एक कूटनीतिज्ञको पुस्तक ‘चार कूटनीतिज्ञ’

हिमालय टाइम्स
Read Time = 14 mins

(कूटनीतिज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा.मदनकुमार भट्टराईको पुस्तक ‘चार कूटनीतिज्ञ’ बाट एक सन्दर्भ ।)
बाङडुङ सम्मेलनमा भाग लिएका पाँचौं व्यक्तित्व तथा २२५ वर्षभन्दा बढीको पारिवारिक कूटनीतिक पृष्ठभूमि भएका नरेशमान सिंहबारे केही चर्चा गर्नु यहाँ प्रासङ्गिक देखिन्छ । काठमाडौंको भोटेबहालमा राणाकालीन प्रशासनमा वन प्रशासन र बडाहाकिम भई समग्र मुलुकी प्रशासनमा समेत महत्वपूर्ण भूमिका खेलेका मीर सुब्बा दर्जाका ज्योतिमान सिंह तथा मोतिमाया सिंहका सुपुत्र हुन्-नरेशमान सिंह । अक्टोबर २, १९२२ मा जन्मिएर जुलाई २५, १९९० मा मुटु र मिर्गौला रोगबाट निधन भएका उनले पञ्चलक्ष्मीदेवी सिंहसँग विवाह गरेका थिए ।
दुई छोरा (विदुरमान सिंह र उमेशमान सिंह) र दुई छोरी सरस्वतीदेवी आफ्नो सार्वजनिक जीवन अर्थशास्त्रका प्राध्यापकका सुवाल र गायत्री सुवालका पिता सिंहले आफ्नो जीवन कूटनीतिज्ञका रूपमा बिताए । १९३९ मा कोलकाता विश्वविद्यालयबाट म्याट्रिकुलेसन र त्यहीँबाट १९४१ मा आईए उत्तीर्ण उनले १९४७ मा बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका थिए । सिंहले १९४८-१९६९ अवधिमा त्रिचन्द्र कलेजमा अर्थशास्त्रका प्राध्यापक, १९६०-१९६७ को अवधिमा त्रिभुवन विश्वविद्यालयको वाणिज्यशास्त्र सङ्कायका डिन तथा १९७६ देखि अवकाश नहुन्जेल त्रिभुवन विश्वविद्यालयकै अर्थशास्त्र विभागका प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे ।

सिंहले पटना विश्वविद्यालयबाट १९४४ मा बिए उत्तीर्ण गर्दा उनीलगायत त्रिचन्द्र कलेजमा अध्ययन गरी पटना विश्वविद्यालयको परीक्षामा छ जना नेपाली विद्यार्थी संलग्न भएका थिए । तिनमा तीर्थप्रसाद प्रधान विशेषता (‘डिस्टिङ्सन’)सहित अगाडि आएका थिए । पास भएका अन्य पाँचजनामा सिंह स्वयं, मुकुन्दपाणि (गौतम), नयनबहादुर (खत्री), कर्णेल सुवर्णशमशेर र थीरबहादुर (रायमाझी) थिए । नेपालमा विश्वविद्यालय स्थापना नहुन्जेल त्रिचन्द्र कलेजमा आईए, बिए वा आईएससी–बिएससी अध्ययन गर्नेले परीक्षा दिँदा पटना विश्वविद्यालयकै भर पर्नुपथ्र्याे ।

नरेशमान सिंह उनका निकट मित्र डा.यादवप्रसाद पन्तका अध्यक्षतामा डिसेम्बर १९५९ मा गठित ११ सदस्यीय नेपाली र नेपालमा रहने विदेशीसहितका अर्थशास्त्रीहरूको समितिमा द्वितीयस्तरका पदाधिकारी थिए । समितिमा प्रतिनिधित्व गर्ने अन्य नेपाली अर्थशास्त्रीमा प्रा.ईश्वरीलाल श्रेष्ठ, भेषराज शर्मा र डा. पुष्करनाथ पन्त थिए ।

उक्त समूहका सबै जना पछि महत्वपूर्ण सार्वजनिक जीवनमा सफल भए । खत्री र रायमाझी एकै पटक सरकारी सेवा प्रवेश गरी सरकारको सचिव भए । खत्री प्रधानन्यायाधीश र मानवअधिकार आयोगका अध्यक्ष पनि बने । खत्री र सुवर्णशमशेरले क्रमशः चीन र इटालीका लागि नेपालका राजदूत हुने सौभाग्य पाए । सुवर्णशमशेर प्रमुख निर्वाचन आयुक्त भई नेपालको पहिलो आमनिर्वाचन गराउन सफल भए । यसअघि खत्री र सुवर्णशमशेर श्री ३ पद्मशमशेरका पालामा बनेको सुधार समितिसँग पनि आबद्ध भए । नेपालको पहिलो लिखित संविधान यही कामको उपज थियो ।

