संसद् छिर्‍यो सुन प्रकरण

उच्चस्तरीय छानविन समिति बनाउन एमालेको माग, सत्तापक्षकै सांसदले मागे गृह र अर्थमन्त्रीको राजीनामा

डिबी शर्मा
Read Time = 18 mins

काठमाडौं । केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर आएको करिब सय किलो सुन बरामद प्रकरणले संसद् तताएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठक सुन प्रकरणले संसद्मा हंगामा भएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुन प्रकरणलाई लिएर सदन नै अवरुद्ध गर्‍यो । सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति नबनाएसम्म सदन चल्न नदिने एमालेको अडान छ । यसै विषयलाई लिएर एमालेले नाराबाजी गर्दै बेल घेराउसमेत गर्‍यो । विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गरेको हो । संसद् अवरुद्ध गर्नुअघि प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै पनि एमाले सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए । बैठकको सुरुमा बोल्दै एमाले सचेतक पदम गिरीले सुन प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्नुभएको थियो । उहाँले उच्चस्तरीय छानविन समिति बनाउन सभामुखबाट रुलिङको मागसमेत गर्नुभएको थियो ।

‘गृहमन्त्री, अर्थमन्त्रीको सेटिङमा सुन भित्रिएको छ । यो सामान्य विषय होइन,’ उहाँले भन्नुभयो, ‘यसबारे उच्चस्तरीय छानविन समिति गठन हुनुपर्छ । को-को संलग्न छन् छानविन हुनुपर्छ । सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्छ, अन्यथा बैठक अघि बढ्न सक्दैन ।’ त्यसपछि अन्य दलका सांसदहरूले पनि आकस्मिक समयमा धारणा राखेका थिए । गिरीले बोलेपछि आकस्मिक समयमा बोल्ने विभिन्न दलका सांसदहरूले सुन तस्करी प्रकरणकै विषयमा बोलेका थिए । आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सुन तस्करी प्रकरणको छानविन गर्न र मुख्य अभियुक्तलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले समेत सुन तस्करी प्रकरणको छानविन गरी मुख्य अभियुक्तलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले सानालाई मात्रै समाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए । आकस्मिक समय सकिएपछि सभामुख देवराज घिमिरेले शून्य समय सुरु गर्नै लाग्दा एमालेले संसद् अवरुद्ध गरेको थियो । एमालेले सांसदहरूले नाराबाजी गर्दै बेल घेराउ गरेपछि सभामुख घिमिरेले साउन १५ गते बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित गर्नुभएको हो ।

अघिल्लो साता विमानस्थलबाट भन्सार पास भएर आएको करिब सय किलो सुन बरामद भएको थियो । सुनको यकिन तौल अझै आइसकेको छैन । सुन नेपाल राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् । तीनजना भन्सारका कर्मचारी र तीनजना एजेन्ट पक्राउ परेका हुन् ।

गृह र अर्थमन्त्रीको राजीनामा माग
सुन तस्करी प्रकरणलाई लिएर सांसदहरूले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिपक्षीदेखि सत्ता पक्षकै सांसदहरूले समेत एक स्वरमा गृह र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । केही दिनअघि काठमाडौंबाट पक्राउ परेको करिब एक क्विन्टल सुन प्रकरण प्रतिनिधिसभामा प्रवेश गरेको छ । उपप्रधानसहित गृहमन्त्री नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ भने अर्थमन्त्री नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत हुनुहुन्छ । एमालेभन्दा पनि एक कदम अघि बढेर सत्तापक्ष नेपाली कांग्रेसकै सांसदले समेत अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।

