क्रसर व्यवसायी आन्दोलनले गिट्टी बालुवा ठप्प

Read Time = 3 mins

काठमाडौं । क्रसर व्यवसायीले शनिबारदेखि बालुवा र गिट्टी आपूर्ति बन्द गरेका छन् । सरकारले लामो समयदेखि क्रसर उद्योग नवीकरण रोकेर अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनीहरूले आपूर्ति बन्द गरेका हुन् । नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सिताराम न्यौपानेले सरकारको ज्यादतीको विरोधमा सम्पूर्ण बिक्री रोकेको बताउनुभएको छ ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेको निर्देशनमा २०७९ पुस २० गतेदेखि सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय भएको थियो । उक्त निर्णयपछि व्यवसायीसँगको छलफलका क्रममा गत फागुन १५ गते बसेको बैठकले एउटा मापदण्ड बनाएर अघि बढ्ने सहमति बनेको थियो । तर, सरकारले मापदण्ड बनाउन नसकेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष न्यौपानेले बताउनुभएको छ ।

सरकारकै कारण २०७२ सालदेखि देशभरका क्रसर उद्योग नवीकरण हुन नसकेको महासंघले जनाएको छ । हाल नदीजन्य पदार्थ उत्खनन्को ठेक्कापट्टा लगाउने जिम्मेवारी पाएका स्थानीय तहले समेत बदमासी गरिरहेको आरोप लगाउँदै अध्यक्ष न्यौपानेले स्थानीय तहले वैशाखमा ठेक्का आहृवान गरेर जेठसम्म मात्रै नदीजन्य पदार्थ उत्खनन् गर्न दिने गरेको बताउनुभयो ।

न्यौपानेका अनुसार ठेक्कामा दिँदा एउटा नदीबाट बालुवा-गिट्टी उत्खनन्का लागि कम्तीमा पाँच करोडको ठेक्का लाग्छ । तर, एक महिनामा तोकिए जति बालुवा–गिट्टी झिक्न कठिनाइका साथै तोकिएको अवधिमा सम्झौताअनुसार बालुवा-गिट्टी झिक्न धेरै ट्रक र मेसिनरी आवश्यक पर्छ ।

महासंघले माघ ११ गते भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको जनाउँदै महासंघले असार ३ गते आन्दोलन घोषणा गरेको थियो । महासंघले सरकारलाई दिएको दुई साताको अल्टिमेटममा पनि माग सम्बोधन नभएपछि आन्दोलन सुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?