नरेशमान सिंह उनका निकट मित्र डा.यादवप्रसाद पन्तका अध्यक्षतामा डिसेम्बर १९५९ मा गठित ११ सदस्यीय नेपाली र नेपालमा रहने विदेशीसहितका अर्थशास्त्रीहरूको समितिमा द्वितीयस्तरका पदाधिकारी थिए । समितिमा प्रतिनिधित्व गर्ने अन्य नेपाली अर्थशास्त्रीमा प्रा.ईश्वरीलाल श्रेष्ठ, भेषराज शर्मा र डा.पुष्करनाथ पन्त थिए । श्रेष्ठ र पुष्करनाथ पन्तपछि सरकारमा सचिवसम्म भए । आफ्नो वैशिष्ट्यको विषयमै बढी अभिरुचि र केन्द्रित रहन चाहने प्राध्यापकरू हुनुहुन्थ्यो उहाँ । अध्यापन, अनुसन्धानमै रुचि राख्ने सिंह नेपाल राष्ट्र बैंकको बोर्ड अफ डाइरेक्टर्सको सदस्य (१९६२-१९६६), आर्थिक मामिलासँग सरोकार राख्ने नेपाल सरकारले समय समयमा गठित ट्यारिफ बोर्डजस्ता संस्थाको सदस्य, औद्योगिक समितिका अध्यक्ष (१९६१ र १९६४) आदि दायित्वसँग पनि लामै समय सम्बन्धित रहे ।

इन्डोनेसियाको बाङडुङमा १९५५ मा आयोजित एसिया-अफ्रिकाका राष्ट्रहरूको सम्मेलनका लागि पठाइएको नेपाली प्रतिनिधि मण्डलका सदस्यका साथै विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र गोष्ठीमा सिंहको सहभागिता रहृयो । उनी १९६३ का संयुक्त राष्ट्र सङ्घीय पच्चीसौं महासभाका लागि भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलका सदस्यसमेत थिए । सिंहले १९६३ मा आयोजित अन्तर्राष्ट्रिय मौद्रिक सम्मेलन (संयुक्त राज्य अमेरिका) तथा टोकियो र वासिङ्टन डिसीमा क्रमशः १९६४ र १९६६ मा भएको अन्तर्राष्ट्रिय मौद्रिक कोष (आइएमएफ) र विश्व बैंकको बैठकमा पनि सहभागिता जनाएका थिए ।

प्राध्यापक सिंहले १९७०-१९७५ अवधिमा लोकसेवा आयोगको सदस्यका रूपमा आयोगको विकास, सुदृढीकरण र पुनर्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजलगायत प्रा.शङ्करदेव पन्तले स्थापना गरेको नेपाल नेसनल कलेजमा पनि लामै समय उनले अर्थशास्त्र विषयमा अध्यापन गरेका थिए । सिंहलाई श्री ५ महेन्द्रबाट १९६२ मा गोरखा दक्षिणबाहु तेस्रो र १९६७ मा त्रिशक्ति पट्ट तेस्रो विभूषण प्रदान गरियो ।

अर्थशास्त्र तथा नेपालको अर्थतन्त्रका विभिन्न पक्षबारे अनेकौं मौलिक तथा अनुसन्धानात्मक लेख लेखिरहने नरेशमान सिंहका केही महत्वपूर्ण पुस्तक प्रकाशित छन् । पाठ्यपुस्तकका रूपमा त्रिभुवन विश्वविद्यालयले स्वीकृत गरेका र अङ्ग्रेजी नेपाली दुवै भाषामा उपलब्ध पुस्तकमा आएन इन्ट्रोडक्सन टु इकोनोमिक थ्योरी (१९६३), दी प्रिन्सिपल्स अफ इकोनोमिक प्लानिङ विथ रेफरेन्स टु नेपाल (१९६५), अ क्रिटिसिजम अन नेपाल्स फस्ट फाइभ यरप्लान (१९५६) र अ कम्प्यारेटिभ स्टडी अफ क्यापिटलिजम एण्ड सोसलिजम (१९५७) उल्लेखनीय छन् । उनका अन्य प्रकाशनमा आर्थिक योजनाको सिद्धान्त, प्रारम्भिक अर्थशास्त्र, आर्थिक व्यवस्था तथा विकास, पञ्चवर्षीय योजनामा घाटाको अर्थ-व्यवस्था आदि समावेश थिए । उनले अधिराजकुमारी शान्ति सिंहलाई पनि निजी शिक्षकका रूपमा पढाएका थिए । सिंहको सोखका विषयमा हुलाक टिकट सङ्कलन, सिक्का सङ्कलन, सङ्गीत, पुस्तक सङ्कलन तथा अध्ययन पर्थे ।