एमालेले सुन तस्करलाई गृहमन्त्री र अर्थमन्त्रीले संरक्षण दिएको बताउँदै एमालेले नैतिकताका आधारमा पदत्याग गर्नुपर्ने बताएको छ । एमालेभन्दा एक कदम अघि बढेर कांग्रेसका सांसद सुनील शर्माले दुई मन्त्रीको राजीनामा माग्नुभयो । शर्माले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको बताउनुभयो । अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो । रास्वपाले सही समयमा कदम नचाले आफूहरूले गर्ने निर्णय गम्भीर हुने चेतावनी दिएको छ । रास्वपा सभापति रवि लामिछानेले वर्तमान सरकारले सबै कुरा गिजोलेर राखेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले भने सरकारले कारबाही गरिहरेका बेला सलाम गर्नुपर्ने बेला आलोचना गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँले सुन प्रकरणमा दिउँसै रात पार्न खोजिएकालाई कारबाही गर्दा गृहमन्त्री र अर्थमन्त्रीमाथि कुरा उठाइएको दाबी गर्नुभएको थियो ।

रास्वपाले दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपा सांसद निशा डाँगी र सन्तोष परियारसहित १६ जनाले प्रतिनिधिसभामा जरुरी महत्वको प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहितका चारजना सांसदहरूको समर्थन रहेको छ । रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ । रास्वपाले प्रस्तावमा सुन तस्करीबारे विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गरेको छ ।

कर्मचारीको सेटिङले मात्र सुन तस्करी भएको छैन : पदम गिरी
एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानविनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको आरोप लगाउनुभयो । कर्मचारीको सेटिङले मात्रै यतिका सुन तस्करी नभएको उहाँले बताउनुभयो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुनसुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जनतामा भ्रम छरेको भन्दै अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक नभएको उहाँको भनाइ थियो । ‘राजस्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन ? अवश्य थियो । कर्मचारीको सेटिङले मात्र सुन तस्करी भएको छैन,’ उहाँले भन्नुभयो, ‘पछिल्लो दुई/तीन महिनामा २० क्विन्टलभन्दा बढी सुन तस्करी भएको देखिन्छ । यसको संरक्षण कसले ग¥यो ? गृहमन्त्रीले गर्नुभएको हो कि होइन ? प्रधानमन्त्रीले गर्नुभएको हो कि होइन ? अर्थमन्त्रीले गर्नुभएको हो कि होइन ?’

उहाँले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उहाँका छोरा राहुल महराको संलग्नताबारे कुरा उठाउनुभयो । गिरीले विद्युतीय चुरोटमा सुन राखेर ल्याइएको र विमानस्थलमा अलपत्र हुँदा महराका छोराले पटक पटक फोन गरेर लिलामी गर्न दबाब दिएकाले उहाँले बताउनुभयो । ‘कृष्णबहादुर महराको बाबु छोराले सुन बाहिर लैजान धेरैपटक फोन गरेको अभियोगपत्रमा पनि उल्लेख छ । तस्करीको सुन लिलाममा लैजान दबाब किन दिनुभयो ?,’ उहाँले भन्नुभयो, ‘यसमा किन छानविन भएन र बयानसमेत गराइएन ।’

भरिया पक्रेर तस्करीका नाइके संरक्षण गर्ने काम नहोस् : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको आरोप लगाउनुभयो । विशेष छानविन आयोग बनाएर अनुसन्धान अघि बढाउन उहाँले माग गर्नुभयो । ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्‍यौँ नि भन्ने काम नहोस्,’ उहाँले भन्नुभयो, ‘अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ । यसरी हुँदैन, विशेष छानविन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् ।’ विमानस्थल भन्सारबाट १०० किलो सुन प्रवेश गराइनु सामान्य विषय नभएको भन्दै लिङ्देनले समाजलाई ठिक दिशामा ल्याउन घटनाको अनुसन्धान जरासम्म पुर्‍याउनुपर्ने बताउनुभयो ।

सुन काण्डलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरु हुन्छ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा मात्रै गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । उनीहरूलाई किन निलम्बन नगरेको ? भन्दै भन्सार, सुरक्षा प्रमुख लगायतले पनि पदमा बस्ने नैतिकता गुमाएको उहाँले बताउनुभयो । क्विन्टलका क्विन्टल सुन आउनुमा पुरानै सेटिङको निरन्तरताको रूपमा जनताले बुझेको उहाँको भनाइ थियो । ‘जब यस्ता घटना आउँछन्, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो ? कारबाही गरेको कि पुरस्कार दिएको ? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ?,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले गम्भीर रूपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’

