विपद् र सचेतता

हिमालय टाइम्स
Read Time = 7 mins

बर्खा सुरु भएको छ । केही दिनको चर्को खडेरीपछि पानी पर्न सुरु भएको छ । यसलाई मौसमविद्हरूले पूर्वमनसुन भनेका छन् । सर्वसाधारणलाई पनि मुख्य बर्खाभन्दा पहिलेको अवस्था हो भन्ने थाहा छ । वर्षा सम्पूर्ण प्राणी तथा वनस्पतिहरूका लागि वरदान नै हो तर वर्षाजन्य विपद्हरू पनि वर्षा सँगसँगै सुरु हुन्छन् । सामान्यतया सतर्कता अपनाउनुपर्छ भन्ने पनि जानकारी छ तर कोही बाध्यताले गर्दा र कोही असावधानीका कारण विपद्मा पर्ने गरेका छन् । विपद् अरू मौसममा पनि आउँछन् । हिउँदमा आगलागी र कतै-कतै सुख्खा पहिरोको जोखिम हुन्छ । चैत-वैशाखतिर हावाहुरीको जोखिम हुन्छ । यीमध्ये केही मानिसकै कारणले हुने गर्छन् भने केही विशुद्ध प्राकृतिक कारणबाट सिर्जना हुन पुग्छन् ।

त्यस कारण कुनै विपद् नहोस् भनेर मानिसले सावधानी अपनाउनुपर्ने हुन्छ भने केही विपद् चाहिँ मानिसले रोकेर रोकिँदैनन्, त्यसबाट जोगिने उपायको अवलम्बनमात्र मानिसले गर्ने हो । ज्वालामुखी तथा भूकम्प मानवीय क्रियाकलापबाट हुने जोखिम होइनन् । यिनलाई मानिसले रोकेर रोक्न सकिँदैन । त्यसबाट जोगिने उपायहरूमात्र अपनाउने हो । बाढीपहिरो र हावाहुरी पनि प्रत्यक्षतः मानिसको हातमा हुँदैन तर मानवीय क्रियाकलापबाट यसमा केही प्रभाव परेको हुन्छ । मानिसले उत्सर्जन गरेको कार्बनलगायत ग्यासबाट वातावरण प्रभावित बन्न जान्छ । वायुमण्डलमा फैलिएको कार्बनलगायत हानीकारक रसायनले वातावरण बिगार्छ र असन्तुलन पैदा गराउँदछ ।

यसले गर्दा अनावृष्टि, खण्डवृष्टि, अतिवृष्टिजस्ता प्राकृतिक गतिविधि पैदा हुन पुग्छन्, त्यस प्रकारको असन्तुलनले गर्दा नदीहरूमा अकल्पनीय रूपमा बाढी आउँछ, ठाउँठाउँमा पहिरो जान्छ । प्राकृतिक कारणले मानवीय जनजीवनसमेत प्रभावित बन्न पुग्छ । प्रचण्ड गर्मीपछि हल्का वर्षाले शीतलताको आभाष भएको छ । बर्खा भन्नु नेपालको सन्दर्भमा किसानको समय हो तर हाम्रो देश उत्तरको हिमालयबाट दक्षिणतर्फ फर्किएको भिरालो भएको भूमिबाट बनेको छ । त्यस अर्थमा चट्टान र कमलो माटोबाट भिरालो जमिनमा अवस्थित भू–भाग भएका कारण भूक्षयको जोखिम प्रायः रहन्छ । बर्खाका चार महिना बाढीपहिरोको ठूलो जोखिम देशले व्यहोर्नु पर्दछ ।

कुनै प्रकारको भौतिक तथा मानवीय क्षतिविना कुनै पनि बर्खा बितेका छैनन्, कतै न कतै कुनै न कुनै प्रकारका क्षति भएका घटना नसुनिएका छैनन् । त्यसकारण यस वर्षको बर्खामा चाहिँ विपद् हुँदैन भन्ने छैन । विश्वका विभिन्न मुलुक त्यहाँको प्राकृतिक अवस्था, भूवनोट आदि कारणले कतै भूकम्प, कतै ज्वालामुखी, कतै डुबान, आँधी हुरीसँगै सुनामीको चपेटामा पर्ने गरेका छन् । केही वर्ष पहिले हम्रो देशमा पनि अकल्पनीय रूपमा टोर्नान्डो आयो र तीन मिनेटभित्र ३३ जनाको ज्यान लियो । चट्याङ, हावाहुरीलगायतको जोखिम त परिनै रहेको हुन्छ । यस्ता कारणले गर्दा हाम्रो देश पनि विश्वका जोखिमयुक्त देशहरूकै पंत्तिमा रहन पुगेको छ । विपद् जुन प्रकृतिको हुन्छ त्यसबाट जोगिन पनि त्यस्तै उपाय अपनाउनुपर्छ ।

मनसुन सक्रिय हुनुअगावै यसवर्ष नेपालमा बाढीपहिरोबाट धेरै मानिस प्रभावित बन्ने पूर्वानुमान गरिएको छ । यसरी प्रभावित हुने मानिसहरू साढे १२ लाख अनुमान गरिएको छ । यो संख्या कुल जनसंख्याको चारदेखि पाँच प्रतिशत हो । यो कम आक्न मिल्ने संख्या होइन । त्यसैले यसलाई सामान्य मान्न मिल्दैन । यसका लागि सतर्कता वा सावधानी अपनाउनु नै बुद्धिमानीपूर्ण पहिलो काम मानिन्छ । सकेसम्म कुनै पनि प्रकारका दुःखद् घटना नहुन् भनेर सावधान रहनुपर्छ । खोलाका किनार र पहिराको जोखिममा रहेका बस्ती हटाउनुपर्छ । तिनलाई यथाशक्य वैकल्पिक व्यवस्था गर्नु आवश्यक छ । स्थानीय सरकारले यसको पहलकदमी लिनुपर्छ ।

सावधानी अपनाउँदा-अपनाउँदै पनि कुनै दुःखद् घटना भइहालेका खण्डमा सकेसम्म छिटो तिनको उद्दार र उपचार गर्न सकिने व्यवस्था गरिनुपर्छ । त्यसका लागि पहिलो प्रयास स्थानीय सरकारले गर्ने हो । विपद् व्यवस्थापनका लागि सरकारले केही व्यवस्था गरेको छ । केही निकाय स्थापना गरेको छ, केही जनशक्तिको व्यवस्था गरेको छ र केही बजेटको समेत व्यवस्था भएको हुन्छ । ती निष्क्रिय रहनु हुँदैन, तिनको अधिकतम् उपयोग गरिनुपर्दछ । यसलाई सबैले आफ्नै दायित्व हो भन्ने ठान्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?