राष्ट्रिय विभूति अमरसिंह थापाप्रति

हिमालय टाइम्स
Read Time = 8 mins

नेपाल निर्माणको इतिहासमा पूर्वजथापा परिवारको अमूल्य योगदान रहेको छ । काजी भीमसेन थापा, भक्ति थापाहरूकै लहरमा अमरसिंह थापाको पनि अविष्मरणीय योगदान रहेको छ । नेपाल राष्ट्र निर्माणमा उनीहरूले जुन प्रकारको योगदान गरे त्यो नेपालले कहिल्यै बिर्सन सक्दैन । नेपाल राष्ट्र रहुन्जेल उनीहरू सम्झनामा रहिरहने छन् । नेपालको इतिहासमा पृथ्वीनारायण शाहलाई नेपालको राष्ट्रनिर्माता मानिएको छ । उनले सुरु गरेको राष्ट्र निर्माणको अभियानलाई उनको अवसानपछि पनि उहाँका उत्तराधिकारी तथा अन्य राष्ट्रभक्त सपूतहरूले अगाडि बढाए । यही क्रममा काजी भीमसेन थापाले अंग्रेजहरूबाट देश जोगाउन त्यस बेलाको पल्टनलाई आधुनिकीकरण गर्नुभयो । फ्रान्सबाट सेना झिकाई नेपाली सेनालाई तालिम दिनुभयो । उहाँले सेनाको पद, रासन, पोशाक आदिको समेत व्यवस्था मिलाउनुभएको थियो ।

विदेशी शासकहरूले समेत उहाँको बहादुरीको प्रशंसा गरेका थिए । भीमसेन थापा प्रधानमन्त्री भएकै बेला नेपाल-अंग्रेज युद्ध भएको थियो । अमरसिंह थापा त्यसबेला नेपालका प्रधान सेनापति थिए । उनले नेपालको राम्रो तयारी नभएका कारण अहिले अंग्रेजसँग हामीले युद्ध गर्नु हुँदैन भनेर सरकारलाई सुझाव दिए तर सरकारबाट उनलाई प्रधानसेनापति भएर पनि युद्धबाट भागेको भन्ने आक्षेप गरियो । त्यसपछि जे जस्तो तयारी छ त्यतिबाटै भए पनि नेपालले अंग्रेजसँग युद्ध ग¥यो । केही ठाउँमा नेपालले बहादुरी देखायो । देउथलको युद्धमा ७० वर्षका भक्ति थापाले नेतृत्व गरे । उनको बहादुरी देखेर अंग्रेज आश्चर्य चकित बनेको थियो । उनले त्यहाँको युद्धमा वीरगति प्राप्त गरे । त्यस उमेरमा पनि युद्धको नेतृत्व गरिरहेका भक्ति थापाको शवलाई अंग्रेजले आदरका साथ दोसल्ला ओढाएर नेपाल सरकारलाई फिर्ता दियो ।

नालापानीको काँगडा किल्लामा वीर बलभद्र कुँवरले नेतृत्व गरेका थिए । त्यहाँ पनि नेपालीले बहादुरी देखाएका थिए । तालिम प्राप्त सेना थिएनन् । त्यहाँ छ सय जनाको हाराहारीमा महिला र केटाकेटीको साथ लिएर तीन हजार जना तालिमप्राप्त अंग्रेज सेनासँग नेपालीले ढुंगा र घुयत्रोको सहायताले युद्ध गरेका थिए । यसरी पनि अंग्रेजतर्फको सेनाको नेतृत्व गरेर आएको जिलेस्पीलाई नेपालीले मारिदिए । पछि किल्लामा जाने पानीको मुहान बन्द गरेर अंग्रेजहरूले काँगडा किल्ला हात पारे । अहिलेसम्म पनि त्यस ठाउँमा बलभद्रको प्रशंसा गरेर अंग्रेजले लेखेको शिलालेख छँदैछ ।

