कति संगत कति विसंग

Read Time = 16 mins

नेपालमा हरेक कुरा केही दिनपछि कर्मकाण्डी बन्दै गएका देखिन थाले । संसद्मा सांसदले जनता र देशका समसामयिक समस्या र विकास निर्माणका कार्य योजनाका सम्बन्धमा छलफल गरेर देश र जनताको आवश्यक्ता अनुसारका अल्पकालीन दीर्घकालीन योजना तय गर्नु स्वाभाविक हो तर नेपाली संसद् उडन्ते गफ, आफ्ना कुन्ठा र आक्रोश व्यक्त गर्ने थलो बनेर प्रकट भएको त लाटाले पनि देखेको भोगेको छ । मैले यी कुरा लेख्दा एक चोक्टो मासु र दुई-चार हजार रुपैयाँमा बिकेका डडेल्धुरे जनताका प्रतिनिधि र झापा तथा गोरखाली जनताका प्रतिनिधि पनि हाम्रो मानमर्दन गरियो भनेर अरिंगाल बनेर मलाई चिल्न गोलै खनिन पनि बेर छैन ।

मेरा निमित्त मानवीय मूल्य र सद्ज्ञानभन्दा उपल्लो केही पनि छैन । पूर्वप्रधानमन्त्रीलाई संसद्‌मा असीमित समय बोल्न दिएको आफ्नै बुद्धिहीनताका कारणले भोग्नु परेका दुःख, झेल्नु परेका कुण्ठा र आक्रोश व्यक्त गर्न दिएको पक्कै पनि होइन । आफू संविधान लेखनमा सरिक भएर लेखेको संविधानमै नभएको अधिकार प्रयोग गर्नु र दुई-दुईपटक सदनको गर्दन छिनाउनु, जाल गरेर पुनः प्रधानमन्त्री हुने इच्छाका साथ राष्ट्रपतिलाई विवादमा पार्नु, आर्थिक या अधिकारको दुरुपयोगकाप्रति शून्यसहनशीलताको स्लोगन दिएर आफन्त गोकुल, भानुभक्त ढकाल, ईश्वर पोखरेल जस्ता आफ्ना नजिककालाई जोगाउन अरिंगाल बनेर खनिन निर्देश दिएर देशमा उपद्रब मच्चाउनु ।

घाँस, कुटो-कोदालो गरेर कोदो र मकै उब्जाएर दशैँ, श्राद्ध, तीज जस्ता केही चाडपर्वमा मात्रै दुईतिर तिखारिएको भात या सिताको दर्शन गर्ने नेपालीका नेता पद, धन, शक्ति भनेपछि देशका नागरिक पनि बेच्न सक्ने बहादुरको यो देशका राजनीतिमा निकै बलियो पकड छ ।

वाम भएर जलहरी चढाउने निहुँमा ११ किलो सुन दन्काउनु । वाह रे ओली महोदय ! पशुपतिको जलहरी काण्डमा आफैं फस्दा संसदलाई नै बन्धक बनाउनु । संसदीय सुविधाको केपी शर्मा ओलीले जसरी दुरुपयोग गरेर संसदीय व्यवस्था र सम्मानको अपमान गरे त्यो गरेबापत उनले नेपाली जनतासँग क्षमायाचना गरेनन् भने उनी दम्भी, पाखण्डी र सनके दिल र दिमागका मान्छे हुन् भनेर निर्णय गर्नेछ भविष्यमा लेखिने इतिहासले । त्यस्तै पटकौं–पटकका संसदीय गतिविधिलाई हेरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने इतिहासले बकुल्लो चरित्रको मान्छे भनेर निर्णय गरो भने दुनियाँका कुनै मान्छेले आश्चर्य मान्ने छैनन् किनभने उहाँको ध्यान समाज बनाउने या दलका मूल्यमान्यता स्थापित गर्नेमा भन्दा सत्ता प्राप्ति र सत्तामा टिक्ने टिकाउने कुरामा मात्र बकुल्लाले माछामा ध्यान केन्द्रित हुनेगरेको देखिन्छ ।