भुटानी शरणार्थी, ललिता निवासजस्ता प्रकरणको जरा कहाँ छ भनेर सबैलाई थाहा भएको, तर सरकारले गिजोलेर मात्र छाड्ने गरेको उहाँले बताउनुभयो । ‘भ्रष्टाचारविरुद्ध चालेको कदमलाई स्याबास भनेको फाइदाका रूपमा नलिइयोस्,’ उहाँले भन्नुभयो, ‘जरासम्म पुग्ने साहस लिएको हो भने ठिक छ । फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’

दिउँसै रात पार्न खोजिएको थियो, रातलाई दिउँसो बनाइँदै छ : पौडेल
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले भ्रटाचारका विषयमा छानविन गरिरहेको भन्दै टाउको नदु्ःखाउन आग्रह गनुभएको छ । प्रतिनिधिसभा बैठकमा उहाँले कसैको अनुहार नहेरी कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो । सुन प्रकरणमा दिउँसै रात पार्न खोजेकालाई कारबाही गर्दा गृहमन्त्री र अर्थमन्त्रीमाथि कुरा उठाइएको दाबी गर्नुभयो । ‘कसैको अनुहार हेर्न जरुरी छैन । सरकार अघि बढोस् । सरकारले छानविन गरेर व्यक्तिको अनुहार हेर्ने होइन, उसको काम, तरिका, शैली, गल्तीलाई हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अघि बढ्न अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो, ‘सरकारको जिम्मेवारी सम्हालिरहनु भएका गृहमन्त्री र अर्थमन्त्रीका विषयमा पनि केही कुरा उठे । सरकारलाई बधाई पनि दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदै छ ।’

सुनको मुख्य मालिक पत्ता नलागुञ्जेलसम्म गृह र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : शर्मा
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थल भन्सारबाट एक क्विन्टल सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसद् भवनभित्रै आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँल तस्करीमा संलग्न भरिया मात्र पक्राउ गरी नाइकेलाई नसमात्ने हो भने प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि संसद् भवनमा आमरण अनशन बस्ने घोषणा गर्नुभयो । इटलीको भ्रमणमा रहनुभएका प्रधानमन्त्री शुक्रबार मात्रै काठमाडौं फर्किने कार्यक्रम छ । ‘विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदा मुख्य अभियुक्तलाई पक्रन नसक्नु भनेको हामी संसद्मा रहेका सांसदहरू पनि दोषको भागीदार हुन्छौँ । अहिले प्रधानमन्त्री बाहिर हुनुहुन्छ । तर, यो चिजलाई गुपचुप पारेर विचरा पहाडको गाउँको भरियालाई मात्र पारेर जेलभित्र कुहाउने अभिप्रायले मुख्य नाइकेहरू भाग्छन् र फेरि त्यही विचरा भुजेललाई पक्रिएर मुख्य नाइकेलाई नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनमा घोषणा गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको आगमन पछाडि उहाँहरूले पक्राउ गर्नुभएन भने यो सदनभित्र म आमरण अनशन बस्ने घोषणा गर्न चाहन्छु ।’ उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत माग गर्नुभयो । ‘उहाँहरूले समय लिएर भन्न सक्नुपर्छ हामी मुख्य नाइके पक्रिन्छौँ,’ उहाँले भन्नुभयो, ‘होइन भने उहाँहरूले अनुसन्धानको प्रक्रियालाई सहज बनाउन अहिलेलाई कमसेकम सुनको मुख्य मालिक पत्ता नलागुञ्जेलसम्मका निम्ति राजीनामा गरेर प्रजातान्त्रिक पद्धति र अभ्यासलाई कदर गर्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?