कविता : देश दुख्ने प्रश्नहरू

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ अच्युतराज दाहाल

आजकाल देशदेखि डराउँछु म
जहाँ धेरै मान्छे
थोरै मानिस रहन्छन
अनि रहन्छन्
अपमानित अनुभूतिहरू ।

आँखा निकालिसक्नु छैन यत्रतत्र देशभर
मानिसका
आकाङ्क्षाले जन्माएका प्रतिन्द्वद्विता

विफल सपनाहरूका वरिपरि घुमिरहेछन्
मर्यादाहीन लिप्सा
क्रूरता र अहङ्कारका जुलुसहरू

भातको नारा लाउने मानिसहरू
जातको नारा घोक्दै
अरूलाई थिचिरहेछन्
किचिरहेछन्
बधशालाको बाटो अविराम कुदिरहेछ
सभ्यताको लस्कर
अमानवीयताको लास बोकेर
चिहान डाँडातिर

ऊ हेर त,
एउटा नाङ्गो सडक
जहाँ विवेक छिर्न नसकेका
खोक्रा टाउकाहरूले फेरि लुछिरहेछन्
अवलाको अस्मिता,
थिचिरहेछन गरिबको सपना,
भाचिरहेछन युवाको पाखुरा,
खोसिरहेछन नाबालिकाको कौमार्य,
अनि पौढको सतीत्व
आँखाभरि रगतका आँसु
छातीमा आगोको झिल्का बोकेर
समाजलाई गुहार लगाउँदैछन्
आमाहरू, बुबाहरू,
दाइभाइहरू,
दिदी बहिनीहरू,
एउटा जातमा जन्मिनुको पीडा
... ...द्वारबाट प्रसव भइरहेछ
छाती फुलाएर हिँड्छ भक्षक

विश्वभरि चर्चा चल्छ
लेखिन्छ
वीर इतिहासको
मार्मिक कथा
नेपाली हुनुको व्यथा
श्रमलाई
भोगको वस्तु ठान्ने ती गिद्धहरूको
राजत्व छ यहाँ
कुनै मौका नगुमाई
बलिको बोको बनाइन्छ
निरीह नेपाली

गणतन्त्रको नारा बोल्ने सरकारहरू ¤
रामराज्यको सपनामा भुलाएर
रावणराज चलाउने सरकारहरू
नेपाल आमालाई नाङ्गो पारेर
के तिमीहरू पनि त नाङ्गो भइरहेछौ होइन र ?
अब,
क कसलाई प्रश्न गरौँ ?
कुन कुन प्रश्न गरौँ ?
सिद्धान्तको कि पार्टीको ?
जनताको कि गणतन्त्रको ?
राष्ट्रियताको कि सार्वभौम सत्ताको ?
छिमेकीको कि देशको भूगोलको ?
शासनशैलीको कि शासकहरूको ?
भ्रष्टाचारको कि बेथितिको ?
नातावाद-कृपावादको कि गरिबीको ?
संविधान कि सङ्घीयताको ?
युवाहरूको कि रोजगारीको ?
.............
............
सुनको कि
नुनको ??

चन्द्रनिगाहपुर, रौतहट ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?