सोमबारको व्रत महिमा

Read Time = 16 mins

सोमार चन्द्रमाले प्रतिनिधित्व गर्ने दिन हो । हरेक दिन एक ग्रहले प्रतिनिधित्व गर्दछन् । आइतबार सूर्य, सोमबार चन्द्रमा, मंगलबार मंगल एवं क्रमले प्रत्येक बारका अधिपति ग्रह छन् । आकाशमण्डलमा रहने सोम अर्थात् चन्द्रमाको विशेष महिमा रहेको छ । हाम्रा पञ्चाङ्ग पनि यही चन्द्रमा र सूर्यको गतिका आधारमा निर्धारित छन् । मूलतः सोम भनेको साक्षात् शिवजीको नाम हो । शाब्दिक रूपमा पनि सोमको अर्थ चन्द्रमा, सौम्य, अमृत, कल्याण शिवजी आदि भन्ने हुन्छ । ज्योतिषीय दृष्टिमा पनि सोमबारलाई शुभ बारका रूपमा लिइन्छ । चन्द्रमाका मालिक सोम वा शिवजी हुनुहुन्छ जसको आराधना गर्नाले मानव जीवन कल्याणमय हुन्छ ।

यसैले सोमबारलाई शुभ बारका साथै शिव आराधनाका निम्ति उत्तम दिनका रूपमा पनि लिइएको हो । विशेष विधि र नियमपूर्वक आफ्नो अभीष्ट सिद्धिका निम्ति सङ्कल्पपूर्वक गरिने पूजा आदिको कर्म विशेष नै व्रत हो भनी ‘पूजाद्यात्कमः कर्मविशेषो व्रतम्’ भनेर धर्मसिन्धुमा बताइएको छ । सोमबार शिवजीको पूजा आराधना गरी मनलाई पवित्र तुल्याउनु नै सोमबारको व्रत रहनु हो । सोम शिवजीको बार भएकाले यस दिन शिवआराधना अभीष्ट सिद्धिदायी रहने गर्दछ ।

चन्द्रमा :
भौतिक रूपमा पृथ्वीबाट नजिक रहेका ग्रह चन्द्रमा हुन् । यसैले चद्रमाको प्रभाव पृथ्वीवासीमा अधिक रहने गर्दछ । पूर्णिमा एवं अमावास्यामा समुद्रमा आउने लहरले पनि चन्द्रमाको भौतिक उपस्थितिलाई दर्शाउने गर्दछ । मूलतः चन्द्रमालाई आध्यात्मिक रूपमा विशेष लिइएको छ । ब्रहृमाका पुत्र अत्रि ऋषि घोर तपस्या गर्न लागे । परिणामस्वरूप उनका आँखाबाट जलका केही थोपा खसे जसलाई सबै दिशाले स्त्रीरूपमा आएर पुत्रप्राप्तिको आकाङ्क्षामा ग्रहण गरे तर गर्भधारण नभएकाले सबै दिशाले त्यागिदिए । त्यस्ता परित्यक्त जल थोपालाई ब्रहृमाले सङ्कलन गरी एक पुरुषको आकृतिको निर्माण गर्नुभयो जसको नाम चन्द्रमा रहृयो ।

नक्षत्रका आधारमा महिनाको निर्धारण हुने भएकाले पनि चन्द्रमाको स्थान विशेष रहेको पाइन्छ । यिनै चन्द्रमाले प्रतिनिधित्व गर्ने दिन सोमबार हो । सोम भन्नु, चन्द्रमा भन्नु, शशाङ्क भन्नु उही चन्द्रमालाई बुझाउनु हो । वेदमा सोमको विशेष चर्चा पाइन्छ ।

