आदिकवि भानुभक्तको सम्झना

हिमालय टाइम्स
Read Time = 5 mins

आज भानु जयन्ती हामी उनको सम्झनामा विभिन्न कार्यक्रममका साथ उनलाई सम्झिने काम गरिरहेको छौं । असार २९ गते भानुको सम्झना गर्ने विशेष दिन हो, उनको जन्म विक्रम सम्वत् १८७१ मा भएको थियो । जीवनका अनेकौं उतारचढाव सकेर जेल यातना समेत भोगेर पनि उदाहरणीय र विभिन्न सन्दर्भका दृष्टान्त बन्न सक्ने खालका कविताहरू उनले लेखे । संस्कृत भाषामा कविताहरू सिर्जना गरिने परम्परा रहेका बेला नेपाली भाषामा कविता लेखेर नेपाली समाजलाई भाषिक रूपमा एकताको सूत्रमा बाँध्न सक्ने गरी उनले कविताहरू लेखे । संस्कृतको वाल्मीकि रामायणलाई नेपालीमा भावानुवाद गरेका कारण नेपालीहरू नेपाली भाषामा एकीकृत बन्न पुगेका थिए । राजनीतिक वा भौगोलिक एकीकरण राजा पृथ्वीनारायण शाहबाट भएको थियो । त्यसपछि नेपालीलाई भानुभक्तले भाषिक रूपमा एकीकृत गर्न सकेका थिए ।

त्यसैले उनलाई नेपालका आदिकवि भनिएको हो । आजकाल उनको उक्त पदविका बारेमा विरोध र आलोचना गर्नेहरू पनि छन् । भानुभक्तभन्दा पहिले पनि नेपाली भाषामा कविता लेख्नेहरू थिए भन्ने तथ्यलाई आधार बनाएर उनीहरूले यसो भनेका हुनसक्छन् । तर, उक्त पदवि पाउन भानुभक्तले वर्तमानमा साहित्यकारहरूले लविङ गर्दै हिँडे झैँ चाकरीबाट पाएका होइनन् र उनको जीवन कालमा उक्त पदवि उनले पाएका पनि होइनन् । उनको मृत्युको साढे दुई दशकपछि मोतीराम भट्टले भानुभक्तको जीवन चरित्र छपाएर उनलाई चिनाएका थिए । त्यसको चार दशकपछि मात्र श्री ३ जुद्धशमशेरले भानुभक्तको बारेमा राम्ररी जानकारी लिएर उनलाई आदिकविको पदवि दिएका थिए । भानुभक्तको भावानुवादमा नेपालीमा छापिएको रामायण प्रत्येक नेपालीको घर–घरमा हुन्थे र त्यसको वाचन दैनिक गरिन्थ्यो ।

त्यसबाट भानुभक्तको नेपाली साहित्यमा कति योगदान रहेको छ भन्ने थाहा हुन्छ । उनले लेखेको बधुशिक्षाका केही शब्दलाई लिएर हाल विरोध हुने गरेको छ, समयसन्दर्भ अनुसार त्यसबेला त्यही कुरा ठीक थियो होला भन्न सकिन्छ । सानातिना कमजोरीलाई लिएर उनी र उनको पदविमाथि नै प्रश्न उठाउनु दुई सय वर्ष पहिलेका भानुभक्तप्रति अन्याय नै हुन जान्छ । भानुभक्तको योगदानको चर्चा नेपालमा मात्र होइन नेपालबाहिरका नेपाली जाति र नेपालीभाषीहरू बस्ने क्षेत्रमा अझै बढी हुने गरेको छ । उनलाई जातीय कवि भनेर सम्मान गर्ने गरिन्छ । दार्जिलिङ सिक्किमतिर उहाँलाई बढी सम्मान गरिन्छ ।
हालका दिनहरूमा तितौरा–मस्यौरा वा कनिके रचना जस्ता सामाजिक सञ्जालमा पोष्ट गरेर ठूला कवि बनेको आत्मारतिमा रमाउने र विभिन्न साहित्यिक संघसंस्थामा राजनीतिक नियुक्ति वा पदविका लागि दौडिनेहरूबाट भानुभक्तका जस्ता स्थूल कृतिको कल्पना हुन सक्दैन । तर, त्यही अभियानका व्यक्तिहरूबाट भानुभक्तको पदविबारे प्रश्न उठाउने गरिन्छ । यो नै विडम्बनाको विषय हो । भानुभक्त आचार्य नेपालका एकजना मानक कवि हुन् । उनका विषयमा आज आएर जुन विरोधको प्रयास गर्ने गरिन्छ त्यो विडम्बनापूर्ण छ । उनी नेपाली भाषाका ठूला कवि हुन् यो निर्विवाद कुरा हो । पदवि भनेको चाहिँ कसैले दिने कु्रा भयो । भानुभक्तको आदिकवित्वमा प्रश्न उठाउनेहरूले पनि उनको कवित्वमा प्रश्न उठाउने आँट गर्ने हिम्मत राख्दैनन् । नेपाली साहित्यका एकजना महान् कवि आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धासुमन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?