तेइस सिट जितेर पनि प्रधानमन्त्री बन्नु, सांसद भगाएर विश्वासको मत लिने प्रयत्न गर्नु, आफैंले घोषणा गरेका मितिमा संसदीय चुनाव नगराएर अक्षमको पगरी गुत्नु, पार्टी फुटाएर फेरि पार्टीमा आउनु, चार वर्षका लागि छानिएर छ वर्ष सभापतिका पदको उपभोग गर्नु, दुईदेखि तीन महिनामा पूरा गर्नुपर्ने पार्टीका अंग पूरा नगर्नु र फेरि पनि पार्टीलाई सिध्याउने नियतले नै हुनुपर्छ यो देशमा प्रतिवर्ष देश र विदेशका श्रम बजार या विचार बजारमा जाने २० लाख युवा तयार हुन्छन् भन्ने कुरो जान्दाजान्दै पनि नौ वर्षदेखि कांग्रेसका भ्रातृ तथा पेशागत शुभेच्छुक संघ संगठन चुनाव हुन नदिनु जस्ता जघन्य कृत्यका ढिकुराबाट सत्ता र शक्तिका र्‍यालका लत्का चुहेका देखिन्छन् उहाँका मुखमा भारतीय प्रधानमन्त्री लुम्बिनीमा आउँदा त उहाँले प्रत्यक्ष नै देशविदेशलाई आँखा पीरा हुने गरी नै देखाइदिनुभयो ।

यस्ता बहादुर इतिहास र सभ्यताले नै यिनका करनी र कथनीमा आँखा चिम्लेर पनि नपुगी लज्जाबोध गर्नैपर्ने प्रधानमन्त्री पाएको छ देशले त्यो पनि एउटा दुईटा एकात् पटक होइन धेरैजना पटक पटक । अतः नेपाली सभ्यता अधमरो यिनैले बनाए । पुर्खाले जोगाएको सभ्यतालाई र देशको शरीलाई युगयुगसम्मै पुग्ने गरी झुकाए यिनले । मेरा नजरमा यो विसंगत भए पनि उनका पूजारीका नजरमा यो क्षारसमुद्रमा सेतुबन्धनभन्दा ठूलो ऐतिहासिक स्मारक मानिएला तर सभ्यता र इतिहासले यसलाई सर्वात्मना घृण गर्ने नै छ ।

अर्का मान्छे हुन् सत्ताका लागि उचित अनुचित कुनै कुराको ख्याल नगर्ने र आफ्ना स्वार्थका निमित्त धर्म, संस्कृति, विचार, प्रतिज्ञा, आचार तथा भेषभूषा सबै एकै छिनमा परिवर्तन गरेर पनि प्रस्तुत हुनसक्ने बहादुर प्रधानमन्त्री पुष्पकमल दाहाल । राजनीतिक परिवर्तनका निमित्त सञ्चालन गरिएका आन्दोलन र सशस्त्र क्रान्तिमा मान्छे मर्छन्/मारिन्छन् । अपराधी र निरपराधी पनि यो गणितीय सत्य हो तर निरपराध जनताका घरमा पुगेका यिनले भनेका कथित जनमिलिसियाले गाउँगाउँम गरेका ज्यादतीको संस्मरण गरे जनताले भने संसारका सबै न्याय व्यवस्थामा रहेका दण्ड सजायका व्यवस्थाले आफूलाई कमजोर, असफल, अपूर्ण र असक्षम महसुस गर्नेछन् ।

