभयो - “बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनु पर्थ्याे, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजार तिर झर्न थाले ।”

स्थानीय ६२ वर्षीय नगेन्द्र बहादुर भण्डारीले रोजगार र विदेश हुने अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै झरेको बताउनुभयो । उहाँले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको सुनाउनुभयो । १४ वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीयहरु गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उहाँको भनाइ छ । स्थानीयहरु विदेश जान थालेपछि उनीहरुमा महत्वकाक्षां बढी हुँदै गएपछि बसाइँसराइ गर्न थालेको भण्डारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ - “पहिले विदेश जाने संख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै काम धन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाइ दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरुलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्, विदेश हुने धेरै जसो युवाका परिवार अहिले बजारमा छन्, कतिपय आज भोलीनै बजार झर्दैछन्, खै किन यसरी मान्छेहरु गाउँ छोडी राखेका छन् ?, मलाई पनि निकै आश्चार्य लागेको छ, विकास छैन भनौँ भने विकास पनि भएकै छ ।”

सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने भण्डारीले बताउनुहुन्छ । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नु पर्ने उहाँको भनाइ छ । बसाइँसराइका कारण यस वडामा रहेका विद्यालयहरुमा विद्यार्थीको संख्या पनि दिनदिनै घट्दै गइरहेको छ ।

काठेखोला गाउँपालिका-३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइँसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताउनुभयो । गाउँमा एकै पटक धेरै आयोजानका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उहाँको भनाइ छ । उहाँले जनसंख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आय आर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताउनुभयो । धम्जाबाट सबैभन्दा बढी पोखरा, बागलुङ, बुटवल र चिवतनलगायतका सहरमा बसाइँसराइ गरेर जानेको संख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ ।

“मान्छेहरु अलिअलि पैसा कमाउन थाले भने बजारनै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योग धन्दा संचालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरि स्वरोजगार बनाउने काम तर्फ ध्यान दिएका छौँ” अध्यक्ष विकले भन्नुभयो - “हामीहरुले गर्ने प्रयासहरु गर्छौँ, हिँजो स्वास्थ्य, शिक्षा, विद्युतलगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्नेहरु अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवा सुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ ।”

वडा कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइँसराइ गरेर बाहिर गरेका छन् । वडामा दर्ता गराएका बाहेक अझै बढी बसाइँसराइ गरेर गाउँ छाड्नेको संख्या बढी रहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?