अबैध रुपमा काटिएका काठ एकाएक हराउदै

हिमालय टाइम्स
Read Time = 4 mins

-सराेज निराैला

उदयपुर । उदयपुरको मैनामैनीस्थित एक सामुदायिक वन जंगलमा अवैध रुपमा ढालिएका हरिया रुखका काठ एकाएक हराउन थालेका छन् । बेलका नगरपालिका-७ मैनामैनीस्थित दुधकोसी सामुदायिक वन उपभोक्ता समूहमा अवैध फँडानी गरी गोलीया र चिरान काठ रातारात हराउन थालेको स्थानीयको भनाई छ।

अवैधरुमा रुख ढालेर घाटगद्धी गरी चिरानसमेत भईसकेको काठ वन कार्यालयले निगरानी गर्न थालेपछि हराएको भन्दै खोजी गर्न स्थानीयले माग गरेका छन् । ७ नं. वडाको जंगलका रुख ढालेर गोलीया टुन बनाई वडा नं. ८ को आरङ्गास्थित चौरीमा घाटगद्धी गरी चिरानसमेत गरेको काठ वन कर्मचारीकै आँखा अगाडि रातारात हराउन थालेको उनीहरुको भनाई छ ।

उपभोक्ताका अनुसार अघिल्लो दिनसम्म घाटगद्धीमा रहेको केही गोलीया र ३१ थान चिरान काठ रातारात गायव भएको छ । हरिया रुख ढालेको जानकारी दिए अनुसार डिभिजनबाट खटि आएको वन कर्मचारी टोलीले अनुसन्धान गरिरहेकै बेला काठ हराउनु रहस्यको विषय भएको भन्दै उपभोक्ताले खवरदारी गर्न पत्रकारलाई गुहारेका छन् । ‘वन कार्यालयसँग अनुमति नलिइ हरिया रुख फँडानी गरेर गोलीया र चिरानसमेत गरेको पाइएपछि हामीले डिभिजनमा निवेदन दियौँ’ एक उपभोक्ताले भने त्यसपछि ३ दिनयता सहायक वन अधिकृतसमेतको वन कर्मचारी आएर अनुसन्धान गरिरहेकै बेला अचम्म तरिकाले काठ हराउन थालेको छ।’

उपभोक्ताले दिएको उजुरीका आधारमा डिभिजनले सहायक वन अधिकृत रामभगत यादव नेतृत्वको कर्मचारी टोली घट्नास्थल पठाएर अनुसन्धान गरिरहेको छ । डिभिजन वन अधिकृत डा. इन्द्र सापकोटाले उपभोक्ताले अवैध रुख ढालेको भन्ने उजुरी दिएको आधारमा यादव नेतृत्वको टोली घट्नास्थल पठाएर अनुसन्धान गरिरहेको बताउनुभयाे । सापकोटाले रुख ढालेको भन्ने कुरा टोलीले पुष्टि गरिसकेको तर, परिमाण र अन्य विस्तृत विवरण पत्ता भने नलागिसकेको बताउनुभयाे । ‘यसबारे अनुसन्धान गरीरहेको छ, केही समयपछि वास्तविकता पत्ता लाग्छ’ उहाँले भन्नुभयाे।

घटनास्थलमा खटिएका सहायक वन अधिकृत यादवले समूहको वनक्षेत्रमा ३ दर्जन बढी हरिया रुख ढालेको पाइएको बताउनुभयाे । उहाँका अनुसार जंगलमा नजिक टाढा गरी एउटा करम र बाँकी सबै सालका रुख ढालेको पाइएको र कतिपय रुखहरु गोलीया टुन बनाएर चिरानसमेत गरिसकेको भेटिएको छ ।

यादवले रुख ढाल्ने काममा कसको संलग्नता छ भन्ने कुरा नखुलिसकेको र समूहका पदाधिकारी कोही सम्पर्कमा नरहेको बताउनुभयाे । समूहका अध्यक्ष मणिराज राईलगायत पदाधिकारी सम्पर्कविहीन भएकाले खोजी कार्य भईरहेको पनि यादवले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?