इंग्ल्याण्ड र फ्रान्सको जित

Read Time = 4 mins

लण्डन । युरोकप २०२४ को छनोट खेलमा इंग्ल्याण्ड र फ्रान्सले जित हात पारेका छन् । इंग्ल्याण्डले माल्टामाथि चार-शून्यको सानदार जित हात पारेको हो । इंग्ल्याण्डको सानदार जितमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, हृयारी केन र कलुम विल्सनले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको आठौँ मिनेटमा फर्डिनान्डो एपापको आत्मघाती गोलबाट इंग्ल्याण्डले एक-शून्यको अग्रता लियो ।

२८औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले दोस्रो गोल गर्नुभयो । ३१औँ मिनेटमा हृयारी केनले पेनाल्टीमार्फत् इंग्ल्याण्डका लागि तेस्रो गोल गर्नुभयो भने ८३औँ मिनेटमा कलुम विल्सनले पेनाल्टीमै गोल गर्दै इंग्ल्याण्डलाई चार-शून्यको जित दिलाउनुभयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको इंग्ल्याण्ड तीन खेलबाट नौ अंक जोडेर समूह ‘सी’ को शीर्षस्थानमा रहेको छ । माल्टाले तीन खेलबाट अंक जोड्न सकेको छैन । यही समूहको अर्काे खेलमा युक्रेनले नर्थ म्यासेडोनियामाथि तीन-दुईको रोमाञ्चक पुनरागमन जित निकालेको छ । यस जितले युक्रेनले समूहमा दुई खेलबाट तीन अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित नर्थ म्यासेडोनिया तीन अंकसहित चौथो स्थानमा छ ।

यस्तै, फ्रान्सले जिब्राल्टारमाथि तीन-शून्यको सहज जित दर्ता गरेको हो । फ्रान्सको सहज जितमा ओलिभर जिरुड र केलियन एमबाप्पेले एक-एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरूप आएको थियो ।

खेलको तेस्रो मिनेटमा नै ओलिभ जिरुडको गोलबाट फ्रान्सले एक-शून्यको अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पार्नुभयो । ७८औँ मिनेटमा एमेन मोउलेहीले आत्मघाती गोल गरेपछि फ्रान्सले सहज जित हात पा¥यो ।

यस जितसँगै लगातार तेस्रो जित निकालेको फ्रान्स समूह ‘बी’ मा तीन खेलबाट नौ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जिब्राल्टर अंकविहीन हुँदै पुछारमा छ । ग्रिसको ६ तथा नेदरल्याण्ड्सको तीन अंक छ ।

यस्तै, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्याण्डले जर्मनीलाई एक-शून्यको जित हात पार्‍यो । पोल्याण्डको जितमा पहिलो हाफमा ज्याकव किविओरले गरेको गोल नै निर्णायक बन्यो । जर्मनी पछिल्लो तीन खेलमा जितविहीन छ । गत मार्चमा मैत्रीपूर्ण खेलमै पेरुलाई दुई-शून्यले पराजित गरेयताको तीन खेलमा जर्मनीले जित निकाल्न सकेको छैन । बेल्जियमसँग तीन-दुईले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग तीन-तीन गोलको बराबरी खेलेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?