कालान्तरमा दक्षप्रजापतिले आफ्ना २७ कन्याको विवाह चन्द्रमाका साथ गरिदिएको कथा पद्मपुराण उल्लेख छ । श्रीमद्भागवतमा ब्रहृमाका मानसपुत्र ब्रहृमाजीका पुत्र अत्रि ऋषिको आँँखाबाट चन्द्रमा पैदा भएका हुन् भनिएको छ :
‘जातस्यासीत्सुतो धातुरत्रिः पितृसमो गुणैः ।
तस्य दृग्भ्योद्रभवत् पुत्रः सोमोद्रमृतमयः किलः ।।’
(श्रीमद्भागवतमहापुराण, ९।१४।२) सोमबार हुनु चन्द्रमाले प्रतिनिधित्व गर्नु हो । ‘चन्द्रमा मनसो जातः ।’ (यजुर्वेद) अर्थात् परमात्माको मनबाट चन्द्रमाको उत्पत्ति भएको कुरा यजुर्वेदमा उल्लेख छ । यसैगरी सहस्र नाममध्ये नक्षत्रसाधक, सोम आदि पनि भगवान् शिवकै नाम हुन् भनी महाभारतमा उल्लेख भएको छ : ‘सहस्राक्षो विशालाक्षः सोमो नक्षत्रसाधकः ।।’ (महाभारत, अनुशासनपर्व, शिवसहस्रनाम, श्लो ३७) ।

सोमबारका मालिक वा स्वामी चन्द्रमा हुन् र चन्द्रमाका स्वामी साक्षात् शिवजी हुनुहुन्छ ‘मत्स्वरूपो यतो वारस्ततः सोम इति स्मृतः ।।’ (श्रावणमाहात्म्य, ६।४) यसैगरी सोम अर्थात् चन्द्रमालाई महादेवले शिरमा नित्य स्थान दिनुभएको छ । शीतलता प्रदान गर्ने सोम शिवस्वरूप नै भएकाले सोमबार शिवजीको विशेष उपासना गरिएको हो ।

हाम्रा महिनको नाम पनि चन्द्रमाले पूर्णरूप जुन दिन दर्शाउँछन् त्यही दिनलाई आधार मानेर निर्धारण गरिन्छ । विशाखा नक्षत्रका दिन पूर्णिमा हुने महिना वैशाख हो । यसैगरी ज्येष्ठाका दिन पूर्णिमा पर्ने महिना ज्येठ एवं क्रमले चन्द्रमाले पूर्ण स्वरूप दर्शाएको नक्षत्रमण्डलको नक्षत्रका आधारमा महिनाको निर्धारण हुने भएकाले पनि चन्द्रमाको स्थान विशेष रहेको पाइन्छ । यिनै चन्द्रमाले प्रतिनिधित्व गर्ने दिन सोमबार हो । सोम भन्नु, चन्द्रमा भन्नु, शशाङ्क भन्नु उही चन्द्रमालाई बुझाउनु हो । प्रकारान्तरले शिव आराधनालाई द्योतन गर्नु पनि हो । यसैले वेदमा सोमको विशेष चर्चा पाइन्छ ।

चन्द्रमा मनकारक ग्रह हुन् । हाम्रो जीवनवृत्तमा मनको स्थान महत्वपूर्ण रहने गर्दछ । मनले नै इन्द्रियलाई चलाउने गर्दछ । चपलवृत्ति मनको धर्म हो । ‘चञ्चलं हि मनः कृष्ण’ अर्थात् चञ्चल वृत्ति मनले नै सिर्जना गर्दछ । अस्थिर रहने मनलाई शान्त तुल्यउन शिवआराधना उत्तम रहन्छ । यही मन वृत्तिका ग्रह चन्द्रमा हुन् । यिनै चन्द्रमाले प्रतिनिधित्व गर्ने बार सोमबार हो । यसैले सोमबारलाई विशेष रूपमा लिइएको छ । कालहोरा साधनमा चन्द्रमाको होरालाई सर्वकार्य सिद्धिका रूपमा लिइन्छ । अर्थात् चन्द्रमाको होराकालमा शास्त्रनिर्दिष्ट बाहेकका जुनसुकै शुभकार्य सम्पादन गर्न सकिन्छ ।