घाँस, कुटो कोदालो गरेर कोदो र मकै उब्जाएर दशैँ, श्राद्ध, तीज जस्ता केही चाडपर्वमा मात्रै दुईतिर तिखारिएको भात या सिताको दर्शन गर्ने नेपालीका नेता पद, धन, शक्ति भनेपछि देशका नागरिक पनि बेच्न सक्ने बहादुरको यो देशका राजनीतिमा निकै बलियो पकड छ । यो कति उचित कति अनुचित भनेर विचार विमर्श गर्ने खालको पनि चेतना नभएका जनता छन् । ज्यानमारा जेलबाटै चुनाव जीत्छन्, मन्त्रिमण्डल सत्ता टिकाउन आममाफीको सिफारिश गर्छ, राष्ट्रपति विवेकका हर्पेमा लागेको बिर्को झनै कसेर आँखा चिम्लेर टट्वानगिरी गर्दछन् मन्त्रीमण्डलको । हिजो एकजनाको ताबेदारी यो देशकी राष्ट्रपतिले गरिथिन् आज दल र गठबन्धनको ताबेदारी गरे राष्ट्रपतिले । ताबेरदार बनेर कुर्नेश गर्नेभन्दा अर्को विवेकवान् मान्छे अब जन्मला ? कुनै व्यक्ति कुनै संस्थाका लागि आवश्यक अनावश्यक उपयुक्त या भारदायक के हुन्छ बुझ्दै नबुझी आफ्ना पुच्छ्रेले भनेपछि कुनै संस्थाका पदाधिकारीलाई कस्तो पर्छ त्यो विचारै नगरी टेलिफोन गरेर थर्काउने नेता, आफ्नो भनेपछि जे पनि मिल्छ भन्ने धारणाका कार्यकर्ता, टेबुलमुनिबाट नलिए स्वास्नी पाल्न नसक्ने कर्मचारीतन्त्रका मान्छे, आआफ्ना कर्मक्षेत्रको ज्ञान र दक्षतामा भन्दा नेताको दासतामा विश्वास गर्ने प्राध्यापक, शास्त्रमा भन्दा लेनदेन र अपराधी चोख्याएर धन कमाउन पल्केका कानुन्ची, उद्योगका नाममा राष्ट्र खुर्कन पल्केका उद्योगपति, सुपथ व्यापारभन्दा छलछामका धन्दामा लागेका व्यापारी, बिरामीको स्वास्थ्यभन्दा फि लिन पाउने दिन गणना गरी फेरि आउन सल्लाह दिने चिकित्सक सबै भ्रष्ट हुन् । देश समाज र संस्कृति बिगारा यिनै हुन् ।

खानेले खान्छ बुझ्ने बोल्दैन निरीह चाहिँ ब्रहृमलुट टुलुटुलु हेरेर धिक्कारेर बस्छ । मत्स्यन्याय भनेर हाम्रा पुर्खाले यस्तै अवस्थालाई भनेका थिए । मानव समाज अज्ञान र अति स्वार्थमा एकै अवस्थामा पुग्दोरहेछ । अर्लीम्यानका क्रियाकलाप र आजको विकसित मानवका स्वार्थप्रेरित क्रियाकलापमा त्यति भिन्नता नदेखिँदो रहेछ ।

यिनलाई बिगार्ने घुस्याहा मन्त्री, घुस्याहा सचिव, घुस्याहा सांसद, घुस्याहा सिडियो आदि आदिका साथै सचिव र ठूला व्यापारी तथा उद्योगपति नै हुन् जसले मन्त्री प्रधानमन्त्री र सांसदलाई पनि घुस खान सिकाउँछन् । असार मसान्तमा बजेट सक्न भनेर पिच त्यो पनि दुई महिनाअघि गरेका माथि नै पुनः पिच गरेर कमिसन कुम्ल्याउने स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी तथा अभियन्ताहरू अहिले देशैभर मरेर राष्ट्रको ढिकुटी सिध्याउन दत्तचित्त भएर लागेका छन् । जता हेरे पनि उदाहरण भेटिन्छ तर सम्बद्ध निकायका आँखा नोटले टालिएका हुनाले देख्दैनन् होला । बानेश्वर ३१ नम्बरमा भएका कृत्य पक्का पनि देशभर भएको हुनुपर्छ । यो काम आजदेखिको होइन नेपाल देश बनेदेखिकै होला । खानेले खान्छ बुझ्ने बोल्दैन निरीह चाहिँ ब्रहृमलुट टुलुटुलु हेरेर धिक्कारेर बस्छ । मत्स्यन्याय भनेर हाम्रा पुर्खाले यस्तै अवस्थालाई भनेका थिए । मानव समाज अज्ञान र अति स्वार्थमा एकै अवस्थामा पुग्दोरहेछ । अर्लीम्यानका क्रियाकलाप र आजको विकसित मानवका स्वार्थप्रेरित क्रियाकलापमा त्यति भिन्नता नदेखिँदो रहेछ । हुन त हाम्रा पौरस्त्याचार्य ‘चक्रवत् परिवर्तन्ते दुःखानि च सुखानिच’ भनेर समग्र जगत् र यसका क्रियाकलापलाई उहिल्यै औंल्याएका थिए ।

