रास्वपा स्थापनाको उतारचढावपूर्ण एक वर्ष : ठूलो उपलब्धि, ठूल्ठूलै विवाद

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । गत आम निर्वाचनको परिणाम अप्रत्यासित आयो । नेपाली राजनीतिमा वर्षौं रजगज गरेका दलहरूलाई चक्मा दिँदै नयाँ दलहरू उदाए । गठबन्धन गरेर चुनावमा होमिएका प्रमुख दलहरू खुम्चिँदा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित जनमत पार्टी र नागरिक उन्मुक्ति पनि उदाए । प्रतिनिधिसभामा चौथो ठूलो दल बन्यो रास्वपा । गत चुनावभन्दा करिब ६ महिनाअघि मात्रै गठन भएको रास्वपाले ल्याएको मत धेरैको कल्पना र अपेक्षाविपरीत थियो । स्वयं दलका सभापति रवि लामिछाने पनि सो परिणाम आउनेमा विश्वस्त हुनुहुन्थ्यो । पार्टी स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले विश्वास मतमा बदलिएको बताउनुभयो । ‘सुरुवात गर्दा विश्वास त थियो तर, विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने हेक्का थिएन,’ उहाँले भन्नुभयो, ‘समाज अब परिवर्तनका लागि तयार भएको स्पष्ट संकेत दिएको छ । हाम्रो भाषामा घण्टी बजिसकेको छ ।’

गत निर्वाचनमा अचानक उदाएको रास्वपाले वैशाखमा भएको उपनिर्वाचनमा प्रमुख दलहरूविरुद्ध साच्चिकै घण्टी नै बजायो । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा रास्वपा दुई क्षेत्रमा विजयी भयो । यसले लामो राजनीतिक इतिहास बोकेका दलहरूलाई झस्काएको छ । आगामी चार वर्षपछि हुने निर्वाचनमा रास्वपाले देशभर दलहरूलाई चुनौती दिने भय दलहरूमा छ । रास्वपाप्रति देखिएको जनलहरले पनि त्यही संकेत गर्छ । रास्वपा जन्मिएको एक वर्षमै शान्त विद्रोहमार्फत ठूला भनिएका विभिन्न दलहरूमाझ चुनौतीका अनेकौँ पर्खाल खडा गरिदिएको छ ।

सैद्धान्तिक कार्यदिशा माथिको अन्योल कायमै
पुराना दलप्रतिको वितृष्णा र आमजनताको आशा र भरोसा बोकेर उदाएको रास्वपा स्थापना भएको एक वर्ष पूरा भएको छ । एक वर्षमा रास्वपाले प्राप्त गरेको उपलब्धि र भोगेका उतारचढावबारे चर्चा गरौँ । स्थापनाको एक वर्ष नपुग्दै प्रतिनिधिसभामा चौथो ठूलो दल बन्नु आफैँमा सबैभन्दा ठूलो उपलब्धि हो । नेपाली राजनीतिमा वर्षौं संघर्ष गरेका दलहरू खुम्चिरहेका बेला गठन भएको एक वर्षमै संसद्मा बलियो उपस्थिति बनाउनु ठूलो उपलब्धि हो । अझै रास्वपाप्रतिको जनउभार बढ्दो क्रममा छ । यो पनि एक वर्षमा रास्वपाले आर्जन गरेको उपलब्धि नै हो । अधिकांश नयाँ र युवा सांसद रहेको रास्वपा संसद्मा त्यसै उदारणीय छ । रास्वपाले अरू दलजस्तै सक्रिय, क्रियाशील र संगठित सदस्यको अभ्यास नगर्ने प्रस्ट्याएको छ । भ्रातृ र पार्टीनिकट संगठनहरू पनि बनाएको छैन ।

रास्वपाको एकवर्षे राजनीतिक यात्रा असाध्यै छोटो हो । तर, यही छोटो समयमा रास्वपाले सफलता मात्र होइन, अपत्यारिलो बदनामी पनि भोगेको छ । पार्टी सभापति रवि लामिछाने नागरिकता, राहदानीलगायत विवादमा मुछिनुभयो । नागरिकता विवादमा दोषी ठहर हुँदा उहाँले पद नै गुमाउनुपर्ने अवस्था आयो । पुनः निर्वाचित भएर उहाँ सांसद र पार्टी सभापति हुनुहुन्छ । सांसद पदा गुम्दा पनि उहाँले मन्त्री बन्न लबिङ गरेको आरोप लाग्यो । निर्वाचित भएलगत्तै सरकारमा सहभागी हुँदा पनि कतिपयले आलोचना गरे । सरकारमा जाने या बाहिरिने कुरामा देखाएको अपरिपक्क निर्णयले पनि आलोचना भयो । पार्टीका सांसद करोडौँ रुपैयाँको मोलमोलाइमा लागेर पद नै गुमाउनु परेको घटनासमेत बाहिर आयो ।

यद्यपि, आरोपित सांसदलाई रास्वपाले कारबाही गरेर उदारहणीय काम गर्‍यो । संसद्मा प्रतिपक्षीको प्रभावशाली भूमिका निभाउन भने नसकेको आरोप पनि लाग्दै आएको छ । उठाउनैपर्ने महँगी, मूल्यवृद्धि, कुशासन, जनजीविकाका सबालमा रास्वपा पनि चुकेको आरोप लागिरहेको छ । तीन तहको सरकार स्वीकारेको रास्वपाले प्रदेश संरचनामा भने आफ्नो निश्चित दृष्टिकोण एक वर्षमा पनि दिन सकेन । पार्टी गठन भएको एक वर्षसम्म पनि पार्टीको वैचारिक र सैद्धान्तिक कार्यदिशामाथिको अन्योलता रास्वपाले चिर्न सकेको छैन ।

एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको निम्ति तयार भएको बताउनुभएको छ । बिहीबार पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित चियापानमा बोल्दै लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताउनुभयो । आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक बितेको उहाँले बताउनुभयो । ‘एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । अत्यन्त सकारात्मक र ऊर्जावान रह्यो,’ उहाँले भन्नुभयो, ‘नेपाली जनताले एउटा आशा र भरोसाका रूपमा हेरेको मैले पाएको छु ।’ लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनुभयो । उहाँले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताउनुभयो । ‘साथीहरूलाई जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । हाम्रो चाहना छँदै छ,’ उहाँले भन्नुभयो, ‘सौहार्दपूर्ण सम्बन्ध छ ।’

पूर्वबैंकर शाह रास्वपा प्रवेश
पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश गर्नुभएको छ । पार्टी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उहाँ रास्वपा प्रवेश गर्नुभएको हो । रास्वापा प्रवेश गर्नुभएका शाहलाई पार्टी सभापति रवि लामिछानेले दलको लोगो लगाइदिँदै स्वागत गर्नुभयो । शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले शाह रास्वपामा प्रवेश गरेको र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिनुभयो । शाहले पार्टी सभापति लामिछाने र आफ्नो सोच मिलेको कारण पार्टी प्रवेश गरेको बताउनुभयो । उहाँले देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महसुस गरेको भन्दै नेतृत्व विकासको सीप प्रयोग गर्नका लागि पार्टीमा आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?