सोमबार शुभ भएर नै विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश आदि कार्यमा लिने गरिन्छ । यात्रामा पनि चन्द्रमालाई सम्मुख वा दायाँ बनाउनुपर्ने शास्त्रीय विधान छ । यसैले सोमबार गरिएका कार्य कल्याणदायी हुने, मनोकामना पूर्ण हुने भएकाले वर्षभरि नै सोमबारको विशेष महिमा रहेको हो । यसैले शास्त्रमा सोमबार वर्षभरि नै व्रत बस्न बताइएको छ । यदि वर्षभरिका सोमबार व्रत रहन नसके पनि श्रावणका सोमबार व्रत रहनु भनिएको हो :
‘द्वादशेष्वपि मासेषु सोमवारः प्रशस्यते ।।
तावत्कर्तुमशक्तश्चेछ«ावणे मासि कारयेत् ।
अस्मिन् मासे व्रतं कृत्वा अब्दव्रतफलं लभेत् ।।’ (स्कन्दपुराण, पूर्ववत्, ६।५) ।
अर्थात् वर्षभरिका सोमवार व्रत धारण गर्न नसके पनि श्रावणको सोमबार व्रत बस्नाले समस्त व्रतको फल मिल्ने गर्दछ । जसले यसरी पार्वतीसहित शिवजीको उपासना गर्दछन् ती व्यक्तिले पुनरावृत्तिरहित अथवा पुनर्जन्मरहित भई अक्षय लोकको प्राप्ति गर्दछन् भनी स्कन्दपुराणमा बताइएको छ :
‘सोमवारे यजन्त्ये ये पार्वत्या सहितं शिवम् ।
ते लभन्त्यक्षयाल्लोकान्पुनरावृत्तिदुर्लभान् ।।’ ।
पुत्र चाहनेले पुत्र, सन्तति चाहनेले सन्तति, धन चाहनेले धन, जे जस्तो कामना राखको छ सोहीअनुसार फल प्रदान गर्ने सोमबारको महिमा रहेको छ :
‘पुत्रार्थी लाभते पुत्रान्धनार्र्थी लभते धनम् ।
यं यं चिन्तयते कामं तं तं प्राप्नोति मानवः ।।’ (स्कन्दपुराण, पूर्ववत्, ६।२०) ।
अर्थात् सोमबार व्रत धारण गर्नाले मनले चाहेअनुसारको फल प्राप्त हुने गर्दछ । यसैगरी यो लोकको लामो समय अभीष्ट (इच्छानुसारको) भोग गरेर मृत्युपश्चात् पनि ससम्मान विमानमा चढी रुद्रलोक जान पाइन्छ भनेर पनि पुराणमा चर्चा पाइन्छ ।

श्रावणका सोमबार :
हरेक कार्य गर्ने विशेष दिन र समय हुने गर्दछन् । शिवउपासनाका निम्ति उत्तम समय र दिन श्रावण महिना र त्यसमा पनि सोमबार हो । ज्योतिषशास्त्र अनुसार श्रवण नक्षत्रका दिन पूर्णिमा पर्ने महिना श्रावण हो ।
‘श्रवणक्र्षं पौर्णमास्यां ततोद्रपि श्रावणः स्मृतः ।
यस्य श्रवणमात्रेण सिद्धिदः श्रावणेद्रप्यतः ।।’ (स्कन्दपुराण, श्रावणमाहात्म्य, ईशसनत्कुमार-संवाद, १।१८) अर्थात् पूर्णिमाका दिन श्रवण नक्षत्र पर्ने भएकाले यो महिनालाई श्रावण भनिएको छ । वर्षा ऋतुको पवित्र महिनाका रूपमा पनि श्रावणलाई लिइएको छ । आकाश एवं धर्ती स्वच्छ रहने भएकाले पनि यो समयलाई पवित्र मानिन्छ ।

नक्षत्रमण्डलका स्वामी चन्द्रमा हुन् । यिनै नक्षत्रका आधारमा हाम्रो नाम निर्धारण हुन्छ । यसैले मानवसँग नक्षत्र हुँदै चन्द्रमा हुँदै शिवआराधनासम्मको सम्बन्ध सोमबारले जुराउने गर्दछ । यसैले हाम्रा धार्मिक कार्यमा चन्द्रमाको विशेष स्थान रहेको छ ।