अहिले ओलीको घर जनाकीर्ण बन्ने प्रयत्न गर्दै छ तर मान्छे डराएका छन् उनको अर्धंगीपाराको स्वभावका कारण । यता शेरबहादुर आफू अब आउन नपाउने र अब कसैले आत्तिनु नपर्ने भनेर भन्दै छन् भक्तपुर चितवन जस्ता ठाउँमा पुगेर । एघार अक्षैहिणी मानवको मृत्युपछि युधिष्ठिरले पाएको हस्तिनापुरे राज्य र १२ वर्षपछि शेरबहादुरले छाडेको कांग्रेसमा कति अन्तर रहला ? विगत नौ वर्षदेखि उनले भ्रातृ तथा शुभेच्छुक र पेशागत संघ संगठनको चुनाव नगरी आप्mनै चाकडीदार एकजना ल्याएर काम चलाउँदै आएका छन् । नेपालमा अहिले वर्षको बीस लाख युवक विचार, श्रम, रोजगार बजारमा जान आउँछन् । यदि चुनाव गराएको भए वार्षिक ५० हजारमात्रै कांग्रेसमा आउँदा पनि त घण्टीमा लागेको युवको जमात कांग्रेसमा नै लाग्थ्यो नि । पचास हजारको मात्रै हिसाबले पनि चार लाख पचास हजार युवक नेकामा आउन नपाएको देखिन्छ । पृथ्वीमा भएका सारा मान्छे, प्रविधि, धन, सम्पदा आदिको सर्वनासपछि धर्मराजले हस्तिनापुरको राजगद्दी समाले झैं नेपाली कांग्रेसको विरासत सम्हाल्न आउनेले पनि कुरुक्षेत्रको लडाइँभन्दा भयानक प्रतिस्पर्धापछि मात्र कांग्रेस सभापतिको गद्दी पाउनेछ । त्यसबेला शेरबहादुरजीले चाल पाउनुहुनेछ आफ्ना स्वार्थप्रेरित शैलीले कति ठूलो नोक्सान गरेछ भन्ने कुरो ।

अतः सबै प्रजातन्त्रवादी मिलेर नेपाली कांग्रेस रूपान्तरणमा सत्तासयरका क्रममा नगनाएका, बिरामी नभएका सबै मिलेर भ्रष्टाचारविहीन, जालझेल र फरेबविहीन, विधिविधान अनुसार सञ्चालित हुने कांग्रेस निर्माण गर्न तराई, पहाड र हिमालका ओजस्वी र आसलाग्दो चरित्र र सत्संकल्पवान् युवकयुवतीलाई एकजुट गराउने यो रूपान्तरण अभियानलाई जो जहाँ छौं सबैले साथ दिएर कांग्रेस पुनर्निमाणमा योगदान दिऊँ । यो नै एकमात्र उपाय हो रूखमा भोट हाल्छु भन्नेलाई कारबाही गरेर निष्काशन गर्दा नेपाली जनताको घाउ निको पार्ने एकमात्र औषधि भनेर ठानौं । बीपी, सुवर्ण, गणेशमान, रामनारायण मिश्र, महेन्द्रनारायण निधि र तुलसा हेमरम जस्तालाई सम्मान गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?