माथि नै भनियो तत्कालीन अवस्थामा नेपालका सेना प्रमुख अमरसिंह थापा थिए । उनले नेपालले तयारी नगरी अंग्रेजसँग युद्ध नगरौं भनेको थिए तर यसो भन्दा उनलाई कायर ठानियो । उनी सरकारको निर्देशन बमोजिम युद्धको नेतृत्व गरेर पश्चिम नेपालको सीमा क्षेत्रमा पुगे । अहिले जस्तो यातायात र सञ्चारको विकास भएको थिएन । सरकारसँग सम्पर्क गर्न महिनौं लाग्थ्यो । युद्धमा नेपालको धेरै ठूलो क्षति भयो । सेनाको संख्या थोरैमात्र बाँकी थियो । छिमेकी गाउँका युवकहरूलाई सारंगी बजाएर राष्ट्रियताका गीत गाउँदै युद्धका लागि प्रेरित गरेर भए पनि नेपाली सेनाले युद्धमा बहादुरी देखाइरहेको थियो । रासनपानी सकिएर गाउँलेहरूबाट प्राप्त खानेकुरा खाएर भए पनि उनीहरू युद्ध लडिरहेको थिए ।

नेपालीहरूको यस्तो अवस्था देखेर अंग्रेजले अनेक प्रलोभन दिएर उनलाई फकाउने प्रयास ग¥यो । उनले चिठी लिएर आउने दूतकै अगाडि चिठी च्यातेर थुकेर गोडाले कुल्चिए र भने ‘म बाघको डमरु हूँ सिनो खाने कुकुर होइन’ । उनको त्यो राष्ट्रभक्ति वर्तमानमा सम्झन योग्य छ । अहिलेको हाम्रा राष्ट्र सञ्चालकहरूसँग यस्तो दृढ अठोट र प्रतिज्ञासँग तुलना गर्न सकिँदैन, गरिनु हुन्न । यसरी तुलना गर्दा आकाश-जमिनको अन्तर हुन्छ । इतिहासका यस्ता सन्दर्भ स्मरणीय छन् । जसले हामीलाई हाम्रा बहादुर पुर्खाप्रति अगाध श्रद्धा र सम्मानभाव पैदा गराउँछन् । अमरसिंह थापा नेपालका महान् विभूति हुन् । नेपाल राष्ट्रको इतिहासमा उनको योगदान अविष्मरणीय छ ।

उनी एकजना त्यस्ता सेनाप्रमुख हुन् जसले सरकारमा बसेकाहरूको खुलेर विरोध गर्न सके । सरकारले लडाइँको निर्देशन दिँदा हाम्रो तयारी पुगेको छैन भने तर सरकारले जानै पर्ने आदेश दिएपछि उनी गए । अर्कोतर्फ युद्ध भइरहेका बेला सरकारले सुगौली सन्धिको तयारी ग¥यो र युद्ध रोक्न निर्देशन दियो । उनले युद्धमा होमिइसकेपछि अब बीचैमा युद्ध रोकेर सन्धि गर्नु हुँदैन वार कि पार गर्नुपर्छ भनेका थिए र सरकारले उनको त्यो भनाइ पनि मानेन । सुगौली सन्धिपछि उनमा विरक्ति पैदा भयो । उनी गोसाइँ थान गएर बसे ।

त्यहाँ तीर्थ गर्न आएकाहरूबाट पनि उनकै आलोचना भएको उनले आफ्नै कानले सुने । त्यसपछि उनमा अझै बढी विरक्ति पैदा भयो र हातमा भएको हीराको औंठी निलेर उनले आत्महत्या गरे । नेपाल आमाका एकजना राष्ट्रभक्त वीर योद्धाको अवसान भयो । अहिले नेपालले उनलाई राष्ट्रिय विभूतिको सम्मान दिएको छ । हामीले हाम्रा वीर पुर्खाहरूलाई स्मरण गर्नु हाम्रो दायित्व हुन आउँछ । वीर योद्धा राष्ट्रभक्त सेनानायक अमरसिंह थापाप्रति हार्दिक श्रद्धासुमन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?