गुल्मीमा सात सय एक जना शौचालय विहीन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मीे । गुल्मीमा सात सय एक जनसंख्या अहिले पनि शौचालय बिहिन अवस्थामा रहेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख लेखनाथ पाण्डेले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्दै यस जिल्लामा १.०६ प्रतिशत जनसंख्या शौचालय बिहिन अवस्थामा रहेको बताउनुभयो ।

उहाँका अनुसार फ्लस भएको शौचालय प्रयोग गर्ने जनसंख्या दुई हजार ४२७ रहेको छ । सेफ्टी ट्याङ्की भएको शौचालय प्रयोग गर्ने जनसंख्या ५६ हजार ४३ रहेको छ । साधारण शौचालय प्रयोग गर्ने जनसंख्या छ हजार ८१९, सार्वजनिक शौचालय प्रयोग गर्ने जनसंख्या ११० रहेको पाण्डेले जानकारी दिनुभयो ।

यस्तै यस जिल्लामा विद्युत प्रयोग गर्ने जनसंख्या ६४ हजार ४९१ रहेको छ । सोलार प्रयोग गर्ने जनसंख्या एक हजार १८०, बत्ती बाल्नका लागि मट्टितेल प्रयोग गर्ने जनसंख्या २३०, वायो ग्यास प्रयोग गर्ने जनसंख्या १० र अन्य १८९ जनसंख्या रहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा हिन्दू धर्म मान्ने जनसंख्या दुई लाख ३८ हजार ५९, बौद्ध धर्म मान्ने जनसंख्या पाँच हजार ३०५, प्रकृति एक हजार ४७६, बोन धर्म मान्ने जनसंख्या ५९६, इस्लाम धर्म मान्ने जनसंख्या ५४३, क्रिश्चियन धर्म मान्ने जनसंख्या ५०४, किरात धर्म मान्ने १० र शिख धर्म मान्ने जनसंख्या १ रहेको पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार गुल्मी जिल्लाको जनसंख्या दुई लाख ४६ हजार ४९४ रहेको छ । जसमा पुरुष एक लाख १२ हजार २५ र महिलाको जनसंख्या एक लाख ३४ हजार ४६९ रहेको छ । यस्तै अक्सर विदेशमा बस्ने जनसंख्या ४१ हजार ५५० रहेको छ । जसमा पुरुष ३५ हजार ४७९, र महिलाको जनसंख्या छ हजार ७१ रहेको छ । यस जिल्लाको साक्षरता दर ८०.३४ प्रतिशत रहेको छ ।

२०७८ सालमा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ जनगणना गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौं र संघीय प्रणाली पश्चातको पहिलो जनगणना हो । नेपालमा वि.सं.१९६८ सालमा जनगणना गर्ने कार्य सुरु भए पश्चात प्रत्येक १०/१० वर्षको अन्तरमा जनगणना हुँदै आएको छ ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, आर्थिक तथा सामाजिक रुपले पछाडी परेका वर्ग, क्षेत्र र समुदाय लगायत आम नागरिकको हक हितको सम्बोधन गर्न तथा तीन तहको सरकारलाई वित्तिय स्रोतको बाँडफाँड लगायतका कार्यका लागि आवश्यक तथ्याङ्ग जनगणनाबाट प्राप्त हुने भएकाले यसको महत्व रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले स्थानीय तहले बजेट बनाउनका लागि, समन्वयमा लागि यसले सहयोग पुर्याउने उल्लेख गर्नुभयो । राष्ट्रिय जनगणना २०७८ गुल्मी जिल्लास्तरीय नतिजा सार्वजनिकिकरण कार्यक्रममा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिध, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन रामचन्द्र वाग्लेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?