श्रावण महिनामा सूर्य कर्कट राशिमा रहन्छन् । सूर्य साक्षात् शिवजीका नेत्र अर्थात् आँखा हुनुहुन्छ । यसैगरी कर्कट राशिका स्वामी चन्द्रमा हुन् (लघुजातकम्, राशिप्रभेदाध्यायः श्लो. ८) । यसैगरी चन्द्रमाका स्वामी साक्षात् शिवजी हुनुहुन्छ : ‘चन्द्रः सूर्यः शनिः केतुग्रहो ग्रहपतिर्वरः ।’ (महाभारत, अनुशासनपर्व, शिवसहस्रनामस्तोत्रम्, श्लो. ३८) यसरी साक्षात् शिवजीको महिना श्रावण (कर्कटमा सूर्य रहने) भएकाले पनि यो महिना शिव उपासनाका निम्ति विशेष रहेको हो । सूर्य साक्षात् शिवजीका आँखा हुन् । कर्कट चन्द्रमाको राशि हो । चन्द्रमाका मालिक साक्षात् शिवजी हुनुहुन्छ । यही शिवजीको राशिमा सूर्य एकमहिना रहने भएकाले श्रावण महिना शिवउपासनाका निम्ति विशेष उत्तम रहेको हो ।

सोमबारका दिन परेको प्रदोषलाई सोमप्रदोष भनिन्छ । प्रदोष विशेष दोषयुक्त समय हो । द्वादशी तिथिको आधारातभन्दा पहिले यदि त्रयोदशी तिथि लाग्यो भने, षष्ठी तिथिको राति डेढ (१.५) प्रहर पहिले नै सप्तमी तिथि लाग्यो भने र तृतीयाको १ प्रहर पहिले चतुर्थी प्रारम्भ भयो भने प्रदोष मानिन्छ । मुहूत्र्तचिन्तामणि, ५।५५) । प्रदोषमा शिव उपासनाबाहेकका कार्य निषेध गरिएको छ । यसैले प्रदोषको समयमा वेद तथा वेदाङ्गको अध्ययन अध्यापन पनि गर्नुहुँदैन । सोमबार परेको प्रदोष सोमप्रदोष हो । सोमप्रदोषको व्रत बसी शिवजीको आराधना गर्नाले अभीष्ट सिद्धि हुने कुरा पुराणमा फल वर्णन पाइन्छ ।

नक्षत्रमण्डलका स्वामी चन्द्रमा हुन् । यिनै नक्षत्रका आधारमा हाम्रो नाम निर्धारण हुन्छ । यसैले मानवसँग नक्षत्र हुँदै चन्द्रमा हुँदै शिवआराधनासम्मको सम्बन्ध सोमबारले जुराउने गर्दछ । यसैले हाम्रा धार्मिक कार्यमा चन्द्रमाको विशेष स्थान रहेको छ । सोमबारको व्रतधारणलाई विशेष लिनुको कारण पनि मनजन्य वृत्तिलाई सन्तुलित तुल्याउनु हो । जब मन स्थिर रहन्छ व्यक्तिले जीवनमा सफलताका सोपान चढ्न सक्छन् । बुद्धिको विकास हुन्छ र नयाँ ऊर्जाको सञ्चार हुने गर्दछ । यही कल्याणको उद्देश्यले सोमबारका व्रत कथा निर्मित छन् ।

सोम शिवप्रधान भएकाले सोमबार शिवजीको आराधना गरिएको हो । चन्द्रमाले प्रतिनिधित्व गर्ने दिनलाई सोमबार भनिन्छ । सोम वा चन्द्रमाका मालिक शिवजी हुनुहुन्छ । चन्द्रमा मनकारक ग्रह हुन् । मनजन्य वृत्तिलाई सुखद् तुल्याउन चन्द्रजन्य तत्व अनुकूल रहनुपर्दछ । चन्द्रमाका स्वामी शिवजी रहेकाले सोमबार शिव आराधना उत्तम रहन्छ । यसैले सोमबार व्रत रहनुको विशेष महिमा रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?