मेलम्ची आयोजनालाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ले शनिबार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्नुभएको छ । शनिबार बिहान स्थलमार्ग हुँदै आयोजनाको बाँध क्षेत्र अम्बाथान पुग्नुभएका प्रधानमन्त्रीले बाढीले परियोजनामा पुर्‍याएको क्षति र निर्माणबारे जानकारी लिनुभयो ।

त्यसक्रममा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी अधिकृत कमलराज श्रेष्ठले यसपटक साउन र भदौ महिनामा पानी पथान्तरण बन्द गर्नुपर्ने प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो । पानी पथान्तरणको स्थायी व्यवस्थापन नभइसकेकाले बर्खाको दुई महिना पानी पथान्तरण रोक्ने कि भन्ने ढंगको ब्रिफिङ गरेको श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

‘आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइनँ, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गर्छु,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो ‘यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ । थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको पनि उल्लेख गर्नुभयो । अहिले सुरुङको मुखमा ढुंगा र गेग्रान नछिर्ने उपकरण राखेर अस्थायी तवरले पानी पथान्तरण भइरहेको छ ।

दुई वर्षअघि भ्रेमाथाङको भेलबाढीका कारण परियोजनाको मुख्य बाँध क्षेत्र सुरुङ र तटीय क्षेत्र तहसनहस पारेको थियो । बाढीको दुई वर्षसम्म पनि बाँध क्षेत्रको थेग्रिनी हटाइएको छैन । इन्टेक पुरिएकाले अहिले अस्थायी तरिकाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा पथान्तरण गरिएको छ । अघिल्लो वर्ष बर्खायाममा सुरुङ बन्द गरिएको थियो । यसपटक मनसुनयाममा पनि पानी पथान्तरण गर्ने तयारी सरकारको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?