सिंहका निकट मित्रहरूमध्ये केही नाम चलेका दिग्गजहरूमा दुई पटक प्रधानमन्त्री, दुई पटक सभामुख र लामो समय नेपाली काङ्ग्रेसका सभापति रहेका कृष्णप्रसाद भट्टराई (डिसेम्बर २४, १९२४-मार्च ४, २०११), डा.यादवप्रसाद पन्त (नोभेम्बर १७, १९२५-नोभेम्बर १४, २००७), अर्थशास्त्री, अर्थसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, राजदूत र अर्थमन्त्री, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा अङ्ग्रेजीका प्राध्यापक सूर्यबहादुर शाक्य (१९१७-नोभेम्बर १९, १९९५) तथा अर्का अङ्ग्रेजीका प्राध्यापक एवम् लोकसेवा आयोगका सदस्य कृष्णराज मानन्धर (१९१८-१९७९) पर्थे । सिंहको चासोका विषयमा दर्शन, आध्यात्मिक सोच र साहित्य पर्थे । विश्वविख्यात साहित्यकारहरूका रचनाको राम्रो सङ्कलन र अध्ययन गर्ने अभिरूचि पनि उनको थियो ।

सिंहको पारिवारिक पृष्ठभूमि गौरवपूर्ण र खान्दानी हिसाबले सरकारी सेवासँग निकट रूपमा गाँसिएको थियो । उनका एक दाइ र चार दिदीबहिनीमध्ये दाइ गम्भीरमान सिंह बाबुकै पद चिहृन अनुसरण गरी नेपाल सरकारको वन सेवामा कार्यरत रही उच्च पद चिफकन्जरभेटरसम्म पुग्न सफल भए । गम्भीरमान सिंहको रुचि सुरुमा चिकित्सा विषयमा थियो । यसअघि उल्लेख गरेनुसार उनका पिता मीरसुब्बा ज्योतिमान सिंहको कर्मक्षेत्र वनविभाग नै थियो । नेपालको वन कार्यालयका हाकिमका हैसियतमा उनले १९११ मा नेपालको तराईमा आयोजित बेलायती सम्राट जर्ज पाँचौंको सिकार कार्यक्रम आयोजना गरेका थिए । यस अवसरमा जर्ज पाँचौंका तर्फबाट उनलाई सुनको कलम उपहार दिइएको थियो ।

प्रधानमन्त्री भइसकेका तीन दाजुभाइका पिता कृष्णप्रसाद कोइराला तथा बडाहाकिम, अञ्चलाधीश, मन्त्री र राजसभा स्थायी समितिका सभापति भएका ब्रिगेडियर जनरल भूपालमान सिंह कार्कीसँग ज्योतिमान सिंह निकै निकट थिए । ज्योतिमान सिंहका दुई भाइ पनि सार्वजनिक व्यक्तित्व थिए । एक भाइ काजी तुलसीमान सिंह थिए । उनी राजा त्रिभुवनका शिक्षक र संरक्षक रहनुका साथै नेपाल साहित्य कला एकेडेमी (पछि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान र हाल नेपाल प्रज्ञा-प्रतिष्ठान) का पहिलो उपकुलपति रहे । अर्का भाइ द्वारिकामान सिंह मुख्तियार तथा प्रधानसेनापति जनरल बबरशमशेरको कार्यालयमा हाकिम थिए ।

नरेशमान सिंहका बाजे तथा मीर सुब्बा ज्योतिमान सिंहका पिता मेहरमान सिंह राजा प्रतापसिंह शाह (अप्रिल १६, १७५१-नोभेम्बर १७, १७७७) र राजा रणबहादुर शाह (मे २५, १७७५-अप्रिल २५, १८०६) का पालामा उच्च भारदार थिए । उनी १७९२ मा हस्ताक्षर भएको नेपाल-चीन सन्धि (बेत्रावती सन्धि पनि भनिने) अनुसार चीनका बादशाह छ्यान लुङसमक्ष सौगात बुझाउन जाने नेपाली प्रतिनिधि मण्डलका सदस्यसमेत थिए । (मदन भट्टराईको प्रकाशोन्मुख कृति ‘चार कूटनीतिज्ञ’ बाट साभार । भट्टराई नेपाल सरकारको पूर्वसचिव तथा पूर्वराजदूत हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?